काठमाडौं। बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा विद्युतीय सवारीसाधनप्रति ग्राहक चासो चुलिएको छ।
नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित एक्स्पोमा सस्तो ई–साइकलदेखि करोडौं पर्ने लक्जरी गाडीसम्म एउटै छानामुनि सार्वजनिक भएका छन्। तर, सबैभन्दा धेरै चर्चा बटुलेको छ ‘प्राइस वार’ ले।
‘प्राइस वार’ अर्थात् मूल्य प्रतिस्पर्धाले बजारमै नयाँ उत्साह ल्याएको छ। एक्स्पोमा सवारीसाधन वितरक कम्पनीबीच प्राइस वार सुरु भएको छ। विभिन्न ब्रान्डले एकअर्काबीच प्रतिस्पर्धा गर्न २० लाखसम्म मूल्य घटाएका छन्। यसले दर्शकलाई उत्साहित बनाउनुका साथै आफ्नो बजेटअनुकूलको विकल्प पनि दिएको छ।
दुईपांग्रे र चारपांग्रेको ‘प्राइस वार’ले ग्राहक थप उत्साहित बनेका छन्। विभिन्न कम्पनीले लन्च गरेका नयाँ मोडल तथा पुराना मोडलका स्टक गाडीमा भारी छुट दिएका छन्। नाइमा मोबिलिटी एक्स्पोमा विशेषगरी चिनियाँ ब्रान्डबीच प्रतिस्पर्धा देखिएको छ।
एक्स्पोमा सुरुमा चिनियाँ ब्रान्ड फरथीङ फ्राइडेले मूल्य घटाउन सुरु गरेपछि अन्य ब्रान्ड ओमोडा एन्ड जेक्को, लिपमोटर, जिकर, निसान लिफ, म्याक्सस मिफा ७लगायत ब्रान्डले मूल्य घटाएका छन्।

एक्स्पोमा दुईपांग्रे, तीनपांग्रे र चार पांग्रे सवारीसाधनका विभिन्न मोडल प्रदर्शनीमा राखिएका छन्। यसबाहेक केही कम्पनीले नयाँ ब्रान्ड ल्याएका छन्। जसले गर्दा दर्शक र मिडिया दुवैमा चासोको केन्द्र पनि बनेको छ।
पाँच दिनसम्म चल्ले एक्स्पोमा ३ लाख रुपैयाँको ई साइकदेखि लक्जरी गाडीसम्म सार्वजनिक भएका छन्। एक्स्पोमा सेगवेयको ३ लाख ५० हजार रुपैयाँको ई–साइकल सफीिर सार्वजनिकदेखि लिएर म्याक्ससको १ करोड २५ लाख रुपैयाँको मिफा ७ सार्वजनिक भएको हो।
एक्स्पोमा सबैका लागि केही न केही सवारीसाधन उपलब्ध छन्। एउटा कुनामा इलेक्ट्रिक साइकल र स्कुटरले युवा पुस्तालाई आकर्षित गरेको छ भने अर्को कुनामा प्रिमियम तथा लग्जरी कारले उच्च वर्गका ग्राहकको ध्यान खिचेको छ। पहिलो दिनमै एक्स्पोमा दुई दर्जन बढी नयाँ सवारीसाधन लन्च भए। नयाँ गाडी लन्च गर्ने र मूल्य घटाउने कम्पनीबीचको होडबाजी जारी छ।
एक्स्पोको पहिलो दिन
नाइमा एक्स्पोमा पहिलो दिनमै दर्शकको घुइाचो देखियो। एक्स्पोको पहिलो दिन नै अवलोकनकर्ताको बाक्लो उपस्थिति थियो। मोबिलिटी एक्स्पोमा पहिलो दिन १५ हजारले एक्स्पो अवलोकन गरेको नाइमाले जनाएको छ। उद्यमी व्यसायी चार पांग्रेको स्टलमा केन्द्रित थिए भने युवायुवतीलाई दुईपांग्रे ब्रान्डका स्टलले तोनेको देखिन्थ्यो।
एक्स्पोमा विशेषगरी नयाँ लन्च भएका गाडी तथा बाइक स्कुटरमा ग्राहकको आकर्षण देखिएको छ। एक्स्पो अवलोकनमा गएकामध्ये धेरैको ध्यान बीवाईडी, लिमोटर, ओमोडा,एण्ड जेक्को र मन्द्रिाको स्टलमा देखिएको छ। यी सबै ब्रान्डले यसयूभी सेग्मेन्टमा नयाँ गाडी ल्याएका हुन्।
नयाँ लन्च भएका सवारीसाधन
नाइमा मोबिलिटी एक्स्पोमा प्यासेन्जर सेग्मेन्टमा बीवाईडी एट्टो वान, हेनरी भोल्टसको सी प्रो, लिपमोटर बी–१०, फरथीङ फ्राइडे, जेक्को जे फाइभ, म्याक्सस मिफा ७, महेन्द्रा वीई ६ र महेन्द्रा एक्सईभी ९, फक्सवागनको भर्टुस र टाइगुनलगायतका नयाँ मोडल सार्वजनिक भएका छन्।
त्यसैगरी कमर्सियल सेग्मेन्टमा क्यारीका दुई माइक्रोभ्यान, फारिजोनको १९ सिटे माइक्रोभ्यान चेरी वान्डा ब्रान्डको १४ सिटे इलेक्ट्रिक माइक्रोभ्यान, स्काईवर्थ नयाँ मोडल गरी करिब आधा दर्जन नयाँ कमर्सियल ईभी भ्यान सार्वजनिक भएको छ।
दुई पांग्रेमा याडिया ब्रान्डको ३ मोडल, सेग्वेयका ४ मोडल, नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोडल, केटीएमको ६ मोडल, एथरको रिज्टा, टिभीएको ४ मोडल, बजाज चेतकलगायतका ब्रान्डका विभिन्न मोडल सार्वजनिक भएका छन्।
इन्जिन गाडी पनि सार्वजनिक
एक्स्पोमा जर्मनी ब्रान्ड फक्सवागनले आफ्ना दुई नयाँ मोडलका आईसिई इन्जिन गाडी सार्वजनिक गरेको छ। नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले फक्सवागन ‘भर्टुस’ सेडान र नयाँ टाइगुन यसयूभी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको हो।
कम्पनीले टाइगुनको बेस भेरियन्टको मूल्य ५४ लाख ९० हजार र टप भेरियन्टको ८९ लाख रुपैयाँ तोकेको छ। त्यस्तै, भर्टुसको म्यानुअलको ८४ लाख र अटोमेटिकको मूल्य ८९ लाख तोकेको छ। यी दुवै गाडीको लन्च नाइमा अटो शोमा जर्मनीका राजदूत उदो भोल्जले गरेका हुन्।
यी दुवै गाडीमा यस सेग्मेन्टकै सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ। गाडीमा भर्टुस र टाइगुन दुवैमा पावरको आवश्यकताअनुसार दुई वा चारै सिलिन्डरद्वारा चल्ने १५०० सीसीको इन्जिन छ। यसले १५० हर्ष पावर शक्ति दिन्छ।