काठमाडौं। दुई पांग्रे सवारी साधन उद्योगमा अग्रणी नाम बजाजले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर बजाज चेतक नेपाली बजारमा ल्याएको छ। नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले पहिलो इलेक्ट्रिक स्कुटर बजाज चेतक नेपाली बजारमा ल्याएको हो।
कम्पनीले बजाज चेतक स्कुटर नेपाल ल्याएसँगै केही दिनमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। कम्पनीले लामो समयदेखि नेपालको विभिन्न भूभागमा चेतकको परीक्षण गरिसकेको छ।
बजाजले पछिल्लो पटक भारतीय बजारमा सार्वजनिक गरेको चेतक स्कुटर ३५०१, ३५०२ र ३५०३ तीन भेरियन्टमा उपलब्ध छ। विभिन्न भेरियन्टमा उपलब्ध रहेको चेतकको नेपालमा कुन भेरियन्ट सार्वजनिक हुन्छ भन्ने जानकारी बाहिर आएको छैन।
भारतीय बजारमा राम्रो प्रतिक्रिया पाइरहेको चेतकमा ९५० वाटको अनबोर्ड चार्जर समावेश गरिएको छ। जसले ३ घण्टामा शून्यदेखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ। यसको टप स्पिड ७३ किलोमिटर प्रतिघण्टा रहेको छ।
बजाजले चेतक स्कुटरको नयाँ मोडलमा नयाँ फ्रेमको प्रयोग गरेको छ। नयाँ चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ। कम्पनीले फ्लोरबोर्डमा ब्याट्री प्लेस गरेसँगै बुट स्पेसमा वृद्धि भएको छ। यसको रेन्ज १५३ किलोमिटर पुगेको कम्पनीको दाबी छ।
यसका अलावा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ। जसले ब्याट्री स्थिति, गति र नेभिगेसनसहित आवश्यक जानकारी प्रदान गर्दछ।
चेतकको ब्याट्रीलाई भुइको बोर्ड मुनि राखिएको हुनाले यसमा बुट स्पेस बढेको छ। जसले यसलाई दैनिक सामानहरू बोक्न अझ व्यावहारिक बनाउँछ। अपडेट बजाज चेतकमा ३५ लिटरको बुट स्पेस दिइएको छ।
नेपालमा बजाज चेतकको आधिकारिक मूल्य घोषणा हुन बाँकी भए पनि, स्थानीय बजारको अवस्था र नेपालमा विद्युतीय स्कुटरको मागलाई ध्यानमा राख्दै यो स्कुटर प्रतिस्पर्धी मूल्यमा हुने अपेक्षा गरिएको छ।