म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो।
हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलव तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो। सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढुंगामा विस्फोटक पदार्थको प्रयोग गरेर गत सातादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए।
अडिटको दूरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ।
अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुनेछ। रसुवा–मल्टी जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोबटिक सटकिटलगायत उपकरण ल्याएको बताए।
मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आबद्ध हुनेछ।
आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए। कुल १२ अर्ब ९३करोड लागत अनुमान गरिएको यस आयोजनामा नबिल बैंकको नेतृत्वमा ६ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रवर्द्धक र सेयर लगानीकर्तामार्फत जुटाइने भएको छ।
विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर आठ ४० पैसा र वर्षायामको दर चार रुपैयाँ ८० पैसा कायम भएको छ। आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट १ अर्ब ९ करोड र बर्खामा दुई सय ७७ गिगावाटबाट १ अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ।
मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा तीन सय मेगावाट बढी क्षमताका तीन वटा जलविद्युत् आयोजना निर्माण अनुमति लिएका छन्।
६५ मेगावाटको माथिल्लो कालीगण्डकी, एक सय ८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माण तयारी गरेका अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए।-रासस