बागलुङ। बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ। गत असारदेखि भदौ १५ सम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ।
कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्न बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ। स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थ मध्यरातमा समेत दोहन गरिरहेका छन्।
शनिबार राती ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहोन भइरहको थियो। एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए।
बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर नदी छेउमै भण्डारण गरिएको देख्न सकिन्छ।
बर्खाको समय उर्लेको कालीगण्डकीले ल्याउने बालुवा अवैध रुपमा संकलन गरी हिउँदभरि उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्दै आइरहेका छन्। नदीजन्य पदार्थ रातीमा संकलन गरिरहेका स्थानीय बताउँछन्।
अहिले बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र भाटेखोला–१३ नम्बर वडाको कालाखोला बगरलगायत स्थानमा दोहन भइरहेको कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीले बताए। अवैध नदी दोहान भइरहँदा स्थानीय सरकारले कडाइ गर्नुपर्नेमा उनले जोड दिए।
म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डकी दोहोनले शालिग्राम शिलासमेत संकटमा परिसकेका गिरीले उल्लेख गरे। पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहन भइरहेको छ भने बागलुङतर्फको सहस्रधारापारिको भाटेखोला, खनियाघाट र दब्ल्याङ क्षेत्रमा दोहन भइरहेको उनको भनाइ छ।
असारदेखि भदौ १५ सम्म दोहन गर्न नपाइने कानुनी व्यवस्था भए पनि मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समय कालीगण्डकी नदीको दोहन भइरहँदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकअर्कालाई दोष दिएर पन्छने गरेका गिरीले बताए।
नदी दोहन रोक्नका लागि पटकपटक नागरिक स्तरबाट भइरहेका प्रयासलाई सम्बन्धित निकायले बेवास्ता गरेका उनको भनाइ छ । उनका अनुसार प्रहरी प्रशासन र स्थानीय तहको मौनताका कारण दोहनले प्रश्रय पाइरहेको हो।
‘प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव छैन, मालढुंगामा प्रहरी छ, नजिकै दोहान भइरहेको छ’, गिरीले भने, ‘गण्डकी सभ्यता जोगाउन कालीगण्डकीलाई दोहनमुक्त बनाएर संरक्षणको सूचीमा राखौं।’ दोहनलाई प्रश्रय दिँदा कालाखोला बगर कटान भइसकेको छ भने स्थानीय निकायको राजस्व गुमिरहेको छ।
कालीगण्डकीको बीच भागबाट नदी दोहन भइरहँदासमेत बागलुङ र पर्वतका सरोकारवाला निकायले कुनै चासो नदिएका गिरीले गुनासो गरे। ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी तथा खोला किनारबाट ५०० मिटर टाढा मात्रै ढुंगा, गिटी, बालुवा उत्खनन गर्न पाइने व्यवस्था भए पनि नदीको बीच भागबाटै दोहन भइरहेको उनको भनाइ छ।
गिरीले सभ्यताको सूचक मानिने कालीगण्डकी नदी नासिनु भनेको मानव सभ्यता नासिनुजस्तै रहेको बताए। पारिस्तिथिक प्रणाली खल्बलाउनु र प्राकृतिक सम्पदा नास्ने अधिकार कोही कसैलाई नभएको बताउँदै गिरीले कालीगण्डकी नदी सभ्यता बचाउन सबैले राज्य तहलाई जनदबाब र पैरवी गर्नुको विकल्प नरहेको धारणा राखे।
नियमविपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुंगा तथा कालाखोला बगर क्षेत्रका घर बाढीको उच्च जोखिममा पर्न थालेका छन्।
नदीजन्य पदार्थ सुरक्षाका लागि प्रहरी परिचालन भए पनि दोहन रोक्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले स्वीकारे।
स्थानीय तहले ठेक्का लगाउन नसक्ने, राजस्व गुम्ने डरलगायत कारणले दोहन नरोकिएको बताउँदै उनले नयाँ रणनीति बनाएर नदी दोहन भइरहेको स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना रहेको जानकारी दिए।–रासस