गुल्मी। अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीन वटा मुख्य सडक अवरुद्ध बनेका छन्।
कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातीदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए।
कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरे, वडा–२ को मिल्क र वडा–३ स्थित कनौटामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो।
लगातार वर्षाको कारण रिडी–तम्घास सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला र वडा–५ को बादरेभीरमा बाढीपहिरोका कारण गए रातीदेखि उक्त सडकसमेत पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिए।
उक्त क्षेत्रमा अहिले पनि लगातार रुपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ। कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आएका छन्।
लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ।-रासस