काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संघ, प्रदेश र स्थानीय तहमा सम्पादन हुने कामहरुलाई प्रभावकारी बनाउन समन्वयात्मक ढंगबाट सम्पादन गर्ने प्रणालीको विकास गरिएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले तीनतहको सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तह ऐन, २०७७ को व्यवस्थाअनुरुप उद्योगमन्त्रीको अध्यक्षतामा विषयगत समितिको बैठक आगामी भदौ दोस्रो साता सम्पन्न गर्नेगरी तयारी भइरहेको जानकारी दिए।
उद्योगमन्त्री भण्डारीले भैरहवा र सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा रहेको उल्लेख गर्दै भैरहवा सेजमा रहेका सबै प्लटहरुमा उद्योग स्थापनाको लागि अनुमति प्रदान गरिसकिएको जानकारी दिए। भैरहवा सेजबाट निर्यात बिक्री चार अर्ब ४५ करोड, आन्तरिक बजारमा बिक्री दुई अर्ब २० करोड गरी कूल ६ अर्ब ६५ करोड रकम बराबरको उत्पादन बिक्री भइसकेको उनले जानकारी दिए।
मन्त्री भण्डारीले सिमरा विशेष आर्थिक क्षेत्रको सबै प्लटहरुमा उद्योग स्थापनाको लागि अनुमति प्रदान गरिएको जानकारी दिँदै हालसम्म सिमरा सेजबाट कूल एक अर्ब ६ करोड रकम बराबरको उत्पादन बिक्री भइसकेको बताए।
विशेष आर्थिक क्षेत्रमा उद्योगहरु स्थापना भई आर्थिक गतिविधि थप चलायमान भएको, निर्यात प्रवद्र्धनमा टेवा पु¥याएको, देशको औद्योगिक विकास तथा रोजगारी सिर्जना गर्ने कार्यमा सेजको महत्वपूर्ण योगदान रहेकाले विशेष आर्थिक क्षेत्रको औचित्य पुष्टि हुँदै गएको उनले उल्लेख गरे।
मन्त्री भण्डारीले मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानहरुको परिचालन गरी अत्यावश्यकीय वस्तु सुनिश्चित गरिएको तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न बजारमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गरिएको र सो प्रयोजनका लागि सम्बद्ध निकायहरुलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।