काठमाडौं। नेपाल राष्ट्र बैंकका तत्कालीन कामु निर्देशक भुवन बस्नेत कर्णाली डेभलपमेन्ट बैंक निरीक्षणका क्रममा लापर्वाही गरी आर्थिक अनियमिततामा संलग्न पाइएको छ।
राष्ट्र बैंकको निरीक्षण टोलीको सुपरभाइजरका रूपमा २०७५ वैशाखमा कर्णालीको स्थलगत अनुगमन निरीक्षण गर्दा बस्नेतले बैंकभित्र भएको गैरकानुनी हकप्रद सेयर कारोबार, नगद अपचलन र अन्य अनियमिततालाई ढाकछोप गर्न आइफोन र १० लाख रुपैयाँ घुस लिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रतिवेदनमा उल्लेख छ।
सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा बुझाएको प्रतिवेदनअनुसार बस्नेतले कर्णाली डेभलपमेन्ट बैंकको निरीक्षणमा लापर्वाही गरेको, बैंकको नगद अपचलन तथा गैरकानुनी हकप्रद सेयर कारोबार ढाकछोप गरेको र आर्थिक अनियमितताबाट व्यक्तिगत लाभ लिएको आरोप लागेको छ।
उनले बैंकका अनियमित कारोबारलाई प्रतिवेदनमा उल्लेख नगरी मौन बसेको र त्यसबापत अवैध रूपमा नगद तथा आईफोन ७ उपहार लिएको दाबी गरिएको छ। यी कार्य बैंकिङ कसुर ऐन, २०६४ को उल्लंघन भएको भन्दै कारबाही माग गरिएको छ।
पुँजी वृद्धिको नाममा अनियमितता
कर्णाली डेभलपमेन्ट बैंकले २०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन पालना गर्न नसकेपछि १ः२.२५ को अनुपातमा हकप्रद सेयर बिक्री प्रस्ताव गरेको थियो।
बैंक सञ्चालक समितिले २०७४ असार ३ मा गरेको निर्णयअनुसार सम्पूर्ण सेयरधनीले आफ्नो हिस्सामा पर्न आउने रकम ‘कल इन एडभान्स’ खातामा जम्मा गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो।
तर, कसैको पनि रकम जम्मा नभएपछि संस्थापक सेयरधनी, सर्वसाधारण सेयरधनी र अन्य इच्छुक व्यक्तिबाट (पछि हिसाब मिलान गर्ने गरी) कल इन एडभान्स खातामा रकम जम्मा गर्न आह्वान गरियो।
यसरी संस्थाको नगद सम्पत्ति अपचलन गरी गैरकानुनी रूपमा हकप्रद सेयरबापत रकम जम्मा गरिएको देखिन्छ। निरीक्षण टोलीका सुपरभाइजर भुवन बस्नेतले यो निर्णयमा कुनै कैफियत उल्लेख नगरी मौन बसेको आरोप छ।
कल इन एडभान्स खातामा शंकास्पद कारोबार
निरीक्षणका क्रममा प्राप्त विवरणअनुसार कल इन एडभान्स खातामा ठूलो रकम नगदै जम्मा भएको १० लाख रुपैयाँभन्दा बढीको कारोबारको स्रोत पुष्टि नगरिएको, जम्मा गर्ने व्यक्तिको नाम उल्लेख नगरिएको, दस्तखत किर्ते गरिएको र कारोबार समयपश्चात् ढिलो गरी अनियमित समयमा नगद जम्मा भएकोजस्ता कैफियत देखिएका छन्।
विशेषगरी २०७४ असार २६ देखि २९ सम्म मानबहादुर चौधरी नामका कर्मचारीले कार्यालय समयपछि अज्ञात संस्थापक सेयरधनीका नाममा ४ करोड रुपैयाँ बराबरको नगद जम्मा गरेको पाइएको छ। यसरी अवैध रूपमा हकप्रद सेयर प्राप्त गरी अपचलन भएको भनी निरीक्षण प्रतिवेदनमा उल्लेख नगरिनुले बस्नेतको संलग्नता पुष्टि हुने दाबी गरिएको छ।
अनिवार्य मौज्दात अनुपात कायम गर्न नसकेको विषयमा मौनता
कर्णाली डेभलपमेन्ट बैंकले अनिवार्य मौज्दात अनुपात (सिसिआर) कायम गर्न नसकेका कारण राष्ट्र बैंकले २०७४ वैशाख १३ मा १७ हजार ८ सय ६९.५२ रुपैयाँ जरिवाना लगाएको थियो।
यसका बाबजुद बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र राष्ट्र बैंकबाट जारी निर्देशनको पालना गर्न संस्थागत सुशासनमा सञ्चालक समिति र व्यवस्थापन तह सजग नरहेको अवस्थामा पनि बस्नेतले बैंकको नगद मौज्दात (क्यास इन बैंक, क्यास इन भल्ट एन्ड क्यास बुक) लगायतका विवरणको अध्ययन गरी प्रतिवेदन तयार गर्ने कार्यमा मौन रही अपचलनलाई ढाकछोप गरेको आरोप छ।
जोखिम व्यवस्थापन समितिको निष्क्रियता
बैंकमा जोखिम व्यवस्थापन समिति गठन भए पनि राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार त्रैमासिक रूपमा कम्तीमा एक पटक बैठक बस्नुपर्नेमा २०७२ जेठ १ देखि हालसम्म बैठक नबसेको र समितिको पुनर्गठन पनि नभएको पाइएको छ।
सञ्चालक समितिले संस्थाको रकम हिनामिना गरी हकप्रद सेयर लिने कार्य गरेको देखिँदा पनि बस्नेतले यस विषयमा कुनै स्पष्टता उल्लेख नगरेको आरोप छ।
बस्नेतको खातामा शंकास्पद रकम

निरीक्षण टोलीका सुपरभाइजर बस्नेतको माछापुच्छ्रे बैंकको खातामा २०७५ माघ २० गतेदेखि २०७६ माघ २५ सम्म विभिन्न मितिमा कुल १० लाख ८४ हजार २ सय ५० रुपैयाँ जम्मा भएको देखिन्छ।
यसमध्ये कर्णाली डेभलपमेन्ट बैंकबाट ८५ हजार रुपैयाँ जम्मा भएको देखिन्छ, जुन तालिम शुल्कको रूपमा नियमअनुसार एकाउन्ट पेयी चेकबाट भुक्तानी गर्नुपर्नेमा सीधै खातामा जम्मा गरिएको थियो। बाँकी ९ लाख ९९ हजार २ सय ५० रुपैयाँको स्रोत खुल्न सकेको छैन र बैंकबाट नियमानुसार खर्च लेखी भुक्तानी दिएको नदेखिएको बताइएको छ।
झुटो गाडी बिक्रीे दाबी र आइफोन उपहार
बस्नेतले अधिकारप्राप्त अधिकारीलाई दिएको बयानमा माछापुच्छ्रे बैंकको खातामा जम्मा भएको रकममध्ये ७ लाख ४९ हजार २ सय ५० रुपैयाँ गाडी बिक्रीबापत प्राप्त भएको दाबी गरेका थिए। तर, कर्णाली डेभलपमेन्ट बैंकको अभिलेखमा सो गाडी (बा४च ७८२६) बैंकको सम्पत्तिको रूपमा दर्ता नभएको पुष्टि भएको छ। यसले बस्नेतको बयानमाथि प्रश्नचिह्न खडा गरेको छ।
यसैगरी बस्नेतले प्रतिवादी राजेन्द्रवीर रायबाट आइफोन ७ उपहार लिएको बयान दिएका थिए, जुन मोबाइल उनकी श्रीमती कविता केसी बस्नेतले केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएकी थिइन्। राजेन्द्रले पनि बस्नेतलाई उक्त आइफोन ७ दिएको सनाखत गरेका छन्। यसबाट अनियमित आर्थिक कारोबार भएको थप पुष्टि हुन्छ।
सह–प्रतिवादीको बयान

प्रस्तुत मुद्दाका सह–प्रतिवादी वेदप्रकाश सिंह ठकुरीले कर्णाली डेभलपमेन्ट बैंकमा भएको अनियमित आर्थिक कारोबार लुकाउन बस्नेतको माछापुच्छ्रे बैंक खातामा रकम जम्मा गर्न लगाएको र उनलाई मोबाइल फोनसमेत खरिद गरिदिएको बयान दिएका छन्। उनले बस्नेतलाई कर्णाली डेभलपमेन्ट बैंकमा आउने क्रममा देखेको चिनेको भनी सनाखतसमेत गरिदिएका छन्।
माग गरिएको कारबाही
यी सबै तथ्यका आधारमा प्रतिवादी भुवन बस्नेतले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १४ बमोजिमको कसुर गरेको भन्दै सीआईबीले सोही ऐनको दफा १५ को उपदफा (२) (ख) बमोजिम सजाय हुन र उल्लिखित बिगो कर्णाली डेभलपमेन्ट बैंकलाई भराएर प्रतिवादी बस्नेतलाई बिगो बमोजिमको जरिवाना हुन आग्रह गरेको छ।