काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ४०० केभी प्रसारण लाइन निर्माणका लागि अनुमति माग्दै विद्युत् विकास विभागमा निवदेन दिएको छ।
प्राधिकरणले तिंगला हब–न्यू खिम्ती–सुनकोसी हब–ढल्केवर ४०० केभी प्रसारण लाइन निर्माण गर्न विद्युत् विकासमा अनुमति माग्दै निवेदन दिएको हो।
प्राधिकरणले १३३.९९ किलोमिटर लामो डबल सर्किट लाइन निर्माण प्रक्रिया अगाडि बढाउनेछ। प्रस्तावित प्रसारण लाइन निर्माणपछि ४ हजार ८० मेगावाट विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणले विभागमा पेस गरेको निवेदनमा उल्लेख छ।
सोलुको सोलुदूधकुण्ड नगरपालिका–११ मा प्रस्तावित तिंगला हब सबस्टेसनदेखि सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, धनुषा मिथिला नगरपालिका–७ मा अवस्थित ढल्केबर सबस्टेसनसम्म उक्त लाइन निर्माण प्रस्ताव गरिएको प्राधिकरणले बताएको छ।
प्रसारण लाइनका लागि ३८५ वटा टावर निर्माण गरिनेछन्। टावर तथा सबस्टेसन निर्माण एवं प्रसारण लाइनको विद्युत् मार्ग अधिकार क्षेत्र (राइट अफ वे) का लागि गरी कुल ६२२.३८ हेक्टर चाहिने प्राधिकरणले विभागमा बुझाएको निवेदनमा उल्लेख छ।
प्रसारण लाइनअन्तर्गत तिंगला हब सबस्टेसन, मन्थलीमा प्रस्तावित न्यू खिम्ती सबस्टेसन र ढल्केबर सबस्टेसनमा ४०० केभी लाइनको वे विस्तार तथा कमलामाई नगरपालिका–४ मा प्रस्तावित सुनकोसी हब सबस्टेसनमा ४००/१३२ केभीको सिंगल फेज ट्रान्सफर्मर र ६३० एमभिएको सबस्टेसन निर्माण गरिनेछ।
प्राधिकरणले पेस गरेको निवेदनपछि प्रस्तावित प्रसारण लाइन निर्माण गरिँदा प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित जवाफ दिन विभागले सूचना जारी गरिसकेको छ।