काठमाडौं। अटोमोबाइल क्षेत्रको नयाँ संस्था ‘नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसीएसन’ (नाइमा)को आयोजनामा पहिलो पटक मोबिलिटी एक्स्पो हुँदै छ।
नाइमाको आयोजनामा नाइमा मोबिलिटी एक्स्पो २०२५ राजधानीको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म हुँदै छ। जसमा २१ वटा चार पांग्रे, १८ वटा दुई पांग्रे र ९ वटा कमर्सियल सवारीसाधन ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ।
नेपालको दुई पांग्रे सवारी बजार निकै सम्भावनायुक्त भएकाले धेरै ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर लञ्च गर्ने तयारी गरिरहेका छन्। तीमध्ये केही ब्रान्डले आफ्नो मोडल ल्याइसके भने केहीले ल्याउँदै गरेको जनाएका छन्। नाइमा माोबिलिटी एक्स्पोमा इन्धन सवारीको तुलनामा विद्युतीय दुई पांग्रेको सहभागिता उल्लेखनीय हुने देखिएको छ।
पहिलो पटक आयोजना हुन लागेको यस एक्स्पोप्रति ग्राहक तथा व्यवसायीमा उत्साहित देखिएको छ। यसअघि लोकप्रिय बनेको नाडा अटो शो जस्तै नाइमा मोबिलिटी एक्स्पो पनि अटोमोबाइल कम्पनीका लागि आफ्ना सवारी साधनको प्रदर्शन, बिक्री, वितरण तथा ब्रान्डिङको उपयुक्त प्लेटफर्म बन्ने अपेक्षा व्यवसायीले गरेका छन्। व्यवसायीहरू आकर्षक तथा उत्कृष्ट फिचरयुक्त सवारी साधानमार्फत अधिक ग्राहकलाई आकर्षित गर्ने योजनामा छन्।
नाइमा मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिने विश्वास गरिएको छ। यस अवसरमा ग्राहकले सवारी खरिदसँगै प्रविधिमा आएको नयाँपन पनि प्रत्यक्ष अनुभव गर्न पाउने नाइमाले जनाएको छ।
कुन ब्रान्डका कुन मोडल प्रदर्शनी हुँदै?
टिभीएस आरटीआर ३१०
टिभीएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर ३१० नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले केही दिनअघि मात्र भारतीय बजारमा सार्वजनिक भएको अपडेटेड भर्सन अपाचे आरटीआर ३१० सार्वजनिक गर्ने भएको हो। ३०० सीसी सेग्मेन्टमा अपाचे आरटीआर ३१० नेकेड स्पोर्टस मोटरसाइकल हो।
नेपाली बजारमा बिक्री हुँदै आइरहेको आरआर ३१० को नेकेड भर्सनको रुपमा बजारमा आउने आरटीआर ३१० निकै पावरफुल इन्जिन र प्रिमियम मोटरसाइकलमा पाइने फिचरका साथ आउने छ।

अपाचे रिसिजमा सबैभन्दा पावरफुल आरटीआर ३१० मा भएको ३१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले ३५ बीएच पावर र २७.८ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीड गियरबक्सका साथै स्लीपर क्लच, स्पोर्टस मोड, अर्वान, रेन र ट्रयाक मोडसहित ५ राइड मोड उपलब्ध हुने छन्।
अपडेटेड भर्सन अपाचे आरटीआर ३१० मा लन्च कन्ट्रोल, किलेस इग्निसन, इन्जिन ब्रेकिङ कन्ट्रोल जस्ता एड्भान्स फिचर समावेस छन्। त्यस्तै, प्रिमियम मोटरसाइकलमा हुने किलेस इग्निसन अपाचे आरटीआरमा दिइएको छ। आपचे आरटीआर ३१० मा धेरै सेग्मेन्ट फ्रस्र्ट फिचरको रुपमा क्रुज कन्ट्रोल, कर्नर एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध छन्। यसमा ५ इन्चको टीएफटी स्मार्ट कन्सोल दिएको छ। यसमा स्मार्टफोनका साथै गोप्रोसमेत कनेक्ट गर्न सकिने छ।
ट्रायम्फ स्क्रयाम्बर ४०० एक्ससी
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी आगामी साउनमा हुने नाइमा मोबिलिटी एक्सपोमा ल्याउने तयारी थालेको छ। कम्पनी स्रोतका अनुसार स्पीड ४०० को सस्तो भर्सन स्पीड टी ४ नआउने भएसँगै स्क्रयाम्बलर ४०० एक्ससी ल्याउने तयारी भएको हो।

स्क्रयाम्बलर ४०० एक्ससीमा ३९८ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, बीएस ६ इन्जिन रहने छ। उक्त इन्जिनले ३९.५ बे्रकहर्स पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीडको गियरबक्स छ। पूरा अफरोड प्रेरित डिजाइनमा तयार भएको नयाँ मोडलमा क्रस स्पोक अलोय ह्वील, ट्युबलेस टायर पाइन्छ।
अपसाइड डाउन यूएसडी फ्रन्ट फर्क र रियरमा एड्जस्टेबल अपसेट मोनोसक सस्पेन्सन सेटअप रहने मोटरसाइकलमा बडी कलर विक स्टायलको मडगार्ड, फ्लाई स्क्रीन, हाइ माउन्टेड फ्रन्ट फेन्डर, सानो विन्ड स्क्रिन, सम्प गार्ड, इन्जिन प्रोटेक्सन गार्ड र स्प्लिट सिट रहेको छ।
याडिया भेलक्स
नेपालका लागि याडियाको आयातकर्ता तथा बिक्रेता कुजु नेपाल प्रालिले याडियाको भेलक्स सिरिज नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले भेलक्स सिरिज अन्तर्गत ३ वटा मोडल सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले आगामी नाइमा एक्स्पोमा भेलक्स फास्ट चार्जिङ, भेलक्स यू र भेलक्स एच मोडल प्रदर्शनी तथा सार्वजनिक गर्ने तयारी गरेको छ।
सबैभन्दा आकर्षक मोडल मानिएको भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुनेछ। यसमा ७६ भोल्ट, ३० एएच क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ११० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।

यस्तै, भेलक्स यु मा ४.९ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ। यसमा ७४ भोल्ट, २० एएचको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेन्ज दिनेछ।
तेस्रो मोडल भेलक्स एच मा ३.२ किलोवाट क्षमताको मोटर छ। यसमा ७२ भोल्ट, ३० एएच एलएफपी ब्याट्री जडान गरिएको छ। यो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार तीन वटै मोडलमा एलएफपी ब्याट्री प्रयोग गरिएकोले सुरक्षित, टिकाउ र भरपर्दाे परफर्मेन्स दिने विश्वास गरिएको छ।
बजाज चेतक
बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक आगामी नाइमा एक्स्पोमा सार्वजनिक हुने भएको छ। नेपालका लागि बजाजको आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले बजाजको पहिलो इलेक्ट्रिक स्कुटर नेपाल ल्याइसकेको छ। बजाजले चेतक स्कुटरको नयाँ मोडलमा नयाँ फ्रेमको प्रयोग गरेको छ।

नयाँ चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ। कम्पनीले फ्लोरबोर्डमा ब्याट्री प्लेस गरेसँगै बुट स्पेसमा वृद्धि भएको छ। यसको रेन्ज १५३ किलोमिटर पुगेको कम्पनीको दाबी छ। यसका अलावा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ।
एथर रिज्टा
नाइमा मोबिलिटी एक्स्पोमा एथर रिज्टा सार्वजनिक हुने भएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले एथर रिज्टा प्रदर्शनी गर्ने जनाएको छ। दुई भेरियन्टमा उपलब्ध रिज्तामा २.९ र ३.७ किलोवाट आवरको ब्याट्री दिइएको छ। जसले १२३ किलोमिटर र १६० किलोमिटर रेन्ज दिनेछ।

सुरक्षा पक्षमा पनि एथर रिज्टा मजबुत रहेको कम्पनीको दाबी छ। स्किड कन्ट्रोल, डिस्क ब्रेक, मजबूत चेसिस र ५ वर्षको ब्याट्री वारन्टीजस्ता विशेषताहरू यसमा उपलब्ध छन्।
गोगोरो
नेपालका लागि गोगोरो ब्रान्डको आधिकारिक वितरक नेबुला एनर्जीले आगामी नाइमा मोबिलिटी एस्क्पोमा गोगोरोका ३ नयाँ मोडलरहरु सार्वजनिक गर्ने जनाएको छ। एक्स्पोमा जेगो, क्रोसोभर र प्लस इभी प्रदर्शनी गरिने छ। गोगोरोको जेगोमा ३.५ किलोवाटको मोटर जडान गरिएको छ। जसले १०० एनएम टर्क उत्पादन गर्दछ। जेगोले एक पटक को फुल चार्जमा १६२ किलोमिटरसम्मको रेन्ज दिनेछ।
यसैगरी, गोगोरो क्रसओभरमा २.५ किलोवाटको मोटर दिइएको छ। जसले १२४ एनएम टर्क उत्पादन गर्दछ। यस स्कुटरको रेन्ज १७० किलोमिटर रहेको छ। डुअल र सिगंल ब्याट्रीमा यो स्कुटर उपलब्ध रहेको छ। यसमा १८ लिटर बराबरको अण्डर सिट स्टोरेज रहेको छ।

गोगोरोको पल्स पनि नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शन हुनेछ। जसमा ९ किलोवाटको हब मोटर दिइएको छ। जसले ४२ एनएम टर्क उत्पादन गर्दछ। यसले एक पटकको फुल चार्जमा १३० किलोमिटर रेन्ज दिने छ।
सुजुकी एक्सेस
सुजुकी टु ह्वीलरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले आफ्नो चर्चित मोडल ‘एक्सेस’को अपग्रेडेड भर्सनसहित सोही मोडलको इभी संस्करण पनि नाइमा एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। पेट्रोल र इभी दुवै विकल्प एकैसाथ देखिनु उपभोक्ताका लागि नयाँ अनुभव बन्ने छ।