काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु निर्यात गर्नका लागि नेपालमा ल्याब परीक्षण हुने भएको छ। लामो समयको प्रयासपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेसँगै निर्यात गरिने वस्तुको परीक्षण स्वलेहमै हुने भएको हो।
विभागले ‘नेशनल एक्रिडीटीएसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबोटोरिज’ (एनएबीएल)द्वारा आइएसओ/आइइसी १७०२५ः२०१७ बाट प्रत्यायन प्राप्त गरेको विभागका महानिर्देशक संजिव कुमार कर्णले बताए। विभागअन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरी देशको निर्यात व्यापारमा महत्वपूर्ण कोशेढुङ्गा हासिल गरेको उनको तर्क छ।
यो उपलब्धिले खाद्य तथा कृषिजन्य वस्तुहरूको नमूना विश्लेषण कार्यको विश्वसनीयता बढाउनुका साथै निर्यातमा सहजीकरण तथा प्रवद्र्धनमा टेवा पुग्ने कर्णको अपेक्षा छ। वरिष्ठ अधिकृत कृष्ण प्रसाद राईका अनुसार ल्याबमा ८१४ वटा परीक्षण प्यारामिटर छुट्याएको छ। यसले नेपालकै सबैभन्दा बढी एक्रिडिटेसन क्षेत्र भएको सरकारी खाद्य प्रयोगशालाको रूपमा स्थापित भएको उनले बताएका छन्।
सन् २०१२ मा २७ वटा केमिकल प्यारामिटरबाट प्रत्यायन कार्य सुरु गरेको थियो। सन् २०१५ मा ४४ वटा केमिकल र १७ वटा माइक्रोबायोलोजिकल गरी ६१ वटा प्यारामिटरमा प्रत्यायन प्राप्त गरेको थियो। सन् २०१९ मा ७८ वटा केमिकल र २४ वटा माइक्रोबायोलोजिकल गरी १०२ वटा परीक्षण प्यारामिटरका लागि (एनएबीएल) बाट प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको थियो। सन् २०२३ मा २५४ वटा केमिकल र ४१ वटा माइक्रोबायोलोजिकल गरी २९५ वटा परीक्षण प्यारामिटरका लागि एनएबीएलबाट प्रत्यायन प्राप्त गरेको थियो।
सन् २०२४ सम्म प्रत्यायन क्षेत्रमा कुल २९५ वटा विश्लेषण प्यारामिटर मात्र रहेकोमा यस वर्ष सन् २०२५ (वि.सं. २०८२) मा विभागले व्यापक विस्तार गरी ६७२ वटा केमिकल प्यारामिटर र १४२ वटा माइक्रोबायोलोजिकल प्यारामिटर गरी कुल ८१४ वटा परीक्षण प्यारामिटरका लागि एनएबीएलद्वारा प्रत्यायन क्षेत्र विस्तार गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न सफल भएको तर्क राखे।
विभागको २२ वटा खाद्य तथा दाना पदार्थका प्रयोगशालामा परीक्षण गरिने सबै प्रकारका केमिकल तथा माइक्रोबायोलोजिकल परीक्षण प्यारामिटरका लागि एनएबीएलद्वारा प्रत्यायन प्रमाणपत्र प्राप्त भएको छ।
फुड एडिटिभ तथा कन्ट्यामिनेन्ट्स परीक्षणतर्फ १२३ वटा जीवनाशक विषादी अवशेषका प्यारामिटर, ११ वटा खाद्य रङका प्यारामिटर, ३ वटा कृत्रिम गुलियो पदार्थका प्यारामिटर, ६ वटा खाद्य परिरक्षकका प्यारामिटर, ४ प्रकारका भिटामिनका प्यारामिटर, १९ वटा मेटल्सका प्यारामिटर, ८ वटा अफ्लाटोक्सिनका प्यारामिटरजस्ता विभिन्न प्यारामिटरमा प्रत्यायन भएको राईले बताए।