काठमाडौं। आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी शोमा हेनरी भोल्टसको सी प्रो मोडल सार्वजनिक हुने भएको छ।
नेपालका लागि हेनरी भोल्टस इलेक्ट्रिक गाडी एकमात्र आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले सी प्रो मोडल सार्वजनिक गर्ने भएको हो।
मोडेल एचको सफलतापछि कम्पनीले मोडेल सी प्रो नेपाल भित्र्याउन लागेको जनाएको छ। हेनरी भोल्टसले काठमाडौंमा मात्र ३०० भन्दा बढी गाडी बिक्री गरी विश्वसनीय सहरी ईभी ब्रान्डको रूपमा आफ्नो स्थान बनाइसकेको छ। यसको २०० किलोमिटर रेन्ज, आकर्षक डिजाइन र नेपालकै पहिलो प्रिमियम डोरस्टेप ईभी आफ्टर सेल्स सेवाका लागि मोडेल एचको प्रशंसा भएको थियो, जसले नेपालीहरूको सहरी गतिशीलताको अनुभवलाई परिवर्तन गरेको थियो।
मोडेल एच को आधारमा निर्मित मोडेल सी प्रोले प्रदर्शन सुविधा, र चार्जिङ क्षमतामा ठूलो फड्को मारेको छ। १७.३ किलोवाट आवरबाट २५ किलोवाट आवरको शक्तिशाली लिथियम ब्याट्रीमा अपग्रेड गरिएको छ। सीएलटिपी प्रमाणिकरणअनुसार सी प्रोले एक पटकको चार्जमा ३०० किलोमिटर रेन्ज दिने छ।

यसमा मोटर पावर ३४ किलोवाटबाट बढाएर ३५ किलोवाट पुर्याइएको छ। यसको टर्क १०२ एनएमबाट ११० एनएममा वृद्धि गरिएको छ। जसले नेपालको ढलान र उकालोका लागि राम्रो पिकअप र सहज हिल ड्राइभ सुनिश्चित गर्दछ।
मोडेल एचमा केवल ३.३ किलोवाटको एसी चार्जिङ मात्र उपलब्ध थियो। तर, मोडेल सी प्रो मा ३० किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ। जसले ४० मिनेट भन्दा कममा ८० प्रतिशत चार्ज हुन्छ।
हेनरी भोल्टसको लम्बाइ ९३३८ एमएम, चौडाइ १४९९ एमएम मात्र ४.८५ एमएमको टर्निङ रेडियस जसले काठमाडौंका साँघुरा गल्लीहरू र साँघुरो पार्किङका लागि यसलाई उपयुक्त बनाउँछ। यसमा ९ इन्चको टच स्क्रिन र ७ इन्चको इन्स्ट्रुमेन्ट डिस्प्लेसहित परिष्कृत इन्टेरियरहरू समावेश गरिएको छ।
सुरक्षा र आरामका लागि यसमा सिंगल एयरब्याग, एबीएस, ईबी डी, हिल होल्ड असिस्ट, आईएसओ फिक्स, पछाडि पार्किङ रडार र रिभर्स इमेज क्यामेरा, एलईडी डीआरएलएस र ह्यालोजन हेडल्याम्पहरू, स्मार्ट कुञ्जी, रिमोट लकिङ, डुअल ग्क्द्य पोर्टहरू, टु-टोन इन्टेरियर, स्पोर्ट स्टेरिङ ह्विल, इलेक्ट्रिक पावर विन्डोज, र ब्लुटुथ मिडिया प्रणाली जस्ता सुविधा छन्।
मोडेल सी प्रोले नेपालमा इलेक्ट्रिक गाडीहरूको लागि मूल्य प्रदर्शन अनुपातमा नयाँ मापदण्ड स्थापित गरेको छ। प्रमुख अपग्रेडहरूका बावजुद, एस क्युब इन्टरप्राइजेजले यो मोडललाई २३ लाख रुपैयाँ भन्दा कममा बिक्री गर्ने जनाएको छ।
बिक्रीपछिको सेवा र सुरक्षा
मोडेल सी प्रोको लागि हेनरी भोल्टसको विशेष डोरस्टेप सेवा मोडललाई निरन्तरता दिने जनाएको छ। यस अन्तर्गत ग्राहकहरूले वर्कशपमा जानु पर्दैन। निर्धारित सेवादेखि सानातिना मर्मतसम्भारसम्म, कम्पनीको टोलीले कार लिई, प्रिमियम सुविधामा सर्भिस गरी फिर्ता गर्ने कम्पनीको भनाइ छ।
