काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले (इन्टरनेट प्रोटोकल संस्करण) आईपीभी४ बाट आईपीभी ६ मा माइग्रेसन (रुपान्तरण) हुन सरोकारवालासँग सुझाव मागेको छ।
प्राधिकरणले सूचना जारी गर्दै ‘आईपीभी६ माइग्रेसन विनियम २०८२’ को परामर्शपत्रमाथि सरोकारवाला, विज्ञ, अनुसन्धानकर्ता तथा इच्छुक पक्षलाई ३० दिनभित्र लिखित वा विद्युतीय रूपमा सुझाव दिन आग्रह गरेको हो।
प्राधिकरणले आईपीभी६ माइग्रेसन विनियम २०८२’ को परामर्शपत्रको मस्यौदा यसअघि नै सार्वजनिक गरिसकेको छ।प्राधिकरणले सोही मस्यौदामा आएका सुझावअनुसार नियमावली तथा कार्यविधि निर्माण गर्नेछ।
इन्टरनेट सञ्चालन हुने हरेक उपकरण एकापसमा जोडिन आईपी ठेगाना प्रणाली राखिएको हुन्छ। पछिल्लो समय इन्टरनेट उपकरणको वृद्धि भएसँगै आईपीभी४ बाट निर्माण हुने डिजिटल ठेगाना क्षमता कम भएसँगै यसलाई बढाउन लागिएको हो।
इन्टरनेटमा प्रयोग हुने आईपी ठेगाना प्रणाली आईपीभी४ र आईपीभी६ गरी हाल दुई प्रकारका छन्। आईपीभी४ ले ४.१९ अर्ब डिजिटल ठेगानाको क्षमता राख्छ, जुन पर्याप्त छैन। आईओटी ५जी र भविष्यमा आउने अन्य डिजिटल उपकरणका लागि असंख्य ठेगाना चाहिने हुन सक्छ त्यसका लागि आईपीभी६ आवस्यक पर्छ।
नेपालमा आईपीभी४ मात्रै प्रयोग हुँदै आएको थियो । प्राधिकरणले इन्टरनेट प्रोटोकल संस्करण आईपीभी६ लाई अनिवार्य बनाउन ‘आईपीभी सिक्स माइग्रेसन विनियमावली, २०८२’ को मस्यौदा तयार पारेको थियो।
हाल प्रयोगमा रहेका उपकरणको डिजिटल ठेगानालाई आईपीभी ६ मा स्थानान्त्रण ५जी तथा इन्टरनेट अफ थिंग्स (आईओटी) जस्ता प्रविधिको लागि आवश्यक देखिएपछि यो कदम चालिएको हो। कार्यविधिका लागि सुझाव प्राधिकरणको वेबसाइटमा दिन सकिनेछ।