काठमाडौं। तपाई नयाँ गाडी खरिद गर्ने तयारीमा हुनुहुन्छ?, कुन गाडीमा कति ‘डिस्काउन्ट’ दिइरहेको छ भन्ने जानकारी लिन चाहन्छु। यदि, त्यसो हो भने बुधबारदेखि ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’मा गाडी खरिद गर्नेहरुलाई लक्षित गरी भारी ‘डिस्काउन्ट’ अफर सार्वजनिक भएको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)को आयोजनामा बुधबारदेखि सुरु भएको ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ अवधिभर विभिन्न ब्रान्डले बम्पर अफर ल्याएको हो।
एक्स्पोमा गाडी खरिद गर्न चाहने ग्राहकका लागि विभिन्न ब्रान्डमध्ये ८ ब्रान्डले मेलाभरि गाडी खरिदकर्तालाई यस्तो अफर सार्वजनिक गरेका हुन्। एक्स्पोमा एउटै गाडीमा २० लाखसम्म छुट दिने घोषणा विभिन्न कम्पनीले गरेका छन्।
नाइमा मोबिलिटी एक्स्पोमा प्यासेञ्जर सेग्मेन्टमा फरथिङ फ्राइडे, बीवाईडी एट्टो वान, महेन्द्रा बीई-६ र एक्सईभी-९, जेक्को जे फाइभ, म्याक्सस मिफा-७ लगायतका गाडी सार्वजनिक भएका छन्। सार्वजनिक भएका अधिकांश ब्रान्डले विशेष छुट दिएको जनाएको छ।
सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा विभिन्न ब्रान्डहरूले आफ्ना उत्पादनमा विशेष छुट दिएका छन्। एक्स्पोमा नेपालमा लोकप्रिय ब्रान्डहरू बीवाईडी, किया, हुण्डाई, निसान, जिकर, लिपमोटर, ओमोडा एण्ड जेक्कोलगायतका ब्रान्डहरुको सहभागिता छ। यस एक्स्पोले उपभोक्ताहरूलाई सवारी साधन खरिद गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
नाइमा मोबिलिटी एक्स्पोको आयोजनाले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन र वातावरण संरक्षणमा सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यो एक्स्पो पाँच दिनसम्म चल्ने छ। यसले सवारी साधन खरिद गर्ने सोचमा रहेका उपभोक्तालाई ठूलो अवसर प्रदान गरेको छ।
कुन ब्रान्डको छुट कति?
जिकरः जिकरको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नाइमा मोबिलिटी एकस्पोको लागि जिकर एक्सको मूल्य घटाएको छ। कम्पनीले एक्स्पो अवधिका लागि १५ लाख रुपैयाँ घटाएको हो। पायोनियर मोटोकर्पले सुरुमा ८४ लाख ९९ हजार मूल्य राखेर बिक्री सुरु गरेको जिकर एक्सको मूल्य हाललाई ६९ लाख ९९ हजारमा झारेको छ।
यसअघि एकैपटक १० लाख मूल्य कटौती गरेर ७४ लाख ९९ हजार बनाएको कम्पनीले फेरि पाँच लाख रुपैयाँले मूल्य घटाएको हो। चिनियाँ अटोमोबाइल ग्रुप जिलीको प्रिमियम ब्राण्ड जिकर एक वर्षअगाडि अटो शोमार्फत नेपालमा बिक्री सुरु भएको थियो।
निसान लिफः निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले एक्स्पोलाई लक्षित गर्दै निसान लिफमा २० लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। कम्पनीले यसअघि ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ अब ४४ लाख ९९ हजार रुपैयाँमै दिने घोषणा गरेको हो।
केईः नेपालमा केई गाडीको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले एक्सथ्री प्रो इभी’ फ्ल्यागसिप टप भेरियन्टमा पौने ९ लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ।
कम्पनीले अफरअन्तर्गत केई एक्सथ्री प्रो इभी फ्ल्यागसिप टप भेरियन्टलाई यसको सुरुआती मूल्य ४८.९६ लाख रुपैयाँबाट घटाएर ३९.९६ लाख रुपैयाँमा उपलब्ध गराएको छ। साथै, ग्राहकले ७.३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ र स्पेयर पार्टसका साथै टायर पनि पाउने छन्।
फरथिङ फ्राइडेः नेपलाका लागि फरथिङ फ्राइडेको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले फरथिङ फ्राइडे यसयुभी सार्वजनिक गर्दै कम्पनीले ६ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ।
नाइमा अटो शोमा सार्वजनिक गरेको फ्राइडे यसयुभीको मूल्य नाइमा अवधिको लागि ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको हो। नाइमा एक्स्पोपछि कम्पनीले गाडीको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ निर्धारण गर्ने जनाएको छ।
जेक्को जे-५ः नेपालका लागि ओमोडा/जेकोको आधिकारीक बिक्रेता एपीजी अटोमोबाइलले ओमोडा/जेकोले नयाँ एसयुभी नेपाली बजारमा सार्वजनिक गर्दै चार लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेको नयाँ एसयूभीमा एक्स्पो अवधिका लागि कम्पनीले अफर दिएको हो।
कम्पनीले यसको मूल्य नाइमा मोबिलिटी एक्स्पो अवधिभरका लागि ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। एक्स्पोपछि गाडीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ निर्धारण गर्ने कम्पनीले जनाएको छ।
हुण्डाईः नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा हुण्डाईका गाडी खरिदमा ८ लाख रुपैयाँसम्म छुट दिने घोषणा कम्पनीले गरेको छ। नेपालका लागि हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै ‘हुण्डाई अवेसम अगष्ट’ स्किम ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकहरूले हुण्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्म नगद छुट पाउने छन्। साथै, एक वर्षको निःशुल्क बिमा र विशेष छुटहरू प्राप्त गर्ने छन्।
यसका साथै हुण्डाई गाडीमा तीन तीन वर्षको वारेन्टी पनि पाउने छन्। यस योजनामा बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएके छ। विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्ने छ। नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुण्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुने छन्।
बीवाईडीः नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले बीवाईडीको नयाँ ह्याचब्याक कार एटो-वान दुई भेरियन्टमा सार्वजनिक गर्दै छुट दिएको हो। एटो-वान डाइनामिक भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।
म्याक्ससः नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले बुधबार नाइमा मोबिलिटी एक्स्पोमा मिफा-७ सार्वजनिक गर्दै १० लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। कम्पनीले मिफा-७ को मूल्य एक करोड २५ लाख रुपैयाँ निर्धारण गरे पनि नाइमा मोबिलिटी एक्स्पोभरि बुकिङ गर्ने ग्राहकले १० लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ।
लिपमोटर: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा लिपमोटर टि३ को मूल्यमा पनि भारी मूल्य छुट दिएको छ। कम्पनीले एक्स्पो अवधिभर पाँच लाख रुपैयाँ मूल्य घटाएको हो। अरू बेलामा ३४ लाखमा बिक्री हुँदै आएको गाडी एक्स्पो अवधिभर २९ लाख ९९ हजार रुपैयाँमा किन्न सकिन्छ।
यस्तै, लिपमोटर बी १० को मूल्यमा पनि भारी छुट दिएको छ। ५६ लाख ९९ हजार रुपैयाँमा मूल्य कायम गरिएको यो यो भेरियन्टको गाडी नाइमा एक्स्पो अवधिभर ४९ लाख ९९ रुपैयाँ मूल्य कायम गरेको छ। यो मोडल आजै मात्र सार्वजनिक भएको हो। नेपालका लागि यस गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स रहेको छ।