काठमाडौं। चिनियाँ अटो कम्पनी जिलीको विद्युतीय सवारी ब्रान्ड जिकरले पहिले नै दर्ता र बिमा गरिएका गाडीहरूलाई नयाँ भनेर ग्राहकलाई बिक्री गरेको आरोप लागेपछि कम्पनीमाथि चीनमा छानबिन सुरु भएको छ।
चाइना सेक्युरिटिज जर्नलको अनुसन्धानअनुसार, जिकरले चीनका विभिन्न सहरहरूमा यस्ता गाडीहरू ‘प्रत्यक्ष बिक्री नेटवर्क’मार्फत बेचेको दाबी गरिएको छ।
रिपोर्टका अनुसार, २०२५ को मे महिनादेखि जिकरले ‘इन्भेन्टरी गाडी’ भनेर चिनाइएका तर पहिले नै बिमा र दर्ता भइसकेका केही अवस्थामा तेस्रो पक्ष कम्पनी खाताबाट स्थानान्तरण भएका गाडीहरूलाई ‘सीमित समयको छुट’ योजनाको नाममा नयाँ गाडीको रूपमा बिक्री गर्दै आएको देखिएको छ। यस्ता गाडीहरू कम माइलेज भएका ‘शून्य किलोमिटर प्रयोग भइसकेका’ कारको रूपमा बिक्री गरिएका थिए।
गुइयाङ, छोंगछिङ र ग्वाङ्झोउका ग्राहकहरूले आफूले खरिद गरेका गाडीहरूमा पहिले नै चीनको अनिवार्य ट्राफिक बिमा गरिएको वा अन्य कम्पनीको नाममा दर्ता गरिएको थाहा पाएपछि उजुरी दिएका छन्।
केही अवस्थामा त तेस्रो पक्ष कम्पनीजस्तै स्यामेनस्थित अटो फर्म को नाममा बिक्री कागजातहरू देखिएको थियो। यस्ता विवरण ग्राहकलाई बुकिङ र डेलिभरीपछि मात्र थाहा भएको उनीहरूले बताए।
गुइझोउ का एक ग्राहकले २०२५ मोडेल देखाइएको गाडी डेलिभरीमा २०२४ मा निर्माण भएको पाएको बताएका छन्।छोंगछिङका अर्का ग्राहकले विक्रेताले पहिले “निर्यातका लागि राखिएको तर नबिकेको गाडी” भन्दै विवरण दिएको, पछि फ्री इन्स्योरेन्स दिएर लुकाउन खोजेको गुनासो गरेका छन्।
केही घटनामा ग्राहकहरूलाई जिकरकै वेबसाइट जस्तै देखिने नक्कली साइटमार्फत कारोबार गराउँदै रकम तेस्रो पक्ष खातामा ट्रान्सफर गर्न भनिएको उजुरीहरू छन्। ग्वाङ्झोउका एक ग्राहकले सोही नक्कली वेबसाइटमार्फत आफ्नो लेनदेन भएको बताएका छन्।
यस्ता गतिविधिहरू २०२४ को डिसेम्बरमा देखिएको अस्वाभाविक बिक्री आँकडासँग मिल्ने देखिएको छ। चाइना प्यासेन्जर कार एसोसिएसन को डाटाअनुसार सो महिना श्यामेन र शेन्जेनमा जिकरको कम्पनी खाताबाट भएका गाडी बिक्री क्रमशः ९०% र ८६% पुगेका थिए।
विज्ञहरूका अनुसार यी गाडीहरू पछि अन्य सहरमा स्थानान्तरण गरी अप्रत्यक्ष माध्यमबाट बिक्री गरिएको हुन सक्छ। जसले कम्पनीको डेलिभरी संख्या कृत्रिम रूपमा बढाइएको देखाउँछ।
यस्ता बिक्री प्रक्रिया जिकरको क्षेत्रीय साझेदार स्यामेनस्थित जियानफा अटो कम्पनी को संलग्नतामा गरिएको जनाइएको छ। सो कम्पनीले रिटेल र फाइनान्स दुवै सर्भिस संचालन गर्दै आएको छ। यसमार्फत बिमा तथा स्वामित्व स्थानान्तरण गरी गाडीहरू पुनः बिक्री गरिएको देखिन्छ।
कानुनी जानकारहरू भन्छन्, `यदि उपभोक्तालाई गाडी पहिले नै दर्ता भइसकेको हो भन्ने कुरा जानकारी नगराई बिक्री गरिएको हो।उपभोक्ताको पारदर्शी जानकारी पाउने अधिकार र सही मूल्यमा किन्ने हक उल्लंघन हुन्छ।´
जुलाई १९ सम्ममा जिकरले यस्ता गुनासो र आरोपमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यो विवाद जिकरले आफ्ना बिक्री च्यानलमा पुनः संरचना गरिरहेको र जिलीले जिकरलाई निजीकरण गर्ने तयारी गरिरहेको समयमा सार्वजनिक भएको हो।