काठमाडौं। मनोज कुमार गुप्ताले एक वर्षको अवधिमा साढे एक अर्ब मूल्य बराबरको चामल बिक्री गरेका छन्। उनले शिव पार्वती एग्रोको प्रशोधन गरेको कमल रोशनी, गोरखनाथ र बाँसबारी ब्रान्डको चामल बिक्री गरेर आर्थिक वर्ष २०२४/२५ मा एक अर्ब ४४ करोड १० लाख रुपैयाँ आम्दानी गरेका हुन्।
एग्रोले आव २०२४ मा एक अर्ब ७१ करोड ६० लाख, आव २०२३ मा एक अर्ब २१ करोड ९० लाख र आव २०२२ मा ३१ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीको आम्दानी गत वर्षयता एक वर्षको अवमिा १६ प्रतिशतले घटेको हो। समग्र अर्थतन्त्रमा मन्दीको प्रभाव हुँदा कम्पनीमा असर परेको देखिन्छ। अघिल्लो वर्ष कम्पनीको व्यापार ४१ प्रतिशतले वृद्धि भएको थियो।
सन् २०१९ मा बाराको पर्साउनीमा स्थापना भएको शिव पार्वती एग्रोको एकल सेयरधनी मनोज कुमार गुप्ता हुन्। धान प्रशोधन गरेर चामल बनाउन एग्रोको ११ मेट्रिक टन प्रतिघन्टा क्षमता रहेको प्लान्ट छ।
धानलाई प्रशोधन गरी चामल बनाएर बिक्री गर्नुका साथै कम्पनीले चामल खरिद गरेर ‘एजिङ’ गर्ने, धान र चामलका उप-उत्पादन कनिका भुसको अन्य प्रोडक्ट तयार गरेर मूल्य वृद्धि गरी बिक्री गर्छ।
चामलसँगै पशु आहाराहरू कनिका, भुस, ढुटो बिक्री गरेरसमेत राम्रो आम्दानी गरेको छ। यी खाद्य वस्तुको माग नेपाली बजारमा सधैँ हुँदा शिव पार्वती एग्रोले वर्षेनी अर्बौंको कारोबार गर्दै आएको छ
एग्रोले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्समा गराएको रेटिङमा कर्जा सीमा एक अर्ब ३५ करोड रुपैयाँ निर्धारण गरिएको छ। जसमा कम्पनीले अल्पकालीन कर्जाका लागि ‘डबल बि माइनस’ र दीर्घकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ प्राप्त गरेको छ।