काठमाडौं। पछिल्लो समय नयाँ-नयाँ ब्रान्ड प्रवेशले कमर्सियल ईभी गाडी आयातमा उल्लेख्य वृद्धि भएको छ। नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को बढ्दो प्रयोगसँगै अब व्यावसायिक क्षेत्रमा पनि ईभी ब्रान्डबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। यसले एकातिर व्यवसायीलाई नयाँ अवसर दिएको छ भने अर्कोतिर केही चुनौती पनि थपेको छ।
व्यक्तिगतबाट व्यावसायिक ईभीमा बढ्दो आकर्षण
हालसम्म नेपालको ईभी बजारमा व्यक्तिगत प्रयोजनका सवारीसाधनको वर्चस्व रहे पनि अहिले विद्यालय, संघ-संस्था र अनलाइन डेलिभरी सेवा कम्पनीले समेत विद्युतीय सवारीलाई प्राथमिकता दिन थालेका छन्। यसले व्यावसायिक ईभीमा चहलपहल बढाएको छ।
दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीका अनुसार कमर्सियल ईभी ब्रान्डको संख्या बढ्नु आफैंमा सकारात्मक पक्ष हो, किनभने यसले ग्राहकलाई धेरै विकल्प दिन्छ। यद्यपि, उनले ब्रान्डको विश्वसनीयता र बिक्रीपछिको सेवाको प्रभावकारितामा ध्यान दिनुपर्नेमा जोड दिए। ‘ब्रान्ड धेरै आउँदा समस्या हुँदैन तर सही ब्रान्ड आएको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ’, रायमाझीले भने।
उनका अनुसार यात्रुवाहक ईभीको तुलनामा व्यावसायिक ईभीको आयात कम भए पनि यसको वृद्धि देशको आर्थिक गतिविधिमा प्रत्यक्ष भूमिका खेल्ने भएकाले यो सकारात्मक संकेत हो।
प्रतिस्पर्धाले ल्याएको अवसर
नयाँ ब्रान्ड आगमनले व्यवसायीका लागि छनोटको अवसर बढाएको छ। पहिले सीमित विकल्प हुँदा व्यवसायीले आफ्नो आवश्यकताअनुसारको गाडी पाउन कठिन हुन्थ्यो। अब भने विभिन्न क्षमता, मूल्य र विशेषताका गाडी उपलब्ध हुँदा व्यवसायीले व्यवसायको प्रकृति र बजेटअनुसारको ईभी छान्न सक्छन्।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार ईभीको संख्या बढ्नु राम्रो कुरा हो। विशेषगरी व्यावसायिक प्रयोजनका लागि आएका गाडी उपयुक्त रहेको उनको बुझाइ छ। ‘हाल अटो बजारमा भएको उच्च प्रतिस्पर्धाले ग्राहकलाई नै बढी फाइदा हुन्छ’, थापाले भने।
नेपालमा लोकप्रियता बढ्दै जाँदा कमर्सियल ईभीको भविष्य उज्ज्वल देखिएको छ। यद्यपि बिक्रीपछिको सेवा र प्रामाणिक जानकारी उपलब्धतामा ध्यान दिन आवश्यक छ।
प्रतिस्पर्धा बढ्दा स्वाभाविक रूपमा मूल्यमा कमी आउने सम्भावना हुन्छ। ब्रान्डले बजार हिस्सा बढाउनकै लागि आकर्षक योजना र छुट ल्याउन सक्छन्, जसको सीधा फाइदा उपभोक्तालाई हुन्छ।
यसका साथै तीव्र प्रतिस्पर्धाले सेवा–सुविधाको गुणस्तरमा पनि सुधार ल्याउँछ। ब्रान्डले बिक्रीपछिको सेवा, स्पेयर पार्टसको उपलब्धता र चार्जिङ पूर्वाधार विस्तारमा बढी ध्यान दिन थाल्छन्। यसले ईभी प्रयोगकर्ता व्यवसायीले भरपर्दो सेवा पाउन सक्छन्।
बढ्दो आयात र नयाँ ब्रान्डको प्रवेश
नेपाली बजारमा हाल करिब ३ दर्जन बढी कमर्सियल ईभी ब्रान्ड उपलब्ध छन्। आगामी नाइमा मोबिलिटी एक्स्पो ९साउन २१(२५० र नाडा अटो शोमा गरी आधा दर्जन नयाँ ब्रान्डका कमर्सियल गाडी सार्वजनिक हुने तयारीमा छन्। हाउजी, मोन्ट्रा, काइन्यु, केवाई, नाभी, क्यारीलगायतका नयाँ ब्रान्डका भ्यान बजारमा भित्रिने क्रममा छन्।

हाल नेपालमा केवाईसी, किङलङ, जोङलोङ, एसआरएम, डीएफएसी, कामा, हाउजी, हाइगर, कीटोन, जिली फारिजोन, चेरी एन्ड वान्डा, गोल्डेन ड्रागन, सुमेक, फोटोन, सोकोन, डीएफएसके, स्वीच, गोनाउ, टाटा, सनलङ, जिङसु टुनिउ, भिक्टोरी, वुलिङ, जिङसु, नान्निङ, आरजेडएम, जोहोङटोङ, कावेई, हेल्मार्व, आरजेडएम, स्काईवर्थ, सीएचटीसीलगायत ब्रान्डका कमर्सियल ईभी गाडी उपलब्ध छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ३ हजार १३२ युनिट कमर्सियल विद्युतीय सवारीसाधन आयात भएको छ, जसको कुल मूल्य ९ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबर छ। यसबाट सरकारले २ अर्ब १० करोड ७८ लाख राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा १ हजार ३३० युनिट ९३ अर्ब ९५ करोड बराबरको० आयात भएको थियो, जसबाट ९६ करोड ३४ लाख रुपैयाँ राजस्व उठेको थियो।
आयात भएका ईभीमध्ये गत आर्थिक वर्ष ११ देखि १४ सिटसम्मका १ हजार ८३० युनिट, १५ देखि २५ सिटसम्मका १ हजार २६० युनिट र १६ युनिट बसहरू थिए। अधिकांश ईभी चीनबाट आयात भएका छन् भने १ युनिट विद्युतीय बस भारतबाट भित्रिएको तथ्यांकमा देखिन्छ।
चुनौती र भविष्य
कमर्सियल ईभीको बजारमा तीव्र प्रतिस्पर्धा भए पनि सुन्दर यातायातका अध्यक्ष थापा बिक्रेताले झुटाे रेन्ज (गाडीको माइलेज) दिएर बेच्ने प्रवृत्ति गलत भएको बताउँछन्। यो उपभोक्ताका लागि चुनौती हो।
यद्यपि, व्यवसायीका अनुसार व्यावसायिक प्रयोजनका लागि ईभी प्रयोग गर्दा सञ्चालन खर्च कम लाग्ने, प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने र दीर्घकालीन रूपमा टिकाउ हुने भएकाले यसको माग लगातार बढ्दै गएको छ। चीन र भारतलगायत मुलुकका नाम चलेका कम्पनी नेपालमा आयात भइरहेका छन्, जसले बजारमा नयाँ आयाम थपेको छ।
नेपालमा लोकप्रियता बढ्दै जाँदा कमर्सियल ईभीको भविष्य उज्ज्वल देखिएको छ। यद्यपि बिक्रीपछिको सेवा र प्रामाणिक जानकारीको उपलब्धतामा ध्यान दिन आवश्यक छ।