काठमाडौं। श्रीलंका कस्टम्सले कर निर्धारणमा प्रयोग हुने मोटर क्षमताको घोषणामा विवाद देखिएपछि चीनमा बनेका करिब १ हजार बीवाइडी इलेक्ट्रिक गाडीलाई बन्दरगाहमा रोकेको छ। यी गाडी यसै महिनामा विभिन्न मितिमा पुगेका ६ वटा कन्साइनमेन्टमार्फत ल्याइएका हुन्।
कस्टम्समा गाडीको मोटर क्षमता १०० किलोवाट भनेर घोषणा गरिएको थियो। तर, यी गाडी सामान्यतया १५० किलोवाट मोटरसहित उत्पादन हुने शंका गरिएको छ। श्रीलंकामा १०० किलोवाट मोटर भएको गाडीमा करिब २४ लाख श्रीलंकन रुपैयाँ कर लाग्ने भए पनि १५० किलोवाट मोटर भएको गाडीमा यो कर झन्डै ५४ लाख रुपैयाँ पुग्ने बताइएको छ।
यदि १५० किलोवाट मोटर भएको गाडीलाई १०० किलोवाट भनेर कर तिरिएको पुष्टि भएमा, प्रत्येक गाडीको मालिकले करिब ४० लाख रुपैयाँ अतिरिक्त तिर्नुपर्ने अवस्था आउन सक्ने कस्टम्स स्रोतले जनाएको छ।
यसअघि नै १ हजारभन्दा बढी गाडी उपभोक्तालाई वितरण भइसकेका छन। बीवाइडीले आफ्नो एटो ३ मोडेल विभिन्न बजारमा १०० किलोवाट र १५० किलोवाट दुवै संस्करणमा उपलब्ध गराएको छ। उदाहरणका लागि, सिंगापुरमा १०० किलोवाट संस्करण बिक्रीमा छ। जसले त्यहाँको क्याटगोरी ए सर्टिफिकेट अफ एन्टाइटलमेन्ट पूरा गर्छ।
विद्युतीय मोटरमा निर्माताले आउटपुट घटाउने वा सीमित गर्ने सुविधा प्रयोग गरेको छ कि छैन भन्नेबारे श्रीलंकन अधिकारीहरू अझै स्पष्ट निष्कर्षमा पुगेका छैनन्। जेकेसीजी अटो जसले श्रीलंकामा बीवाइडी गाडीहरू आयात गर्छ त्यकाका प्रवक्ताले भने, ‘यो मोडेल श्रीलंका मात्र नभई सिंगापुर र नेपालजस्ता बजारमा पनि उपलब्ध छ। कन्फिगरेसन निर्माता कम्पनीद्वारा गरिन्छ।’
यसअघि संसदको सार्वजनिक वित्त समितिको बैठकमा पनि एउटै मोडेलका गाडीहरूमा मोटर क्षमताको आधारमा फरक कर लगाइएकोबारे प्रश्न उठेको थियो।