काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल कारखाना स्थापनामा चासो देखाएका छन्। साउन २७ गते कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र सचिवहरुको छलफलका क्रममा रासायनिक मल कारखानामा चासो देखाएका हुन्।
कृषि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मल कारखाना स्थापनाका लागि गर्नुपर्ने कार्यहरूको खाका तयार पारी पेस गर्न लगायत तीन बुँदे निर्देशन प्रधानमन्त्रीले दिएका छन्। प्रधानमन्त्री ओलीले मल आपूर्ति, प्राङ्गारिक कृषि, उद्योग मन्त्रालयसँग समन्वय गरी मल व्यवास्थापनको योजना बनाउन निर्देशन दिइएको मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले बताए।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले रासायनिक मलको आपूर्ति, प्राङ्गारिक कृषि उत्पादनको राष्ट्रिय अभियान र रासायनिक मल स्थापनाको सम्बन्धमा तीन दिनभित्र ठोस कार्ययोजना पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।’ उनले भने।
बैठकमा मन्त्रालयका अधिकारीहरूले हालको मलको आयात, वितरणको अवस्था, बजेट र समस्याहरूबारे विस्तृत जानकारी प्रस्तुत गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को लागि ६ लाख मेट्रिक टन मलको लक्ष्य भए पनि हालसम्म ३ लाख मेट्रिक टनको मात्रै टेन्डर हुन सकेको छ।
किसानले पर्याप्त मात्रामा मल नपाएको समस्या समाधान गर्न र आपूर्ति सुनिश्चित गर्नका लागि एक ठोस कार्ययोजना ल्याउने तयारीमा लागि परेको डा. श्रेष्ठले बताएका छन्। यसका साथै, रासायनिक मलमाथिको निर्भरता कम गरी प्राङ्गारिक कृषि उत्पादनलाई बढावा दिन राष्ट्रिय अभियानको लागि ठोस योजना बनाउने बताएका छन्। ‘प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्नका लागि तत्काल काम सुरु भइसकेको छ र पहिलो बैठक भोलि बिहान बस्ने तयारी छौं।’ श्रेष्ठ भन्छन्।
कृषि तथा पशुपन्छि मन्त्रलायका अनुसार अहिले ४९ हजार २८९ मेट्रिक टन छ। यसमध्ये साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग १३ हजार ३९० टन छ भने, कृषि सामाग्री कम्पनी लिमिडेटसँग ३५ हजार ८९८ टन रहेको मन्त्रालयले जनाएको छ।
१ लाख २१ हजार ३२५ टन रासायनिक मल बाटोमा रहेको मन्त्रालयले जनाएको छ। वार्षिक १३ लाख मेट्रिक टनको आवश्यकता हुँदा उपलब्ध बजेटले ३.५ लाख मेट्रिक टन पनि आयात गर्न कठिन हुने देखिएको डा. श्रेष्ठ बताउँछन्। बजेटको अपर्याप्तता कारण आवश्यक मल आपूर्तिमा कठिनाई देखिएको छ। यसका लागि बजेट बढाउनुपर्ने वा मलको मूल्य समायोजन गर्नुपर्ने विकल्पमा पनि छलफल भएको उनले क्यापिटल नेपाललाई बताए।।