वासिङ्टन। महिलाहरूले डेटिङ अनुभव गोप्य रूपमा बाँड्न प्रयोग गर्ने सामाजिक एप टीमा साइबर हमला भएको छ। कम्पनीले दिएको जानकारीअनुसार झण्डै ७२ हजार प्रयोगकर्ताका तस्बिरहरू अनधिकृत रूपमा बाहिरिएका छन्।
कम्पनीद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, 'हाम्रो प्रणालीमा अनधिकृत पहुँच पाइएको छ। त्यसबाट प्रयोगकर्ताका कूल ७२ हजार तस्बिरहरू प्रभावित भएका छन्। तीमध्ये करिब १३ हजार तस्बिरहरू प्रयोगकर्ताले पहिचान प्रमाणीकरणका लागि दिएको फोटो आईडी र सेल्फी हुन्। बाँकी ५९ हजार तस्बिरहरू पोष्ट, निजी सन्देश र कमेन्टमार्फत साझा गरिएका थिए।'
तस्बिरहरू २०२४ फेब्रुअरीभन्दा पहिलाका हुन् र अहिलेको सुधारिएको डाटा सुरक्षाले यस्ता जोखिम कम गरिसकेको छ। टी एपले दुई वर्षअघि नै फोटो आइडी अनिवार्य अपलोड गर्ने प्रक्रिया बन्द गरिसकेको थियो।
टी एप के हो?
सन् २०२३ मा सुरु गरिएको एप महिलाहरूले पुरुषहरूसँगको डेट अनुभव साझा गर्ने सामाजिक प्लेटफर्म हो। यहाँ महिलाहरूले पुरुषको नाम, फोटोसहित येल्प शैलीमा समीक्षा गर्न सक्छन्।
जसमा हरियो झण्डा (सकारात्मक व्यवहार) वा रातो झण्डा (नकारात्मक अनुभव) दिन सकिन्छ। एपमार्फत सम्भावित डेटको आपराधिक पृष्ठभूमि जाँच्न, तस्बिर रिभर्स सर्च गर्न, फोन नम्बरको आधारमा खोजी गर्न सकिन्छ।
टी एप हालै टिकटकमा भाइरल बनेको थियो। कतिपय महिलाले यसको सहयोगबाट यौन हिंसामा संलग्न, घरेलु हिंसाको इतिहास भएका वा अपराध सूचीमा रहेका व्यक्तिहरूको पहिचान गर्न सफल भएको बताएका छन्।
समाचारअनुसार विवादास्पद अनलाइन फोरममा केही प्रयोगकर्ताले टी एपबाट लिक गरिएका तस्बिरहरू पोस्ट गर्ने प्रयास गरेका थिए। हालसम्म त्यो फोरम सक्रिय देखिए पनि तस्बिरको लिंक भने निष्क्रिय भएको पुष्टि भएको छ।
'हामीले अब नयाँ सामग्रीलाई अधिक सुरक्षित प्रणालीमा राखेका छौँ, तर पुरानो ‘लिगेसी कन्टेन्टु पूरै माइग्रेट नहुँदा यस्तो जोखिम भएको हो,' समाचारमा भनिएको छ।
एपको डिजाइनले एक पक्षीय आरोप र मानहानी हुने सम्भावना रहेको भन्दै प्रयोगकर्ताबाट आलोचना भइरहेको छ। कतिपय पुरुषहरूले आफूमाथिको नकारात्मक टिप्पणी हटाउन अनुरोध गरिसकेका छन्।
एपको सेवा सर्तमा ‘शून्य सहनशीलता नीति’ लागू गरिएको उल्लेख छ। तर मिथ्या आरोप वा प्रतिशोधात्मक समीक्षाका कारण गोपनीयता र न्यायप्रणालीमा प्रश्न उठिरहेको छ।
एपको यो साइबर आक्रमणले डिजिटल गोपनीयता र व्यक्तिगत सुरक्षाको महत्वमा गम्भीर प्रश्न उठाएको छ। सुरक्षात्मक प्रणालीका कमजोरी, प्रयोगकर्ता डाटा सुरक्षाको सुनिश्चितता र नकारात्मक समीक्षाको दुरुपयोग रोक्ने नीति अब यस प्लेटफर्मका लागि अत्यन्त आवश्यक विषय बनेका छन्।