काठमाडौं। बर्खायाम सुरु भएसँगै अहिले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुले ग्राहक लक्षित मनसुन अफर ल्याइरहेका छन्। बर्खायाममा घुम्ने पर्यटकहरुको संख्यामा कमी आउने भएपछि आकर्षण बढाउनका लागि अहिले होटल तथा रिसोर्टले मनसुन अफर ल्याइरहेको हो।
अहिले काठमाडौं, पोखरा, सौराहा, नगरकोट, भैरहवालगायतमा रहेका होटल तथा रिसोर्टहरुले ७० प्रतिशतभन्दा सस्तो मूल्यमा आकर्षक प्याकेज सार्वजनिक गरिरहेको छ।
काठमाडौं नजिकै रहेको गोकर्ण फरेष्ट रिसोर्ट यति एयरलाइन्ससँगको सहकार्यमा लिमिट टाइम लक्जरी प्याकेज सार्वजनिक गरिरहेको छ। अगष्ट अन्तिमसम्म सञ्चालनमा रहने प्याकेजअन्तर्गत प्रतिजोडीलाई १५ हजार रुपैयाँमा माउन्टेन फ्लाइटसहित एक रातको बसाइँको अफर सार्वजनिक गरेको हो। यस्तै स्पामा २५ प्रतिशत छुट घोषणा गरेको छ।
गोकर्ण फरेष्ट रिसोर्टका महाप्रबन्धक दोर्जे शेर्पाले आन्तरिक पर्यटकलाई लक्षित गरी मनसुन अफर सार्वजनिक गरिएको जानकारी दिए। दुई महिनाअघि सार्वजनिक गरिएको प्याकेजमा उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ। बर्खायाममा काठमाडौंको नजिकैको गन्तव्यमा प्रकृतिसँग रमाउँदै बस्न चाहनेका लागि उपर्युक्त गोकर्ण रिसोर्ट हो भन्ने सन्देश पनि अफरमार्फत दिइरहेको उनले बताए।
चन्द्रागिरी हिल्सले ‘कुल अफ समर’ भन्ने नारासहित दुई जनालाई १२ हजार ९९९ मा एक रात बसाइँको अफर सार्वजनिक गरिरहेको छ। सोही रकमभित्र दुईतर्फी केबुलकार, बिहानको ब्रेकफास्ट र स्विमिङ पुलको सुविधा उपलब्ध हुने जनाएको छ।
बर्खायाममा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै २५ हजार रुपैयाँमा दुई जनालाई दुई रात तीन दिनको प्याकेजमा सौराहा घुम्न जाने अफर ल्याइरहेको छ।
चितवनको सौराहामा रहेको जंगल सफारीले पनि जेठदेखि मनसुन प्याकेज सार्वजनिक गरिरहेको छ। बर्खायाममा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै २५ हजार रुपैयाँमा दुई जनालाई दुई रात तीन दिनको प्याकेजमा सौराहा घुम्न जाने अफर ल्याइरहेको छ।
आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ मनसुन अफर ल्याएको लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए। अहिले उत्साहजनक सहभागी रहेको उनले बताए। प्याकेजमा योजनामा सहभागी हुनेले जीप सफारी, डुंगा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउँछन्।
‘हामीले प्रत्येक मौसमलाई लक्ष्य गरेर सौराहामा १२ महिना घुम्न सकिने गन्तव्यको रुपमा चिनाउन खोजेका छौँ,’ घिमिरेले भने, ‘यही अवधारणाअनुसार मनसुन अफर ल्याएका हौँ।’
सिद्धार्थ हस्पिटालिटी ग्रुपअन्तर्गत चितवनमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले चार हजार ४४४ मा एक रात दुई दिनको बसाइँ अफर ल्याइरहेको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङटारमा सिद्धार्थ रिभरसाइड रिसोर्टले ‘सिद्धार्थ रिभरसाइड रिसोर्टमा मनसुन रिट्रीटको आनन्द लिनुहोस, हाम्रो रमणीय मनसुन प्याकेज लिनुहोस’ भन्ने मूल नारासहित ल्याएको प्याकेजमा डिलक्स एसी कोठा, नेपाली खाना र बिहानी खाजा उपलब्ध हुने सिद्धार्थ हस्पिटालिटीका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए। पानीसँग रमाउन चाहनेहरुलाई लक्षित गरी मनसुन अफर सार्वजनिक गरिएको जनाएको छ।
पर्वतको कुस्मास्थित ‘द क्लिफ’ले बुद्ध होलिडेजसँगको सहकार्यमा प्रतिव्यक्ति १८ हजारमा मनसुन अफर ल्याइरहेको छ। वर्षातको समयमा पर्यटकहरुको संख्या घट्ने भएकाले ठूलो छुटमा अफर ल्याएको द क्लिफका अध्यक्ष राजु कार्कीको भनाइ छ। अफरअन्तर्गत सोही रकममा काठमाडौंबाट पोखरा र पोखराबाट काठमाडौंको टिकट समेत व्यवस्था हुने छ।
सोही रकममा ब्रेकफाष्ट पनि उपलब्ध गराउने छ। अफरअन्तर्गत एक रात पोखराको लेकसाइड होटल र एक रात बन्जीमा रहेको द क्लिफ रिसोर्टमा बास बस्न पाउने छन्।
अफर अनुसार बुद्ध एयरको जहाजमार्फत जाने र आउने व्यवस्था गरिएको छ। विमान स्थलसम्मको गाडी र पोखरा पुगेपछि लेकसाइड होटल र द क्लिफ रिसोर्ट कुस्मासम्म पुग्न पनि गाडीको व्यवस्था हुने छ। सोही रकममा ब्रेकफाष्ट पनि उपलब्ध गराउने छ। अफरअन्तर्गत एक रात पोखराको लेकसाइड होटल र एक रात बन्जीमा रहेको द क्लिफ रिसोर्टमा बास बस्न पाउने छन्।
पोखरामा रहेको रुपाकोट रिसोेर्टले यति एयरलाइन्ससँगको सहकार्यमा फ्लाई टु रुपाकोट रिसोर्ट भन्ने नारासहित मनसुन अफर ल्याइरहेको छ। रिसोर्टले दुई जनालाई एक रातको १९ हजार ९९९ र दुई रातका लागि २४ हजार ९९९ को प्याकेज ल्याइरहेको हो।
प्याकेजअन्तर्गत काठमाडौं‑पोखरा‑पोखरा‑काठमाडौंको दुईतर्फी टिकट, पोखरा विमानस्थलबाट रिसोर्टसम्म निःशुल्क सटलबस र ब्रेकफाष्ट उपलब्ध गराइरहेको छ। यो अफर नेपालीहरुलाई मात्र रहेको जनाएको छ।