काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजना हुने नाडा अटो शो २०२५ मा सुजुकी ई भिटारा र टाटा ह्यारिएर सार्वजनिक गरिने भएको। छ।
आगामी भदौ ३ देखि भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा दुई विद्युतीय एसयूभी नेपाली बजारमा सार्वजनिक गरिने भएको हो।
नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई–भिटारा सोकेस गर्नेछ भने टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ह्यारियर ईभी (एचफाइभ ईभी) का रुपमा अटो शोमा राख्नेछन्।
मारुती सुजुकीको पहिलो विद्युतीय मोडल ई–भिटारालाई धेरैले चासोका साथ हेरेका छन्। त्यस्तैगरी टाटा मोटर्सले उत्पादन गरेर बिक्री सुरु गरेको ह्यारियर ईभीले भारतीय अटोमोबाइल बजारमा राम्रै चर्चा बटुलिरहेको छ। यी दुवै विद्युतीय एसयूभी नेपाली बजारमा पनि चासोका साथ हेरिएका छन्। यी मोडलको पर्खाईमा नेपाली ईभी पारखीहरु रहेका छन्।
सुजुकी ई–भिटारा
मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार मोडल ई–भिटारा गत जनवरीमा भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको थियो। ई–भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको छ।
सुजुकी ई–भिटारा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउनेछ। सुजुकी ई–भिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यो फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०६, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा आउनेछ।
ई अलग्रिप अप्सन भएको अल ह्वील मोटर ई भिटारामा भने अगाडि १३५ र पछाडि ४८ किलोवाटको मोटरमा आउने कम्पनीले जनाएको छ। ई–भिटाराको लम्बाई ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम छ।

ई–भिटाराको क्याबिनमा ड्युअल स्क्रिनका साथ नयाँ अपरेटिङ सिस्टम वा युजर इन्टरफेस दिइएको छ। गाडीमा टचस्क्रिन सुविधा मात्र नभई डिजिटल डायल धेरै इन्फोर्मेटिभ हुने बताइएको छ। पछिल्लो भागमा स्प्लिट फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट र सबै यात्रीका लागि थ्री–पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्टलगायत सुविधा उपलब्ध हुनेछन्।
गाडीमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्विल ड्राइभ भर्सनका लागि ‘ट्रेल’सहित ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र एडासजस्ता सेफ्टी फिचर रहेका छन्।
टाटा एच फाइभ (ह्यारियर) ईभी
नाडा अटो शोमा टाटाको ह्यारियर ईभी प्रदर्शन गरिनेछ। टाटाको ह्यारियर ईभीमा ६५ किलोवाट र ७५ किलोवाट गरी दुई ब्याट्री अप्सन दिइएको छ। कम्पनीका अनुसार गाडीले शून्यदेखि १०० किमि प्रतिघन्टा गति ६.३ सेकेन्डमै लिन सक्छ। यस्तै रियर–ह्वील ड्राइभ मोडलले अधिकतम ५०५ किलोमिटरको रेन्ज दिनसक्ने बताइएको छ भने क्वाड ह्वील ड्राइभ भेरियन्टले ६२७ किलोमिटरसम्म रेन्ज दिन सक्ने कम्पनीले बताएको छ।
कम्पनीले ह्यारियर ईभीलाई फरक देखाउन सिल्ड अपर ग्रिल, कर्भ ईभीको जस्तै क्रोम ट्रिम भएको एयरड्याम, १९ इन्चको ह्वील, फ्रन्ट डोर र टेलगेटमा ह्यारियर ईभीको ब्याजिङ आदि विशेषता छन्।
यसको इन्टेरियरमा ड्युल टोन ड्यासबोर्ड, टच बेसको एचभीएसी कन्ट्रोल, फ्लोटिङ टचस्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फोर स्पोक स्टेरिङ ह्वील आदि रहेका छन्। प्यानारोमिक सनरुफ, टेरेन मोड, इलेक्ट्रिक पार्किङ ब्रेकलगायत विशेषताले ह्यारियर ईभीलाई उत्कृष्ट देखाएको छ।
गाडीमा १४.५३ इन्चको टचस्क्रिन, वायरलेस चार्जिङ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, अटोमेटिक पार्किङ, सात एयरब्याग, ५४० डिग्री क्यामेरा र २० भन्दा बढी एडास लगायतका फिचर पाउन सकिन्छ।
