काठमाडौं। भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एथरको नयाँ मोडल रिज्टाको नेपाली बजारमा टेष्ट ड्राइभ सम्पन्न भएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले एक विशेष कार्यक्रमका बीच स्कुटरको प्रि-लन्च गरी टेष्ट ड्राइभ सम्पन्न गरेको हो।
कम्पनीले नेपाल ल्याएको नयाँ फ्यामिली स्कुटर ‘एथर रिज्टा’को आधिकारिक बिक्री तथा मूल्य घोषणा भने आगामी नाइमा अटो मोबिलिटीमा गरिने कम्पनीले जनाएको छ।
भारतमा एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ। जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ। रिज्टा जेड ३.७ किलोवाट यसको टप भेरियन्ट हो।
कम्पनीले अहिले टप भेरिएन्टमा बिक्री सुरु गर्ने जनाएको छ। नेपालमा बिक्री हुन लागेको रिज्टा जेड मा ३.७ किलोवाट आवर ब्याट्री क्षमता छ। कम्पनीका बिजनेस हेड प्रदिप अधिकारीका अनुसार यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिन्छ।
यो रेन्ज अनरोडमा दुई जना सवार हुँदाको वास्तविक रेन्ज भएको उनले दाबी छ। यसको कम्पनी सर्टिफाइड रेन्ज भने १५९ किलोमिटर रहेको छ। रिज्टाको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर रहेको छ।
एथर रिस्तामा अन्य एथर स्कुटरहरूमा जस्तै अत्याधुनिक प्रविधि जडान गरिएको छ। यसमा स्मार्ट न्याभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल र फल सेफ जस्ता सेफ्टी फिचरहरू छन्। यसको सबैभन्दा प्रमुख विशेषता भनेको ‘ट्र्याक्सन कन्ट्रोल’ हो।
यो फिचरका कारण स्कुटरलाई अफ-रोड, चिप्लो बाटो वा पानी परेको अवस्थामा पनि सुरक्षित रूपमा चलाउन सकिन्छ। मोड परिवर्तन गरेर यसलाई जुनसुकै सडक अवस्थामा पनि सहजै गुडाउन मिल्ने अधिकारीले जानकारी दिए।
कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिएको छ। साथै मोटर र अन्य पार्टपुर्जामा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ।