काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल, माइक्रोसफ्टजस्ता ठूला प्रविधि कम्पनीलाई सन्देश पठाउँदै चीन र भारतजस्ता विदेशी मुलुकमा कर्मचारी भर्ना नगर्न आदेश दिएका छन्।
ट्रम्प आदेशसँगै बाहिरी मुलुक जान अवराेध सिर्जना भए अमेरिकी आइटी कम्पनीकाे बजार विस्तार र आम्दानीसमेत खुम्चिने निश्चित छ।
एआई सम्मेलनमा बोल्दै ट्रम्पले भने, 'अब अमेरिकी कम्पनीहरूले चीनमा कारखाना निर्माण गर्नु र भारतीय प्रविधि कामदारलाई रोजगारी दिनुको सट्टा आफ्नै देशमा रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्छ।'
ट्रम्पले प्रविधि उद्योगको विश्वव्यापी मानसिकताको आलोचना गर्दै यस प्रकारको सोचले धेरै अमेरिकी नागरिक उपेक्षित महसुस गर्न बाध्य भएको बताए। उनको दाबीअनुसार केही ठूला प्रविधि कम्पनीले अमेरिकी स्वतन्त्रताको फाइदा उठाएर विदेशमा ठूलो लगानी गरिरहेको बताए। आफ्नो नेतृत्वमा अब ती दिन समाप्त हुने उनको भनाइ थियो।
'हाम्रा धेरैजसो ठूला प्रविधि कम्पनीहरूले अमेरिकी स्वतन्त्रताको वरदान पाएका छन्। चीनमा कारखाना बनाएका छन्। भारतमा कामदारहरू भर्ना गरेका छन्। आफ्नो नाफा आयरल्याण्डमा जम्मा गरेका छन्। तपाईंहरूलाई थाहा छ। अनि आफ्नै देशका नागरिकको आवाजलाई बेवास्ता गर्दै कतिपय अवस्थामा त सेन्सर गरेका छन्। अब ती दिन सकिन्छन्,' उनले भने।
'एआई दौड जित्नका लागि सिलिकन भ्यालीमा मात्र होइन। त्यसभन्दा बाहिर पनि देशभक्ति र राष्ट्रिय निष्ठाको नयाँ भावना आवश्यक छ,' ट्रम्पले थप भने।
एआई सम्मेलन अवसरमा ट्रम्पले कृत्रिम वुद्धिमत्तासम्बन्धी तीन वटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरे।
अमेरिकी प्रविधि कम्पनीहरू पूर्ण रूपमा अमेरिकाको पक्षमा लागून् भन्ने आफ्नो चाहना रहेको भन्दै उनको भनाइ थियो। उनले भने, 'हामी तपाईंहरूलाई भन्न चाहन्छौँ- अमेरिकालाई प्राथमिकता दिनुहोस्। तपाईंहरूले त्यो गर्नैपर्छ। हामीले मागेको त्यत्ति मात्रै हो।'
उक्त एआई सम्मेलनको अवसरमा ट्रम्पले कृत्रिम वुद्धिमत्तासम्बन्धी तीन वटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरे। तीमध्ये एक आदेशले अमेरिकामा एआई प्रवर्द्धन गर्न राष्ट्रिय रणनीति प्रस्तुत गरेको छ। जसको उद्देश्य एआईको विकासमा अवरोध बन्न सक्ने बाधाहरू हटाउनु हो।
'वासिङ्टन द रेस' शीर्षक दिइएको सो योजनाले डेटा सेन्टरहरूको निर्माण तीव्र पार्ने र एआई पूर्वाधार विकास गर्न कम्पनीलाई सहज बनाउने लक्ष्य लिएको छ।
अर्को मुख्य कार्यकारी आदेश संघीय सहायता प्राप्त गर्ने कम्पनीका लागि छ। जसमा अब उनीहरूले राजनीतिक रूपमा तटस्थ एआई उपकरण विकास गर्नुपर्ने छ। ट्रम्पले 'वोक' एआई मोडेलको समर्थन नगर्ने स्पष्ट पारेका छन्। उनले अघिल्लो प्रशासनमाथि विविधता र समावेशीकरण नीति अघि सारेको त्यसले जसले एआई विकासलाई ढिलो बनाएको उनले दाबी गरे।
यसअन्तर्गत एआईको निर्यातलाई प्रवर्द्धन गर्ने र सम्पूर्ण विकास प्रक्रियालाई अमेरिकाभित्रै सशक्त र सिमित बनाउने योजना छ।
'हामी ‘वोक’लाई हटाउँदै छौँ,' उनले कार्यक्रममा भने, 'एआई मोडेलहरू सटीक हुनुपर्छ। कुनै विचारधाराबाट प्रभावित हुनु हुँदैन।'
नयाँ नियममा सरकारद्वारा प्रयोग गरिने एआई प्रणालीमा पनि लागू हुनेछ। ती प्रणाली कुनै राजनीतिक झुकाव वा पूर्वाग्रहयुक्त हुनु पाइने छैन। त्यसैगरी, ट्रम्पले 'कृत्रिम वुद्धिमत्ता' भन्ने शब्दप्रति असन्तुष्टि व्यक्त गरे। उनले यस प्रविधिको वास्तविक क्षमता र वुद्धिमत्ता झल्काउने नाम हुनुपर्ने बताए। 'यो कृत्रिम होइन, यो प्रतिभा हो,' ट्रम्पले भने।
तेस्रो कार्यकारी आदेशले अमेरिकी मूलका एआई उपकरणलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ध्यान केन्द्रित गरेको छ। यसअन्तर्गत एआईको निर्यातलाई प्रवर्द्धन गर्ने र सम्पूर्ण विकास प्रक्रियालाई अमेरिकाभित्रै सशक्त र सिमित बनाउने योजना छ।
यस्ता नीतिको तत्काल प्रभाव नपर्न सक्छ। भारतीय आइटी व्यवसाय र आउटसोर्सिङ कम्पनीका लागि चुनौती बढ्न सक्ने संकेत यसले देखाएको छ।-एजेन्सीको सहयोगमा