काठमाडौं। सवारी साधनको कुम्भ मेलाको रुपमा लिइने नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा संचालन हुँदै छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजित १७ औँ संस्करणको नाडा अटो शोमा आधा दर्जनभन्दा बढी नयाँ मोडल र केही नयाँ ब्रान्ड सार्वजनिक हुने नाडाले जनाएको छ।
नाडा अटो शो २०२५ मा सार्वजनिक हुने पक्का भएका गाडीमध्ये सबै विद्युतीय रहेका छन्। गत वर्ष १६ औँ संस्करणको नाडा अटो शोमा पनि इभीकै वर्चस्व थियो। यस वर्ष पनि त्यसले निरन्तरता पाउने देखिएको छ। गत सोमबार सकिएको नाइमा मोबिलिटी एक्स्पोमा पनि इभीकै वर्चस्व रहेको थियो। इन्धन गाडीतर्फ हालसम्म नाडामा कुनै पनि ब्रान्डले नयाँ मोडल ल्याउने तयारी गरेको छैन।
अटो शोलाई भव्य बनाउन ३६ ब्राण्डका सवारीसहित पहिलो पटक रोबोटदेखि फ्लाइङ कारसम्म प्रदर्शन गर्न लागिएको नाडाले जनाएको छ। अटो शोमा १९ चार पांग्रे, १३ लाइट कमर्शियल र ४ दुई पांग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन्। त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने छन्।
अटो शोमा नाइमा मोबिलिटी एक्स्पोमा लोकप्रिय बनेका ब्रान्डसँगै नयाँ उत्पादनबीचको रोचक उपस्थिति र प्रतिस्पर्धाले नेपाली अटो बजारलाई अझ चलायमान बनाउने अपेक्षा गरिएको छ। नाडा अटो शोमा गाडी बिक्रेताहरू आकर्षक ‘लुक्स’ र मध्यम-स्तर मूल्य तोकिएका सवारी साधनतिर ग्राहक तान्न कस्सिएका छन्।
बिवाइडी अटो-२
नेपालका लागि बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोमा सोकेसका लागि बिवाइडी एटो-२ नेपाल भित्र्याइसकेको छ। एटो-२ बिवाइडीको ई-प्लेटफर्म ३.०मा बनेको हो। यसको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ।
बिवाइडी एटो-२ मा ४१.१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री दिइएको छ। डब्लुएलटीपीअनुसार यो गाडीले एक पटको फुल चार्जमा ३१२ किलोमटिर रेन्ज दिनेछ।
यसको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ। यसमा १४३० लिटरको बुट स्पेस पाउन सकिन्छ। यसमा १७ इन्चको अलोय ह्विल, १०.१ इन्च वा १२.८ इन्चको घुम्ने इन्फोटेनमेन्ट स्क्रिन, ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरालगायतका फिचरहरु यसमा छन्।
जिली इएक्स-५
१७ औँ संस्करणको नाडा अटो शो २०२५ मा सार्वजनिक हुने नयाँ ब्रान्ड जिली हो। चीनको ठूलो अटोमोबाइल कम्पनी जिली अटो होल्डिङ ग्रुपको उत्पादन जिली ईएक्स-५ सिरिज नेपाली बजारमा भित्रिसकेको छ।
नेपालका लागि जिलीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले जिलीका दुई मोडल इएक्स-५ प्रो र जिली इएक्स-५ म्याक्स ‘नाडा अटो शो २०२५’लाई लक्षित गरी नेपाली बजारमा भित्र्याएको हो।
एलआरआर मोटर्सले जिली इएक्स-५ प्रोको मूल्य ५८ लाख र इएक्स-५ म्याक्सको मूल्य ६८ लाख रुपैयाँ निर्धारण गरेको छ। जिलीको दुवै मोडलमा ६०.२ किलोवाट आवर क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ। जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षित मानिन्छ।
यी दुवै मोडलमा १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसको सिएलटिसी परीक्षणअनुसार गाडीको रेन्ज ५३० किलोमिटर र डब्लुएलटिपी मापनअनुसार ४३० किलोमिटर रहेको कम्पनीले जनाएको छ। जिलीले शून्यदेखि १०० किलोमिटरको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ।
जिली इएमएएक्स–५को बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ। जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्। यसको इन्टेरियरमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ जस्ता फिचरहरु पाउन सकिन्छ।
जिली ईएक्स-५ प्रो र म्याक्स दुवै मोडलमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्टलगायतका सुरक्षा प्रविधिहरू समावेश छन्।
साथै, जिलीले आफ्नै विकसित फ्लाइमी अटो ओएस-स्मार्ट ककपिट अपरेटिङ सिस्टम प्रयोग गरेको छ। जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ। कम्पनीले ब्याट्रीमा आठ वर्ष वा २ लाख किलोमिटरसम्म वारेण्टी दिएको छ।
डिपल एस-०५
नाडा अटो शोबाट बजारमा इन्ट्री मार्ने अर्काे मोडल डिपल एस-०५ हो। नेपालका लागि डिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले डिपल एस-०५ नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ।
एस-०५ मा पहिलो पटक सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ। जसको लाइफस्टाइम ६ लाख किलोमिटर छ। एस-०५ मा ५६.१२ किलोवाट आवरको ब्याट्री दिइएको छ।
यसमा भएको ब्याट्रीले एक पटको फुल चार्जमा ४७० किलोमिटरसम्मको रेन्ज दिने डब्लुटिपीले प्रमाणित गरेको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसले ३२० एनएम टर्क उत्पादन गर्दछ।
यसको लम्बाई ४६२० एमएम, चौडाई १९०० एमएम र उचाई १६०० एमएमको रहेको छ। यो ईभी २८८० एमएमको ह्विलबेस रहेको छ। यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ।
एस-०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ। जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्ने छ। यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ। जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्सलाई बढाउने छ।
यो मोडलमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ। जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिडलगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउँछ।
नामी-०६
डोङफेङ ग्रुपअन्तर्गतको नामी-०६ नेपाली बजारमा आइसकेको छ। नेपाली बजारमा डोङफेङ नामी गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यसअघि नामी-०१ नामबाट ह्याचब्याक कार बिक्री गर्दै आएकोमा अब नयाँ मोडल नामी-०६ एसयूभी नेपाल ल्याएको हो।
एमएडब्लूले नामी-०६ एसयूभी ई-१, ई-२ र ई-२ प्लस गरी तीन भेरियन्ट ल्याउने जनाएको छ। नामी-०६ ई-१ र ई-२ मा ४४.९४ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसको टप भेरियन्ट ई-२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री उपलब्ध छ।
कम्पनीले भन्सार प्रयोजनका लागि ई-१ भेरियन्टको मूल्य ५७ लाख ९९ हजार, ई-२ को मूल्य ६० लाख ९९ हजार र ई-२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। नामी-०६ एसयूभीको लम्बाई ४३०६ एमएम, चौडाई १८६८ एमएम र उचाई १६४५ एमएम छ। यसमा २७१५ एमएम लामो ह्विलबेस पाउन सकिन्छ।
यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, भ्येन्टिलेटेड र मसाज सिट दिइएको छ। एडास फिचरसहित उपलब्ध हुने नामी-०६ एसयूभीमा पानारोमिक सनरुफ, फोल्डेबल सिट, १२८ कलरमा सजिएको एम्बियन्ट लाइट पाउन सकिन्छ।
टाटा ह्यारियर
टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ह्यारियर इभी (एचफाइभ इभी)का रुपमा अटो शोमा राख्ने जनाएको छ। टाटाको ह्यारियर इभीमा ६५ किलोवाट र ७५ किलोवाट गरी दुई ब्याट्री अप्सन दिइएको छ। कम्पनीका अनुसार गाडीले शून्यदेखि १०० किमी प्रतिघन्टा गति ६.३ सेकेन्डमै लिन सक्छ।
यस्तै, रियर-ह्विल ड्राइभ मोडलले अधिकतम ५०५ किलोमिटरको रेन्ज दिनसक्ने बताइएको छ भने क्वाड ह्विल ड्राइभ भेरियन्टले ६२७ किलोमिटरसम्म रेन्ज दिन सक्ने कम्पनीले बताएको छ।
कम्पनीले ह्यारियर इभीलाई फरक देखाउन सिल्ड अपर ग्रिल, कर्भ इभीको जस्तै क्रोम ट्रिम भएको एयरड्याम, १९ इन्चको ह्विल, फ्रन्ट डोर र टेलगेटमा ह्यारियर इभीको ब्याजिङ आदि विशेषता छन्। यसको इन्टेरियरमा ड्युल टोन ड्यासबोर्ड, टच बेसको एचभीएसी कन्ट्रोल, फ्लोटिङ टचस्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फोर स्पोक स्टेरिङ ह्वील आदि रहेका छन्। प्यानारोमिक सनरुफ, टेरेन मोड, इलेक्ट्रिक पार्किङ ब्रेकलगायत विशेषताले ह्यारियर ईभीलाई उत्कृष्ट देखाएको छ।
गाडीमा १४.५३ इन्चको टचस्क्रिन, वायरलेस चार्जिङ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, अटोमेटिक पार्किङ, सात एयरब्याग, ५४० डिग्री क्यामेरा र २० भन्दा बढी एडासलगायतका फिचर पाउन सकिन्छ।
सुजुकी ई-भिटारा
नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले आगामी नाडा अटो शोमा सुजुकीको पहिलो विद्युतीय सवारी साधन इभी सोकेस गर्ने जनाएको छ। मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार मोडल ई-भिटारा गत जनवरीमा भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको थियो।
एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको सुजुकी ई-भिटारा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा पाँच सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यो फ्रन्ट ह्विल ड्राइभ अप्सनमा १०६, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा आउने छ।
ई-अलग्रिप अप्सन भएको अल ह्विल मोटर ई-भिटारामा भने अगाडि १३५ र पछाडि ४८ किलोवाटको मोटरमा आउने कम्पनीले जनाएको छ। ई-भिटाराको लम्बाई ४२७५ एमएम, चौडाई १८०० एमएम र उचाई १६३५ एमएम छ।
ई-भिटाराको क्याबिनमा ड्युअल स्क्रिनका साथ नयाँ अपरेटिङ सिस्टम वा युजर इन्टरफेस दिइएको छ। गाडीमा टचस्क्रिन सुविधा मात्र नभई डिजिटल डायल धेरै इन्फोर्मेटिभ हुने बताइएको छ। पछिल्लो भागमा स्प्लिट फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट र सबै यात्रीका लागि थ्री-पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्टलगायत सुविधा उपलब्ध छ।
गाडीमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्विल ड्राइभ भर्सनका लागि ‘ट्रेल’सहित ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र एडासजस्ता सेफ्टी फिचर रहेका छन्।
एक्सपेङ एक्स-९
एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले एक्सपेङ एक्स-९ भदौ ३ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२५ मा सार्वजनिक गर्ने भएको छ।
एक्सपेङ एक्स-९ मा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ। यसको डब्लूएलटीपी रेन्ज ४८० किलोमिटर छ। यसमा २३५ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर छ। एक्सपेङको एक्स-९ एमपीभीको लम्बाई ५२९३ एमएम, चौडाई १९८८ एमएम र उचाई १७८५ एमएम छ।
यसको क्याबिनमा रियर प्यासेन्जरका लागि सिलिङ माउण्टेड २१.४ इन्चको फोल्ड डाउन फिचर भएको थ्री के रेजुलुसन डिस्प्ले दिएको छ। प्यानारोमिक सनरुफ, फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल पाउन सकिन्छ। यसमा अगाडि डबल विसबोन र रियरमा मल्टिलिंक इन्डिपेन्डेन्ड सस्पेनसन छ। यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम रहेको छ।