काठमाडौं। महानगर यातायात प्रालिले १२ वटा विद्युतीय बस संचालनमा ल्याएको छ। महानगर यातायातले चलाउन लागेको बस आज एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल विद्युतीय सवारी साधनको युगमा प्रवेश गरिसकेको बताए। ‘नेपालले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब त्यसलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘जाम व्यवस्थित बनाउन ठूला सवारी साधन संचालन गर्नुपर्छ। जाम कम गर्न साना गाडी विस्थापन गर्ने नीति सरकारको रहेको छ। साना गाडीहरू विस्थापन गर्ने नीति सरकारको छ।'
नेपाल सरकारले जामलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसका काम गरिरहेको बताउँदै उनले यातायातका समस्याका बारेमा यातायात व्यवसायीसँग बसेर छलफल गर्न तयार रहेको बताए। अब सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने उनले बताए।
मन्त्री दाहालले सार्वजनिक यातायात क्षेत्र डिजिटलमैत्री बन्नुपर्ने भन्दै अब सार्वजनिक गाडीमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने बताएका छन्। महानगर यातायातले संचालनमा ल्याएको बस चेरी वन्डाले बनाएको हो। जसलाई नेपाली बजारमा शशिला मोटर्सले भित्र्याएको हो। एक पटकमा ६८ जना यात्रुले यात्रा गर्न सक्ने बस आधुनिक सुविधाले भरिपूर्ण हुनेछ। यसमा ३२ जनाले सिटमा बसेर र ३५ जनाले उभिएर यात्रा गर्न सक्ने छन्। साझा यातायातले अहिले ४० वटा इलेक्ट्रिक बस संचालन गरिरहेको छ।
त्यसपछिकै ठूलो संख्यामा महानगर यातायातले बस चलाउन लागेको हो। चेरीले उत्पादन गरेको बसमा २४० किलोवाट पीक पावर प्रदान गर्ने मोटर दिइएको छ। यसले सिंगल चार्जमा ३९२ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ भने १४४.९२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ। यसमा प्रयोग भएको ब्याट्री विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले बनाएको हो।
महानगर यातायातले यी विद्युतीय बसहरु चार्ज गर्न कलंकीमा चार्जिङ स्टेशन निर्माण गरिरहेको जनाएको छ। बसमा ३८५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको कारण खराब बाटाहरुमा पनि सजिलै चलाउन सकिने छ।