काठमाडौं। नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजना हुने अटो शोमा यस वर्ष दुईपांग्रे सवारीसाधनका ब्रान्डको सहभागिता कम हुने देखिएकाे छ।
केहीले यसलाई दुईपांग्रे ब्रान्डले नाडाको अटो शो वहिष्कार गरेको अनुमान पनि गरिरहेका छन्। नाडाले हरेक वर्ष आयोजना गर्दै आएको नाडा अटो शोमा यसपटक दुईपांग्रे सवारी ब्रान्डको सहभागिता न्यून हुने देखिएको हाे।
हरेक वर्ष दर्शकका लागि मुख्य आकर्षण बन्ने दुईपांग्रे सवारीका यस पटकको नाडा अटो शोमा सीमित ब्रान्ड मात्र सहभागी हुनेछन्। नाडाभन्दा अघि हुने नाइमा मोबिलिटी एक्स्पोमा अधिकांश ब्रान्ड सहभागी हुने भएकाले पनि यसपटक नाडाको शोमा दुईपांग्रे ब्रान्डको सहभागिता कम हुने भएको हो।
खासगरी नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा)को स्थापनापछि अधिकांश सवारीसाधन आयातकर्ता व्यवसायी सोही संस्थामा आबद्ध छन्। नाडामा पनि सदस्य रहे पनि नाइमाले नाडाको अटो शोभन्दा पहिले मोबिलिटी एक्स्पो आयोजना गरेकाले यसको प्रत्यक्ष फाइदा नाइमालाई भएको व्यवसायी बताउँछन्।
नाइमा मोबिलिटी एक्स्पोमा अधिकांश दुई पांग्रे सवारीसाधन ब्रान्डले सहभागी हुने भएकाले पनि आगामी भदौ ३ गतेदेखि आयोजना हुने नाडा अटो शोे २०२५ मा सहभागी हुन अधिकांश दुई पांग्रे ब्रान्डहरूले अनिच्छा प्रकट गरेका हुन्। यसले गर्दा नाडा अटो शोको लोकप्रियतामा धक्का पुग्ने देखिएको छ।
दुई संस्था भएपछि दुई अटो शो हुनु स्वभाविक हो। पहिले जसले अटो शो आयोजना ग¥यो त्यही शोमा बढी आकर्षण हुने नाडाका पूर्वअध्यक्ष ध्रुव थापा बताउँछन्।
थापाका अनुसार नाडाको नेतृत्वको कमजोरीले गर्दा दुइटा संस्था बनेकाले दुई अटो शो आयोजना हुँदै छन्। दुवै अटोशोमा एउटै प्रकृतिका संस्था, उस्तै व्यवसायी भएकाले अटो शो पनि उस्तै उस्तै हुन्छन्।
‘दुई पांग्रे ब्रान्डहरुले नाडा अटो शो बहिस्कार गरेको त होइन खासगरी भन्नुपर्दा नाइमा स्थापना भएपछि अधिकांश चार पांग्रे दुई पांग्रे ब्रान्डका व्यवसायीहरु नाइमामा छन्,’ पूर्वअध्यक्ष थापाले भने, ‘हुन त सदस्य त नाडामा पनि छन्, तर नाइमा मोबिलिटी एक्स्पो पहिले हुने भएकाले त्यसको फाइदा नाइमालाई भएको हो।’
अहिलेको परिप्रेक्ष यति सानो बजारमा दुइ वटा अटो शोको अपेक्षा नभएको थापाको भनाइ छ। दुई वटा छुट्टाछुट्टै अटो शोले अस्वस्थ प्रतिस्पर्धा बढ्ने र व्यवसायीहरूलाई समस्या हुने पूर्वअध्यक्ष थापा बताउँछन्।
थापाका अनुसार नाडाको नेतृत्वको कमजोरीले गर्दा दुइटा संस्था बनेकाले दुई अटो शो आयोजना हुँदै छन्। दुवै अटोशोमा एउटै प्रकृतिका संस्था, उस्तै व्यवसायी भएकाले अटो शो पनि उस्तै उस्तै हुन्छन्।
खासगरी एक साताको अन्तरालमा नै दुई अटो शो आयोजना हुने भएकाले नाडा अटो शो छायामा पर्न गएको हो। नाइमा मोेबलिटी एक्स्पोमा सहभागिता जनाउने अधिकांश दुई पांग्रे ब्रान्डले नाडा अटो शोमा सहभागिता जनाएका छैनन्।
यो अगस्ट, सेप्टेम्बर र अक्टोबर तीन महिनाको समय भनेको झन्डै ४० प्रतिशत सवारी साधनहरु बिक्री हुने समय पनि हो। किनभने यो तिन महिनामा जुन ४० प्रतिशत गाडी बिक्री हुन्छ। दशैं तिहार चाडपर्वलाई मध्यनजर गरेर अटो शो गर्ने गरिन्छ।
नाइमाको मोबिलिटी एक्स्पोमा सहभागी भइसकेका कारण धेरैजसो दुई पांग्रे ब्रान्डहरूले नाडाको अटो शोमा सहभागी हुन रुचि नदेखाएको नाडाका एक प्रतिनिधि बताउँछन्। ‘नाइमाको मोबिलिटी एक्स्पोमा सहभागी भइसकेका कारण धेरैजसो दुई पांग्रे ब्रान्डहरूले नाडाको अटो शोमा सहभागी हुन रुचि नदेखाएको बुझिएको छ,’ ती प्रतिनिधिले भने, ‘यसले दुई अटोमोबाइल सम्बन्धी संस्थाहरूबीचको प्रतिस्पर्धा र यसको प्रभाव बजारमा देखिएको छ।’
पाँच दशक लामो इतिहास बोकेको नाडाभित्र देखिएको विवाद र केही व्यवसायीको असन्तुष्टिले गर्दा विभाजित भएर नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर एशोसिएसन (नाइमा) स्थापना भएको हो।
अहिले कम्पनीहरुमा प्रतिस्पर्धा पनि अत्यधिक भएको छ। थुप्रै ब्रान्डहरु पनि आएका छन्। विगत दुई चार वर्षअगाडि यो दुई वटा अटो शोको सम्भावना थिएन। तर अहिले कम्पनी पनि धेरै भएका र आयातकर्ताहरु पनि धेरै भएकाले दुई अटो शोको सम्भावना पनि देखिएको व्यवसायीहरुको भनाइ छ।
नाइमाको उदयले प्रमुख ब्रान्ड नाडा अटो शोमा अनुपस्थित
पाँच दशक लामो इतिहास बोकेको नाडाभित्र देखिएको विवाद र केही व्यवसायीको असन्तुष्टिले गर्दा विभाजित भएर नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर एशोसिएसन (नाइमा) स्थापना भएको हो। नाइमा स्थापना भएसँगै नेपाली अटोमोबाइल बजारमा ठूला व्यावसायिक घराना बाँडिएका छन्।
नेपालमा पहिलो पटक दुई अटो शो आयोजना हुँदै छन्। यही साउन २१ गतेदेखि ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ र भदौ ३ गतेदेखि ‘नाडा अटो शो २०२५’ आयोजना हुँदै छ। यी दुई अटो शोमा ठूला व्यावसायिक घरानाहरु बाँडिएका छन्।
नेपालको सबैभन्दा ठूलो सवारी साधन प्रदर्शनी नाडा अटो शो २०२५ मा दुई पांग्रे सवारी साधन ब्रान्डले खासै चासो देखाएका छैनन्। विगतका वर्षमा दुई पांग्रे सवारी साधन कम्पनीहरूले यसमा ठूलो उत्साहका साथ भाग लिने गरेका थिए। तर, यस वर्षको नाडा अटो शोमा भने दुई पांग्रे ब्रान्डको प्रदर्शनी शुन्य जस्तै देखिने भएको छ। यस वर्षको नाडा अटो शोमा १८ वटा चार पांग्रे ब्रान्ड १३ वटा लाइट कमर्सियल ब्रान्डको सहभागिता हुँदा दुई पांग्रे भने ४ वटा ब्रान्ड मात्र सहभागी हुने नाडाले जनाएको छ।
विगतका वर्षहरुमा आयोजना भएका नाडा अटो शोमा निकै बाक्लो उपस्थिति देखिने दुई पांग्रे सवारी ब्रान्डहरु यस वर्ष भने सिमित ब्रान्ड मात्र देखिने छन्। यस वर्षको ‘नाडा अटो शो २०२५’ मा यामाहा, हिरो, रोयल इन्फिल्ड र जोनसन ब्रान्ड सहभागी हुने छन्।
यस पटक ती ब्रान्डहरूको अनुपस्थितिले नाडा अटो शोको आकर्षणमा कमी आउने सम्भावना देखिएको छ।
गत वर्षको नाडा अटो शो २०२४ मा २४ वटा चार पांग्रे ब्रान्ड, १९ वटा दुई पांग्रे र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरूका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री लगायतका सामग्रीसहित कुल १३० स्टल रहेका थिए। तर, यस वर्ष अर्थात् ‘नाडा अटो शो २०२५’ मा सो संख्या खुम्चिएर ७५ वटा स्टलमा मात्रै सीमित भएको छ।
नाडालाई कस्तो धक्का पुग्ला?
दुई पांग्रे सवारी विशेष गरी मोटरसाइकल र स्कुटर सधैँ नाडा अटो शोको दर्शकहरूको मुख्य आकर्षण रहँदै आएको छ। युवा वर्ग, विद्यार्थी र मध्यम वर्गका ग्राहकहरूका लागि दुई पांग्रे सवारी ब्रान्डहरू सर्वाधिक चासोका विषय हुन्थे। यस पटक ती ब्रान्डहरूको अनुपस्थितिले नाडा अटो शोको आकर्षणमा कमी आउने सम्भावना देखिएको छ।
एउटै प्रकृतिका दुई अटो शो हुने भएपछि अर्कोलाई असर गर्नु स्वाभाविकै हो। यति सानो बजारमा दुइ अटो शो हुँदा यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने पूर्वअध्यक्ष थापा बताउँछन्। ‘संस्था दुई वटा जन्मिने बित्तिकै अटो शो पनि हुनु स्वाभाविक हो। तर, यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने र व्यावसायिक तथा संस्थागत रूपमा पनि समस्या सिर्जना गर्न सक्छ,’ थापाले भने।
यसले धेरै खालका अस्वस्थ प्रतिस्पर्धाहरु हुँदै जाने सम्भावना देखिँदै जान्छ। यसलाई सकेसम्म यो पटक जे भयो अर्को पटक अलिकति मिलाएर लैजाने वातावरण बनाउने थापाले बताए।
यद्यपि, नाडाले चार पांग्रे सवारी ब्रान्डहरूलाई सहभागी गराएर अटो शोलाई सफल बनाउने प्रयास गरिरहेको छ। तर, समग्र अटो शोको सफलताको लागि दुई पांग्रे ब्रान्डको सहभागिता अनिवार्य मानिन्छ।
अटो शोको आकर्षण नयाँ–नयाँ सवारी साधन र प्रविधि हेर्न पाइने हो। नेपालमा दुई पांग्रे सवारी साधनको बजार ठूलो छ र उपभोक्ताको ठूलो हिस्साले यसमा चासो राख्छन्। यस्तो अवस्थामा दुई पांग्रे ब्रान्डहरू अनुपस्थित हुँदा अटो शोको गरिमा र आकर्षणमा कमी आउने निश्चित छ। यसले नाडालाई केही हदसम्म धक्का पुग्न सक्छ। अटो शोको आयोजक भएकाले नाडाको मुख्य उद्देश्य सबै ब्रान्डलाई एकै ठाउँमा ल्याएर उपभोक्ता र व्यवसायीबीचको सम्बन्धलाई बलियो बनाउनु हो।
यद्यपि, नाडाले चार पांग्रे सवारी ब्रान्डहरूलाई सहभागी गराएर अटो शोलाई सफल बनाउने प्रयास गरिरहेको छ। तर, समग्र अटो शोको सफलताको लागि दुई पांग्रे ब्रान्डको सहभागिता अनिवार्य मानिन्छ।
नाइमा उपस्थित हुने ब्रान्डहरु
पहिलो पटक आयोजना हुन लागेको नाइमा मोबिलटी एक्स्पो २०२५ मा ५० ब्रान्डको सहभागी हुने नाइमाले जनाएको छ। यही २१ गतेदेखि हुने नेपाल मोबिलिटी एक्स्पोमा बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा र जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकरलगायतका चार पांग्रे ब्रान्डको प्रदर्शनी हुने छ।
त्यसैगरी चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङलगायत कमर्सियल ब्रान्डले प्रदर्शनी गर्ने नाइमाले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पोमा १९ वटा दुई पांग्रे सवारी साधन ब्रान्डले आफ्ना नयाँ मोडल प्रदर्शनी गर्ने नाइमाले जनाएको छ। नाइमामा एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोलगायतका ब्रान्ड उपस्थित हुने छन्।
नाडामा उपस्थित हुने ब्रान्ड
नाडा अटो शोमा १८ वटा चारपांग्रे सवारीसाधन ब्रान्ड सहभागी हुने नाडाले जनाएको छ। नाडामा दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल, जिनपेङलगायतका ब्रान्ड सहभागी हुने छन्।
त्यसैगरी न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासी÷किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेई÷नाभेको, सनलङलगायतका लाइट कमर्शियल भेहिकल ब्राण्ड सहभागी हुने छन्।
नाडामा दुई पांग्रे ४ ब्रान्ड मात्र सहभागी हुने छन्। यसमा हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा ब्रान्डले प्रदर्शनी गर्ने छन्।