काठमाडौं। पहिलो पटक आयोजना हुनै लाग्दा धेरै अटो व्यवसायीकाे नाइमा मोबिलिटी एक्स्पो २०२५ कस्तो होला र के होला भन्ने चासो र चिन्ता थियो।
चाडबाड पनि आइनसकेको र मुलुकमा बाढी पहिरोको चिन्ता बढी रहेको बेला साउनको मध्यमा नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसीएसन नाइमाले आयोजना गरेको मोबिलिटी एक्स्पो अब एक दिन मात्र बाँकी छ। तर, पहिलो पटक आयोजना भएको एक्स्पोमा दर्शकको भीडले उत्साहीत हुँदै आयोजकले एक दिन समय लभ्याएको छ। अर्थात, साउन २६ गतेसम्म एक्स्पो चल्ने छ।
एक्स्पोमा सवारीसाधन बुकिङ र दर्शकको लर्कोले गर्दा व्यवसायी उत्साहीत मात्र भएका छैनन् अब अटो बजार चलायमान हुने आशा समेत राख्न थालेका छन्। पहिलो पटक आयोजना भएको नाइमा मोबिलिटी एक्स्पो अपेक्षाभन्दा राम्रो भइरहेको वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्य बताउँछन्।
‘पहिलो पटक आयोजना भए पनि ग्राहकको फ्लो एकदम राम्रो छ,’ सीईओ वैद्यले भने, ‘सुरुको दिन हाम्रो स्टलमा काउन्सेलिङका लागि १५ जना कर्मचारी थिए। तर, अवलोकनकर्ताको फ्लो बढेका कारण अहिले ३० जना पुर्याएका छौं, हामीले प्रदर्शनीमा राखेको टोयोटाका मोडल अन्य सवारीको तुलनामा महँगो छ। त्यहीँ पनि राम्रो बुकिङ भइरहेको छ।’

अहिलेसम्म टोयोटाको २० भन्दा बढी बुकिङ भएको वैद्यले बताए। उनका अनुसार एथरको अहिलेसम्म १०० भन्दा बढी बुकिङ भएको छ। टोयोटाको पनि हाइब्रीडमा सबैभन्दा राम्रो भइरहेको छ।
पछिल्लो समय विशेषगरी विद्युतीय सवारी (ईभी) मा ग्राहकको बढ्दो आकर्षणले पनि मोबिलिटी एक्स्पो राम्रो बनेको देखिन्छ। एक्स्पोमा ईभी गाडीमा बढी दर्शक झुम्मिरहेका छन्। दुईपांग्रे, चारपांग्रे नयाँनयाँ मोडल हेर्न आएका ग्राहकको आगमनले व्यवसायी उत्साहीत बनेका हुन्।
एसक्युब इन्टरप्राइजेजका म्यानेजिङ डिरेक्टर शम सापकोटाले नाइमा मोबिलिटी एक्स्पोको व्यवस्थापन एकदम राम्रो फ्लोमा गइरहेको बताउँछन्। ‘अहिलेसम्म गाडीको बुकिङ त्यति धेरै छैन। तर, ग्राहकको फ्लो एकदम राम्रो छ’, म्यानेजिङ डिरेक्टर सापकोटा भन्छन्, ‘पहिलो नाइमा अटो शो भएकाले धेरै ग्राहक यहाँ अवलोकन गर्ने र नाडा अटो शो भएपछि त्यो पनि हेर्ने र कुन गाडी खरिद गर्ने भन्ने सोचमा छन्।’
पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनिलबहादुर क्षेत्री पहिलो पटक आयोजना भएको नाइमा एक्स्पो सोचेभन्दा राम्रो भइरहेको बताउँछन्। ‘अहिलेसम्म एकदम राम्रो भइरहेको छ। हाम्रो बुकिङ पनि राम्रो नै छ’ उनले भने, ‘गाडीको बुकिङ सन्तोषजनक नै छ।’
शनिबारसम्म ७० हजारले गरे अवलोकन
बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पोमा शनिबारसम्म ७० हजार अवलोकनर्ताले एक्स्पो भिजिट गरेको नाइमाले जनाएको छ।
प्रदर्शनीको पहिलो दिन बुधबार १५ हजारले अवलोकन गरेको एक्स्पो दोस्रो दिन बिहीबार १३ हजार ५००, तेस्रो दिन शुक्रबार १९ हजार ५०० र शनिबार साढे २१ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ। नाइमा मोबिलिटी एक्स्पोमा ५० ब्रान्डका ४८ वटा स्टलमा विभिन्न ब्रान्डका सवारीसाधन प्रदर्शनी गरिएको छ।


