काठमाडौं। सवारी खरिद र बिक्री गर्नेहरुका लागि नाइमा मोबिलिटी एक्स्पो २०२५ निकै फलदायी हुने देखिएको छ। चार र दुई पांग्रे सवारी खरिद गर्नेहरुलाई लक्षित गरी नाइमा एक्स्पोको अवसरमा भारी छुट दिएको देखिन्छ।
काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित एक्स्पोमा विभिन्न आठ ब्राण्डले दुई दर्जनभन्दा बढी दुई पांग्रे मोडलहरु लञ्च गरेका छन्। एक्स्पोमा याडिया, सेगवेय, केटिएम, एथर, बिजी, सिएफमोटो, टिभीएस, मोर्बिडेलीलगायत ब्रान्डले आफ्ना नयाँ मोडलका दुई पांग्रे बाइक तथा स्कुटर सार्वजनिक गरेका हुन्।
एक्स्पोमा नयाँ ब्रान्डका साथै नयाँ मोडल बाइक तथा स्कुटर सार्वजनिक हुनुका साथै पुराना ब्रान्डले विशेष अफर दिएका छन्। चार पांग्रेपछि दुई पांग्रे ब्रान्डहरुले पनि मूल्य घटाउन सुरु गरेका छन्। एक्स्पोमा उपस्थित विभिन्न ब्रान्डहरूले नयाँ मोडल सार्वजनिक गर्दा दिएका छुट र विशेष अफरहरूले पनि ग्राहकहरूलाई आकर्षित गरेका छन्।

यसले नेपालको दुई पांग्रे सवारी साधान बजारमा प्रतिस्पर्धा बढेको देखिन्छ। अटो शोमा दुई पांग्रे ब्रान्डमा याडियाका ३ तीन मोडल, सेगवेयका ४ मोडल, केटिएमका ६ मोडल, एथरको एक मोडल, बिजीका दुई मोडल, सिएफमोटोका दुई मोडल, टिभीएसको एक मोडल रोनिन, मोर्बिडेलीका दुई मोडल सार्वजनिक भएका हुन्।
सार्वजनिक भएका नयाँ मोडलहरु
याडियाः नेपालका लागि याडियाको आयातकर्ता तथा बिक्रेता कुजु नेपाल प्रा.लि.ले याडियाको भेलक्स सिरिज तीन मोडल सार्वजनिक गरेको छ। कम्पनीले दुईदेखि चार लाख रुपैयाँसम्म मूल्य निर्धारण गरी स्कुटर सार्वजनिक गरेको हो।
भेलक्स सिरिजअन्तर्गत भेलक्स फास्ट चार्जिङको मूल्य ३ लाख ६० हजार, भेलक्स यूको मूल्य ४ लाख ५० हजार रुपैयाँ र भेलक्स एच मोडलको मूल्य २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेको छ।
सेगवेयः सेगवेका ४ नयाँ मोडेल दुई पांग्रे सवारी साधन सार्वजनिक भएका छन्। जसमा ई-साइकलदेखि बाइकसम्म छन्। नेपालका लागि सेगवे-नाइनबोटको आधिकारिक बिक्रेता आइहब प्रा.लि.ले चार नयाँ मोडेलका दुई पांग्रे सवारी सार्वजनिक गरेको हो।
कम्पनीले एक्स्पोमा दुई नयाँ मोडेलका स्कुटर ई-१५० एमके २’ र ‘ई-१२५ एमके २’ सार्वजनिक गरेको छ। नयाँ मोडलको ई-बाइक साइबर र ई-साइकल ‘सफारी’ पनि सार्वजनिक गरेको छ।

आइहब प्रा.लि.ले स्कुटर ई-१५० को मूल्य ५ लाख, र ‘ई-१२५ एमके २’को मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, ‘ई-साइकल सफारीको मूल्य ३ लाख ५० हजार र ई-बाइक साइबरको मूल्य ५ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ। यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ।
एथरः नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले एथर रिज्टा सार्वजनिक गरेको छ। तीन भेरिएन्टमा उपलब्ध एथर रिज्टाको टप भेरिएन्ट एस्पोमा सार्वजनिक गरेको हो। कम्पनीले सार्वजनिक गरेको ‘एथर रिज्टा’फ्यामिली स्कुटर हो। वैद्य इनर्जीले नेपाल ल्याएको ‘एथर रिज्टा’ को ३ लाख ८३ हजार रुपैयाँ तोकेको छ।
केटिएमः नेपालका लागि केटिएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२५ भर्सनका ६ नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले २०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ३९० इन्ड्युरो आरको नयाँ मोडल सार्वजनिक गरेको हो। कम्पनीले २०० ड्युकको ५ लाख ९९ हजार ९ सय, २५० ड्युकको ७ लाख १४ हजार ९ सय, ३९० ड्युकको ९ लाख ४९ हजार ९ सय, २५० एडभेन्चरको ७ लाख ४९ हजार ९ सय, ३९० एडभेन्चरको १० लाख ७४ हजार ९ सय र ३९० एन्ड्युरो आरको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।
आक्रामक डिजाइन, प्रविधियुक्त फिचर र दमदार पर्फमेन्ससहित केटिएमका यी नयाँ मोडल सडक र अफरोड दुवैका लागि तयार भएको कम्पनीको भनाइ छ।
बिजीः नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ब्राण्ड ‘बिगस (बिजी) इलेक्ट्रिकका दुई नयाँ स्कुटर बिक्री सुरु भएको छ। अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइन्क प्रा.लि.ले बिजी आरयूभी ३५० र बिजी सी १२ इलेक्ट्रिक स्कुटर बिक्री सुरु गरेको हो।
कम्पनीले दुवै स्कुटर दुई दुई भेरियन्टमा सार्वजनिक गरेको हो। जसमा आरयूभी ३५० आइईएक्सको मूल्य २ लाख ७९ हजार ४०० रुपैयाँ र आरयूभी म्याक्सको मूल्य ३ लाख २५ हजार ३०० रुपैयाँ तोकेको छ। त्यस्तै, बिजी सी १२ आइईएक्सको मूल्य २ लाख २८ हजार ४०० रुपैयाँ र सी १२ म्याक्स ३.० को ३ लाख ४ हजार ९०० रुपैयाँ तोकेको छ। यी स्कुटर उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको हुनाले सहरी तथा दैनिक यात्राका लागि नयाँ विकल्प भएको कम्पनीको भनाइ छ।
सिएफमोटोः नेपालका लागि सिएफमोटो मोटरसाइकल तथा जिहो इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नेकेड स्पोर्टस र स्पोर्टस् डिजाइनको दुई मोटरसाइकल सार्वजनिक गरेको छ। सिएफमोटोको ४५० एमटीले सफलता पाएसँगै कम्पनीले नेपाली बजारमा दुई नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेको हो।
कम्पनीले नेकेड स्पोर्टस डिजाइनको सिएफमोटो ३०० एनकेको परिचयात्मक मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ तोकेको छ। यसमा २९२ सीसी सिंगल सिलिण्डर इन्जिन रहेको छ। यो इन्जिनले २८.८ बीएच पावर तथा २५.३ एनएम टर्क जेनेरेट गर्छ। यो मोटरसाइकलमा प्रिमयम फिचरहरू डबल च्यानल एबीएस, स्लिपर क्लच, इन्भर्टेड टेलिस्कोपिक सस्पेसन÷मोनोशक सस्पेन्सन पाउन सकिन्छ।
त्यस्तै, स्पोर्टस मोडल ४५० एसआरएसको परिचयात्मक मूल्य १३ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ। यसमा ४४९.५ सीसी ट्विन सिलिण्डर इनलाइन, लिक्विड कुल्ड, ४ स्ट्रोक, डीओएचसी इन्जिन रहेको छ। यो इन्जिनले पावरफुल ५० बीएच पावर र ४० एनएम टर्क जेनेरेट गर्छ। यसमा पनि प्रिममिय मोटरसाइकलमा हुने स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल, एबीएस, ६ स्पीड गियर बक्स, गोल्डेन यूएसडी फर्कलगायतका फिचर उपलब्ध छ।
मोर्बिडेलीः नयाँ ब्रान्ड मोर्बिडेली भित्रिएको छ। नेपालमा हाल बेनेलीका बाइक बिक्री गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले मोर्बिडेलीका दुई नयाँ बाइका भित्र्याएको हो। कम्पनीले टी ३५२ एक्स र टी२५२ एक्स एक्स्पोमा सार्वजनिक गरेको छ। कम्पनीले मोर्बिडेली टी ३५२ एक्सको मूल्य ९ लाख ९७ हजार रुपैयाँ निर्धारण गरेको छ।
मूल्य घटाएका कम्पनीहरु
नेपालका लागि सीएफमोटो मोटरसाइकल तथा जिहो इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नाइमा मोेबिलिटी एक्स्पोमा ‘सीएफमोटो जिहो अफरको वर्षा’ स्किम सार्वजनिक गरेको छ। कम्पनीले सीएफमोटो मोटरसाइकलको खरिदमा ५० हजार रुपैयाँसम्म छुट दिने जनाएको छ। यो अफरअन्तर्गत ग्राहकले नाइमा मोबिलिटी एक्स्पो अवधिभर सीएफमोटोरजिहो ब्रान्डका मोटरसाइकल स्कुटरको खरिदमा ५० हजार रुपैयाँसम्म नगद छुटका साथै कस्टमर प्रिभिलेज कार्ड प्राप्त गर्ने छन्।

कम्पनीले सेलेक्टेड मोडलमा पाँच वर्षसम्मको वारेन्टीसमेत उपलब्ध गराउने जनाएको छ। यो अवधिमा कम्पनीको प्रिमियम अफरोड एड्भेन्चर मोडल ४५० एमटी खरिद तथा बुकिङ् गर्दा प्रिमियम हेलमेटका साथै २५ हजार बराबरको एसेसरिजसमेत निःशुल्क पाउने छन्।
बेनेली तथा मोर्बिडेली बाइको आधिकारिक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङले मोर्बिडेलीको बाइकमा भारी छुट दिने जनाएको छ। कम्पनीले मोर्बिडेली टी ३५२ एक्समा एक्सपो बुक गर्दा ३४ हजार छुट दिने जनाएको छ। ९ लाख ९७ हजार रुपैयाँ मूल्य निर्धारण गरेको मोर्बिडेली टी ३५२ एक्स एक्स्पोमा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमै पाउन सकिने कम्पनीले जनाएको छ।
साथै, नेपाल मोबिलिटी एक्सपो २०२५ मा मोर्बिडेली र बेनेलीका अन्य मोडलहरू पनि विशेष छुटका साथ बुकिङ गर्न सकिने छ। कम्पनीले बेनेलीका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध गराएको छ।