काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले 'पावर समिट २०२५'को लोगो सार्वजनिक गरेको छ। आगामी असोज २९ र ३० गते काठमाडौंमा आयोजना हुन लागेको नवौँ संस्करणको पावर समिटका लागि नेपालको समग्र ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरेको हो।
'मिसन २८ हजार ५०० मेगावाट- पावरिङ नेपाल, इनर्जाइजिङ रिजन' भन्ने मूल नारासहित आयोजना हुन लागेको समिटको लोगोमा नेपालको ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यको उच्चस्तरको सम्भावना देखाइएको छ। यसको मूल खण्डमा रहेको हरियो पातजस्तै संरचनाले दिगोपनको संकेत गरेको छ। यहाँबाट नेपालको ऊर्जा उत्पादनका विभिन्न स्रोतहरू जस्तो जलविद्युत, सोलार, विनलगायत देखाइएको छ।
लोगोमा ठूलो आकारमा देखाइएको जलविद्युत आयोजनाले नेपालको विशाल जलस्रोत क्षमता र स्वच्छ ऊर्जाको मुख्य आधार जलविद्युत हो भन्ने दर्शाउँछ। यसको छेउमा देखिएका आधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रणालीले नेपालको ऊर्जा सुरक्षातर्फको यात्रालाई झल्काएको छ। त्यस्तै, सौर्य ऊर्जालगायतले नवीकरणीय ऊर्जातर्फको विविधिकरणको पनि एकसाथ संकेत गरेको छ।
पहाड र हिमालभरि देखिएका प्रसारण लाइनले नेपालमको विद्युत सीमापारका बजारमा बिक्री गर्ने अन्तरदेशीय विद्युत व्यापारको तयारीलाई झल्काएको छ। विद्युतीय सवारी चार्जिङ स्टेशन, औद्योगिक क्षेत्र र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जा देशका विभिन्न क्षेत्रमा कसरी प्रयोग भइरहेको विषयसमेत समेटिएको छ।
लोगोमा प्रयोग भएका यी कुराले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै दक्षिण एशियाली क्षेत्रलाई ऊर्जा निर्यात गर्ने सम्भावनातर्फ लैजाने राष्ट्रको दुरदर्शी यात्रालाई प्रतिबिम्बित गरेका छन्।
पावर समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ भने कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहेको छ। समिटमा १० वटा विभिन्न समसामयिक सत्रमा छलफल हुनेछ भने ३० देशका एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ।