काठमाडौं। अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ‘धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को छटौँ संशोधन गर्न स्वीकृति दिएको छ।
अर्थले बोर्डलाई धितोपत्र दलाल व्यवसायी ब्रोकर कम्पनीलाई दुई करोड रुपैयाँ पुँजी वृद्धि गर्न ९ महिना समय थप गर्दै नियामावली संशोधन स्वीकृति दिएको हो।
बोर्ड दुई साताअघि ब्रोकर कम्पनीहरुको पुँजी वृद्धिका लागि समय थप, उनीहरुको व्यवसायको दायरालगायतका बिषय समेटेर नियमावली संशोधनको प्रस्ताव अर्थमा पठाएको थियो। जसमा संशोधनका प्रस्तावित विषयमा स्वीकृति दिएर नियमावली संशोधनलाई अर्थले स्वीकृति दिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए।
‘अर्थ मन्त्रालयबाट आज मात्रै नियमावली संशोधनको स्वीकृत भएको पत्र प्राप्त भएको छ। यहाँबाट पठाइएका अधिकांश प्रस्तावहरु अर्थले स्वीकृत गरेको छ,’ बोर्ड प्रवक्ता घिमिरेले क्यापिटल नेपालसँग भने, ‘सेबोनको संचालक समितिको बैठकले अर्थबाट स्वीकृत भएको बुदाँलाई पारित गरेपछि नियमावलीको पाँचौं संशोधन हुन्छ।’
बोर्डले असार महिनाभित्रै लागू हुने गरी नियमावली संशोधन गर्ने उनले जानकारी दिएर। बोर्डले अर्थमा नियमावली संशोधन प्रस्ताव पठाउँदा ब्रोकर कम्पनीलाई २०८२ असार मसान्तसम्म पुँजी पु¥याउनुपर्ने समयलाई २०८२ चैत मसान्तसम्म गर्ने, ब्रोकरहरुको मार्जिन कारोबारको प्रष्टताबारे, ब्रोकर कम्पनीहरुले योग्य संस्थागत लगानीकर्ताको समेत काम गर्न पाउने, अन्य भाषागत परिवर्तनका विषयमा संशोधन प्रस्ताव गरेको थियो। प्रस्तावित बुँदाहरु सबै संशोधनलाई स्वीकृत दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।
‘बोर्डले मुख्य गरी ब्रोकरलाई पुँजी थप गर्न चैतसम्म समय जसरी भए पनि दिनुपर्ने भनेर नियमावली संशोधन प्रस्ताव पठाएको थियो, बाँकी ३÷४ वटा ब्रोकरको कारोबारको दायरालगायतका विषय पनि थियो। सबै प्रस्तावलाई संशोधनमा समेट्ने गरी स्वीकृति दिइएको छ,’ अर्थ मन्त्रालय स्रोतले क्यापिटल नेपाललाई भन्यो।
बोर्डका अनुसार हालसम्म पुराना ५० वटामध्ये २२ वटा ब्रोकर कम्पनीले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन बाँकी भने २८ वटाको तोकिएको पुँजी कायम भइसकेको छ।