काठमाडाैं। चेरी समूहले ५० लाख सवारीसाधन निर्यात गर्ने माइलस्टोन पार गरेको घोषणा गरेको छ। ३१ जुलाईसम्म, चेरी समूहले विश्वभर १ करोड ७१ लाख ८० हजारभन्दा बढी प्रयोगकर्ता पाएको छ, जसमा ५१ लाख ७० हजारभन्दा बढी विदेशी प्रयोगकर्ता रहेका छन्।
जुलाई महिनामा मात्र, चेरी समूहले कुल २ लाख २४ हजार ४३९ सवारीसाधन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.७ प्रतिशत बढी हो। नयाँ ऊर्जा सवारीसाधन क्षेत्रमा पनि कम्पनीले उल्लेखनीय प्रगति गरेको छ, जहाँ ६५ हजार ३५७ युनिट बिक्री भयो, जुन अघिल्लो वर्षको तुलनामा ४४.१ प्रतिशत बढेको हो।
चेरीले जुलाईमा १ लाख १९ हजार ९० सवारीसाधन निर्यात गर्यो, जुन गत वर्षको तुलनामा ३१.९ प्रतिशतकाे वृद्धि हो। यससँगै, यस वर्षका पहिलो सात महिनामा कम्पनीको कुल बिक्री १४ लाख ८४ हजार ५६३ मा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.५ प्रतिशत बढी हाे। सो अवधिमा कम्पनीले ६ लाख ६९ हजार ३६० सवारीसाधन निर्यात गर्यो, जसले चीनको शीर्ष निर्यातको रुपमा आफ्नो स्थान बलियो बनाएको छ।
यता, निर्यात बजारमा बिवाइडी पनि तीव्र गतिमा अघि बढिरहेको छ। यस वर्षको पहिलो ६ महिनामा बिवाइडीको निर्यात अघिल्लो वर्षको तुलनामा ११८.२ प्रतिशतले वृद्धि भएको छ, जसले चेरीलाई चुनौती दिइरहेको छ।
ईचेका तथ्यांकअनुसार २०२५ को पहिलो ६ महिनामा चीनका अटोमोबाइल निर्यातका शीर्ष तीन गन्तव्यहरू मेक्सिको, संयुक्त अरब इमिराट्स, र रूस रहेका छन्। मेक्सिकोमा २ लाख ३४ हजार ५०० युनिट (३०.७ % वृद्धि), यूएईमा २ लाख १४ हजार ३०० युनिट (५८.५% वृद्धि) निर्यात भयो भने रूसमा १ लाख ७१ हजार युनिट निर्यात हुँदा ५९.२ प्रतिशतले कमी आएको छ।


