काठमाडौं। एउटै स्थानमा गाडी किन्ने र बेच्नेहरुको जमघट गर्ने उद्देश्यका साथ ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा)ले पहिलो पटक काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेको एक्स्पोमा नयाँ गाडी सार्वजनिकदेखि खरिद गर्न चाहनेका लागि आकर्षक छुटसहितका अफर सार्वजनिक भइरहेका छन्।

प्रदर्शनीमा नयाँ सवारी साधन लञ्च गरिनुका साथै ग्राहक लक्षित विशेष छुट र अफर पनि दिइनेछ। प्रदर्शनी सवारी साधन किन्न चाहने र अटोमोबाइल क्षेत्रमा रुचि राख्नेहरूका लागि फलदायी हुने नाइमा अध्यक्ष ऋतुसिंह वैद्यको भनाइ छ। ‘एक्स्पो गाडी बेच्ने र किन्ने दुवैका लागि सुनौलो अवसर हो,’ उनले भनिन्, ‘बिक्रेताहरुको दसैं सुरु भयो भन्दा फरक पर्दैन।’
सामान्यतया दसैं अवसरमा नयाँ गाडी किन्ने प्रचलन छ। त्यसैले दसैंलाई मौका छोप्दै व्यवसायीले अटो शो गर्दै आएका छन्। यसपटक दसैंअघि दुई वटा अटो शो हुँदै छन् ।
बुधबारबाट सुरु भएको एक्स्पोमा २१ वटा चारपांग्रे, १८ वटा दुई पांग्रे र ९ वटा कमर्सियल सवारी साधन ब्रान्ड सहभागी हुनेछन्। ३५ वटा नयाँ सवारी साधन लञ्च हुने नाइमाले जनाएको छ।
अहिले विद्युतीय कार बिक्री गर्ने ब्राण्डहरू बिवाइडी, एमजी, ओमोडा/जेक्को, लिपमोटर, किया, महेन्द्रालगायतका चल्तीका ब्राण्डले एकपछि अर्को नयाँ मोडल बजारमा ल्याउँदै छन्। यस्तोमा प्रतिस्पर्धा पनि यिनै ब्राण्डबीच हुने देखिन्छ। त्यस कारण पनि एक्स्पोमा विद्युतीय कार बिक्रेताबीच कडा टक्कर हुने देखिएको छ।
विद्युतीय कारमा बिक्रेताहरुले एक अर्काभन्दा धेरै फरक कुरा दिन नसक्ने भएकाले पनि प्रतिस्पर्धा कडा हुन लागेको हो। अधिकांश कम्पनीले प्रकाशित खुद्रा बिक्री मूल्य घटाउनेभन्दा नगद छुट, वार्षिक कर, बिमा, एशोसरिज, एक्सचेञ्ज बोनस जस्ता स्किम लोभ लाग्दो बनाएर दिने छन्। कम्पनीबीच विभिन्न खालको स्किममा पनि आकर्षक प्रतिस्पर्धा हुने अनुमान नाइमा मोबिलिटी एक्स्पोमा गरिएको छ।
एक्स्पोमा विशेषतः विद्युतीय सवारी साधन (इभी)को बाहुल्यता रहने छ। बढ्दो विद्युतीय गाडीको मागले गर्दा विभिन्न कम्पनीहरूले आफ्ना नयाँ इभी मोडलहरू सार्वजनिक गर्ने तथा प्रदर्शनी गर्ने तयारी गरिरहेका छन्। हालसम्म मोबिलिटी एक्स्पोका लागि नेपाल भित्रिएका गाडीमा तथा बाइकमा अधिकांश इभी रहेका छन्। आयोजकका अनुसार पहिलो पटक हुन लागेको एक्स्पो भव्य र व्यवस्थित हुनेछ।

यी हुन् नाइमा एक्स्पोमा देखिने चार पांग्रे ब्रान्ड
लिपमोटरः नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको बी १० मोडल सार्वजनिक हुनेछ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी १० एक्स्पोमा सार्वजनिक गर्ने छ।
जेक्कोः नेपालका लागि ओमोडा/जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्स्पोबाट जेको जे ५ बिक्री सुरु गर्ने जनाएको छ। कम्पनीले आज जेक्को जे ५ सार्वजनिक गरी बिक्री सुरु गर्ने छ। सांघाई अटो सोमा प्रदर्शन गरिएको जे ५ अफरोड तथा एडभेन्चर राइडिङका लागि डिजाइन गरिएको छ।
फरथिङ फ्राइडेः चिनियाँ ब्रान्ड डोङफेङको फरथीङ फ्राइडे सार्वजनिक हुँदै छ। नेपालका लागि फरथिङको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले फरथीङ फ्राइडे सार्वजनिक गरी बिक्री सुरु गर्ने छ।
महेन्द्राः नेपालका लागि महेन्द्रा गाडीको आधिकारिक वितरक अग्नी इन्कर्पाेरेट प्रालिले महेन्द्रा बीई ६ र महेन्द्रा एक्सईभी ९ एक्स्पोमा सार्वजनिक गर्ने छ। कम्पनीले बीई ६ भन्सार प्रयोजनका लागि ५९ किलोवाट आवरको ब्याट्री अप्सनको मूल्य ७६ लाख ३० हजार र ७९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको मूल्य ८३ लाख ८० हजार रुपैयाँ तोकेको छ भने एक्सईभी ९ ई का तीन भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ तोकिएको छ। यद्यपि, यो मूल्य भने गाडी सार्वजनिक भएपछि यसमा केही परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ।
आइएम-सिक्सः नेपालका लागि आइएम-सिक्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्स्पोमा उक्त गाडी प्रर्दशनी गर्ने छ।
म्याक्ससः चीनको प्रख्यात एसएआइसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस मिफा ७ एमपीभी विद्युतीय गाडी सार्वजनिक हुने ब्रान्ड हो। म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले सात सिट क्षमताको यो लक्जरी एमपीभी गाडी सार्वजनिक गर्ने जनाएको छ।
फक्स वागनः नेपालका लागि फक्स वागनको आधिकारिक वितरक पुजा इन्टरनेशनलले फक्सवागन ‘भर्टुस’ सेडान एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको छ।
जर्मन ब्राण्ड फक्स वागनको कम्प्याक्ट सेडान कार सेग्मेन्टमा भारतमा बनेको ‘भर्टुस’ मोडल हो। फक्स वागनले भारतमा उत्पादन गरेको भर्टुसमा १.० लिटर टीएसआई इन्जिन रहने छ।
एलएस अटोः नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रा.लि.ले एक्स्पोमा एलइभी ०५ र एलइभी एक्स सार्वजनिक गर्ने घोषणा गरेको छ। एलएस अटोले दोस्रो मोडलको रुपमा बनाएको एलइभी ०५ र तेस्रो मोडलको रुपमा बनाएको एलइभी एक्स एक्स्पोमा सार्वजनिक गर्ने घोषणा गरेको हो।
बिवाइडीः एक्स्पोमा बिवाइडी सिगल ह्याचब्याग सार्वजनिक हुने मोडल हो। नेपालका लागि बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले सिगल ह्याचब्याक सार्वजकि गर्ने भएको हो।
हेनरी भोल्टसः एक्स्पोमा सार्वजनिक हुने अर्काे गाडी हेनरी भोल्टसको सी प्रो मोडल हो। हेनरी भोल्टसको नेपालका लागि आधिकारिक वितरक एस क्यूव इन्टरप्राइजेजले नयाँ मोडल सी प्रोलाई आज सार्वजनिक गर्न लागेको हो। कम्पनीले यस नयाँ मोडलको मूल्य २३ लाखभन्दा कम निर्धारण गर्ने जनाएको छ।
माज्दाः नेपालका लागि माज्दा गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सिएक्स ६० मोडल आजदेखि बिक्री सुरु गर्ने जनाएको छ। जापानीज ब्रान्ड माज्दा सिएक्स ६० नयाँ एसयूभी प्रिमियम नाइमा अवलोकन गर्नेका लागि विल्कुलै नयाँ मोडल हुनेछ।
रेनोः एक्स्पोमा प्रदर्शनी हुने नयाँ मोडल रेनो क्विड इभी हो। नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले केही समयअघि भित्र्याएको क्विड इभी आजदेखि सुरु हुने मोबिलिटी एक्स्पोमा प्रदर्शनी हुनेछ।

कमर्सियल ब्रान्ड
क्यारी इभीः लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रा.लि.ले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ सार्वजनिक हुँदै छ। कम्पनीले क्यारी ब्रान्डअन्तर्गत केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान सार्वजनिक गर्न लागेको हो। ‘क्यारी’ ब्रान्ड विश्वकै अग्रणी अटोमोबाइल निर्माता चेरी कमर्सियल भेहिकल्सअन्तर्गत पर्दछ। जुन आफ्नो विश्वसनीयता, सुरक्षा र उत्कृष्ट प्रदर्शनका लागि विश्वभर परिचित छ।
सनलोङः चिनियाँ कमर्सियल भेहिकल ब्राण्ड सनलोङका दुई विद्युतीय माइक्रोभ्यान सार्वजनिक हुनेछ। वेबर ग्रुपअन्तर्गतको ब्लु कर्पोरेशन प्रा.लि.ले सनलोङको १२ र १३ सिटे माइक्रोभ्यान सार्वजनिक गर्ने भएको हो। कम्पनीले यु वान र यु टु माइक्रोभ्यान आज सार्वजनिक गरी बिक्री सुरु गर्ने जनाएको छ।
दुई पांग्रे सवारी साधन ब्रान्ड
बजाजः बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको पहिलो विद्युतीय स्कुटर चेतक सार्वजनिक गर्दै छ। आइस इन्जिन भएको मोटरसाइकल बिक्री गर्दै आएको बजाजले आफ्नो पहिलो विद्युतीय स्कुटर चेतक नाइमामा सार्वजनिक गरेसँगै दुई पांग्रे इभी बजारमा प्रतिस्पर्धा बढ्ने देखिएको छ।
टिभिएसः टिभिएसको विभिन्न नयाँ मोडल प्रदर्शन हुनेछ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक कन्सेप्ट मोडलबाहेक अन्य पाँच मोडल बिक्री सुरू गर्ने भएको हो।
कम्पनीले ३१० सिरिजका दुई मोडल, रोनिन, एनटर्क १२५ र रेडिअन आइ–गोसहित नयाँ कन्सेप्ट मोडल अटो एक्स्पोमा देखाउने जनाएको छ। कम्पनीले देखाउन लागेको आरटीआर ३१० नयाँ मोडल हो।
केटिएमः नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा उपलब्ध रहेको सम्पूर्ण मोडलको अपडेट भर्सन सार्वजनिक गर्ने भएको छ।
साथै, केटीएमले एक्स्पोमा नयाँ मोडल २५० र ३९० एड्भेन्चर पनि सार्वजनिक गर्नेछ। हाल नेपालमा केटीएमको ड्युक २००, ड्युक २५०, ड्युक ३९०, आरसी २००, आरसी ३९० र पुरानो भेरियन्ट एड्भेन्चर २५० र ३९० मोडलका मोटरसाइकल उपलब्ध छन्।
ट्रायम्फः ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी सार्वजनिक गर्ने छ। ट्रायम्फ स्पीड ४०० को सस्तो भर्सन स्पीड टी ४ नआउने भएसँगै स्क्रयाम्बलर ४०० एक्ससी सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ।
एथरः विद्युतीय स्कुटर ब्रान्ड एथरको नयाँ मोडल प्रदर्शनी तथा औपचारिक रुपमा लञ्च हुनेछ। नेपालका लागि ‘एथर’को आयातकर्ता वैद्य इनर्जी प्रा.लि.ले एक्स्पोमा ‘एथर रिज्टा’ औपचारिक रूपमा लञ्च गर्ने तयारी गरिरहेको छ। एथर रिज्टा भारतमा सबैभन्दा बढी बिक्री हुने इभी टू ह्वीलर ब्रान्डमध्ये एक हो।
सेगवेः विद्युतीय स्कुटर बजारमा सक्रिय आई हब प्रा.लि.ले यसपटक ‘सेगवे–नाइनबट’ ब्रान्डका दुइ नयाँ ई–बाइक सार्वजनिक गर्ने भएको छ। नेपालका लागि सेगवेको आधिकारिक बितरक आई हब प्रा.लि.ले साइबर र सफारी गरि दुइ मोडलको ई–बाइक आज सार्वजनिक गर्ने छ।
यी दुवै ई–बाइकमा ब्याट्री र मोटरसँगै फुट प्याडल पनि दिइएको छ। यी बाइक चलाइरहेको अवस्थामा चार्ज सकियो भने प्याडलको मद्दतले साइकलको रुपमा पनि चलाउन सकिने छ।
सुजुकीः सुजुकी टू ह्वीलरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले आफ्नो चर्चित मोडल ‘एक्सेस’को अपग्रेडेड भर्सनसहित सोही मोडलको इभी संस्करण पनि एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले पेट्रोल र इभी दुवै विकल्प एकैसाथ नाइमा एक्स्पोमा देखाउने छ।
याडियाः नेपालका लागि याडियाको आयातकर्ता तथा बिक्रेता कुजु नेपाल प्रा.लि.ले याडियाको भेलक्स सिरिज सार्वजनिक हुनेछ। कम्पनीले भेलक्स सिरिजअन्तर्गत तीन वटा मोडल भेलक्स फास्ट चार्जिङ, भेलक्स यु र भेलक्स एच मोडल सार्वजनिक गर्ने जनाएको छ।
यसैगरी दुगड ब्रदर्श एण्ड सन्सले विद्युतीय बाइक ब्रान्ड ‘रिभोल्ट’ को २०२५ को नयाँ अपडेटेड मोडल एक्स्पोमा राख्ने तयारी गरेको छ। कम्पनीले यसलाई स्मार्ट इभीको खोजीमा रहेकाहरूको लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गर्ने जनाएको छ।
बनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनलले ‘मोर्बिडेली’ ब्रान्डअन्तर्गतका २५० र ३५२ सीसी क्षमताका स्पोर्ट बाइक एक्स्पोमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।