सरकारले आगामी असोज १ देखि सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। पहिले हातले लेखिने परम्परागत नम्बर प्लेट सजिलै हटाउन वा फेर्न सकिने हुँदा सवारीसाधन चोरी भई आपराधिक क्रियाकलापमा प्रयोग हुने सम्भावना बढी हुने सरकारको ठम्याइ छ। इम्बोस्ड नम्बर प्लेटमा रहेको आरएफआईडी चिपले सवारीसाधन आउजाउलाई ट्रयाक गर्न मद्दत गर्छ, जसले गाडी हराए वा चोरी भए त्यसलाई पत्ता लगाउन सजिलो हुन्छ। यसले कुन गाडी कहाँ गइरहेको छ भन्ने वास्तविक तथ्यांक प्राप्त गर्न पनि सहयोग पुर्याउँछ।
आगामी असोज १ देखि नयाँ दर्ता, नामसारी र सवारी नवीकरणका लागि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिनेछ। कस्ता सवारीसधनमा कतिसम्म खर्च लाग्ने, स्मार्ट लाइसेन्स वितरणमा देखिएका समस्या, इम्बोस्ड नम्बर प्लेट किन आवश्यक छ, इम्बोस्ड नम्बर प्लेटमा नेपाली वा अंग्रेजी भाषा प्रयोगजस्ता विषयमा केन्द्रित रहेर जडानको तयारीबारे यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग क्यापिटलकर्मीद्वय सरिता थारु र कमला भण्डारीले गरेको कुराकानीको सारः
सरकारले आउँदो असोजबाट अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने योजना बनाएको छ। इम्बोस्ड नम्बर प्लेट नागरिकले कसरी बुझ्ने?
इम्बोस्ड आधुनिक नम्बर प्लेट हो, जुन परम्परागत नम्बर प्लेटभन्दा फरक हुन्छ। सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ। यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो। हाल सवारीसाधनमा प्रचलनमा रहेभन्दा फरक स्वरुपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ।
यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चिप्सभित्र पनि सवारीधनी र सवारीका विभिन्न विवरण समेटिएका हुन्छन्। यसमा प्रयोग गरिएका अक्षर र अंक मेसिनबाट उठाइएका हुन्छन् र यसमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) चिप जडान गरिएको हुन्छ। पहिले हामी परम्परागत नम्बर प्लेट प्रयोग गथ्र्यौं, जुन हातले लेखिन्थ्यो।

त्यसले नम्बर फरक–फरक हुन्थे। गाडी चोरी भए सजिलै नम्बर प्लेट फेर्न सकिन्थ्यो। ती गाडी आपराधिक कार्यमा प्रयोग हुन सक्ने सम्भावनासमेत देखिन्थ्यो। यसका साथै गाडीको ट्रयाक राख्न पनि समस्या थियो। त्यसैले सरकारले गाडीको ट्रयाकिङ गर्न सकिने र सबै गाडीमा एकरुपता ल्याउन सकिने इम्बोस्ड नम्बर प्लेटको अवधारणा ल्याइएको हो। १० वर्षसम्म त्यहीँ रहिरहन्छ।
यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ, जसलाई सबैले सहजै देख्न सक्छन्। प्लेटमा लेखिएका अक्षर बाहिर देखिने गरी उठेका हुन्छन्। यो बलियो र किफायती हुनेछ। यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन। त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन।
सवारीसाधन चोरी हुनबाट रोक्न, ट्रयाक गर्न इम्बोस्ड नम्बर प्लेट जडानको आवधारणा ल्याइएको भन्नुभयो। विभागसँग ट्रयाकिङ प्रणाली छ?
इम्बोस्ड नम्बर प्लेटको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) ट्रयाक पढ्न काठमाडौंको नागढुंगा र नुवाकोट जाने बाटोमा गेट जडान भइसकेको छ।
काठमाडौंमा थप दुई ठाउँमा यस्ता गेट बनाउने काम भइरहेको छ। यसबाहेक वीरगञ्ज, पोखरा, बुटवललगायत १० वटा ठाउँमा पनि गेट जडान गरिनेछ। यसबाट गाडीको आवागमन ट्रयाक गर्न सजिलो हुनेछ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट किन जडान गर्ने?
पहिलेको परम्परागत नम्बर प्लेट हातले पेन्टिङ गरेर लेख्ने चलन थियो। यसले नम्बर प्लेट फरक पर्ने हुन्छ। जस्तै, सवारीसाधन चोरी भयो भने नम्बर हटाएर अर्को नम्बर प्लेट राख्न सकिन्छ। त्यस्ता सवारीसाधन अपराधमा प्रयोग हुनेलगायतका विभिन्न समस्या देखिन थालेका थिए। पुरानो नम्बर प्लेट जडान गरिएका सवारीसाधनको ट्रयाक गर्न समस्या देखिएको थियो। व्यक्तिको सवारीसाधन चोरी भयो वा कसैले अन्यत्र लग्यो भने गाडी कता पुगे भनेर ट्रयाक गर्न सकिएको थिएन। यसले गर्दा विभिन्न प्राकृतिक प्रकोपमा पनि गाडी हराइरहेका छन्।
सरकारले यस्ता घटाना नियन्त्रण गर्न र नम्बर प्लेटमा एकरुपता कायम गर्न इम्बोस्ड नम्बर प्लेट ल्याउन लागिएको हो। यो नम्बर प्लेट मेसिनद्वारा बनाइएको हुन्छ। यसले गर्दा कपी गर्न मिल्दैन। एकचोटि जोडिसकेपछि त्यसलाई हटाउन नमिल्ने भएकाले सवारीसाधन चोरी हुँदैनन्। इम्बोस्ड नम्बर प्लेट मेसिनबाट बनाइने भएकाले सजिलै कपी गर्न वा हटाउन मिल्दैन, जसले गाडी चोरी हुने सम्भावना कम हुन्छ।
सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ। यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो।
गाडी चोरी भए वा हराए पनि यसलाई ट्रयाक गर्न सजिलो हुन्छ। सबै गाडीमा एकै किसिमको नम्बर प्लेट प्रयोग हुने भएकाले यसले यातायात व्यवस्थापनमा एकरुपता ल्याउँछ। यसका साथै, इम्बोस्ड नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) ट्रयाक जडान गरिएको हुन्छ, जसले गाडीको आवागमन ट्रयाक गर्न मद्दत गर्छ। यसबाट कुन गाडी कहाँ गइरहेको छ भन्ने वास्तविक तथ्यांक प्राप्त गर्न सकिन्छ।

यो प्लेट अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको हुन्छ, जसले नेपालका गाडी विदेश जाँदा वा विदेशी गाडी नेपाल आउँदा नम्बर प्लेट पढ्न सहज हुन्छ। हामी डिजिटल युगमा पुगिसकेका छौं। हामीसँग डाटाको एकदमै अभाव छ। करिब ६० लाख गाडी छन्। ६० लाखमध्ये २० लाख गाडी प्रयोगमा छैनन्, बिग्रेका छन्। हामीलाई रियल डाटा, रियल बेस्ड डाटा चाहियो। डिजिटल युगमा जाँदा गाडी कुन–कुन गुडिरहेका छन्, कहाँ कता गुडिरहेका छन् भन्ने कुराको रेकर्ड चाहिन्छ। त्यसका लागि हामीले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेका हांै।
हालसम्म कस्ता सवारीसाधनमा इम्बोस्ड नम्बर लागू गरिएको छ?
अहिलेसम्म करिब १ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ। हामीले कुल २५ लाख गाडीका लागि ५० लाख प्लेट (अगाडि र पछाडि) छाप्ने सम्झौता गरेका थियौं। अहिले ६ लाख जति प्लेट इम्बोस्ड नम्बर छापिसकेका छौं। बाँकी १९ लाख इम्बोस्ड नम्बर धमाधम छापिइने प्रक्रियामा छ।
यो काम मागअनुसार चरणबद्ध रूपमा अगाडि बढ्छ। जस्तै, गण्डकीमा हामीले २० हजार प्लेट पठाएका छौं। त्यहाँ छापिइसकेको छ। नम्बर प्लेट जडान गरिसकेपछि प्रदेशले फेरि कति आवश्यक पर्छ, माग गर्छ। उसको मागअनुसार एम्बोस्ड नम्बर छाप्छौं र पठाउँछौं। यो प्रक्रिया जारी छ।
इम्बोस्ड नम्बर प्लेट आगामी असोज १ देखि देशभरका सबै सवारीसाधनमा अनिवार्य भनिएको छ। सम्भव छ?
असोज १ देखि यसलाई कार्यान्वयनमा लिएर जानुपर्छ। त्यो कार्यान्वयनमा लिएर जाँदा नयाँ नयाँ दर्ता हुने बाइक, गाडी किने इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ। भर्खरै सकिएको नाइमा अटो शोमा कुनै कसैले गाडी किन्यो भने उसले दर्ता गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्यो।

त्यस्तै, सवारीसाधन नामसारी गर्दा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने हुन्छ। आगामी असोज १ देखि नयाँ दर्ता, नामसारी र नवीकरण गर्न आउने सबै सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिनेछ। यसको अर्थ असोज १ पछि यी सेवा लिन जाँदा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ। यो एकैचोटि सबैका लागि नभई सेवा लिने क्रममा क्रमशः लागू हुनेछ।
दुईपांग्रे सवारीसाधनमा सामान्य नम्बर प्लेट जडान गर्न ५०० रुपैयाँ हाराहारी खर्च हुन्छ भने इम्बोस्ड नम्बर जडान गर्दा महँगो पर्ने भनिन्छ। वास्तविक खर्च कति लाग्छ?
इम्बोस्ड नम्बर प्लेट जडान गर्दा कारका लागि करिब ३ हजार २०० र मोटरसाइकलका लाागि १ हजार ७०० देखि १ हजार ८०० रुपैयाँसम्म खर्च लाग्छ। योभन्दा बढी रकम तिर्नुपर्दैन।
इम्बोस्ड नम्बर प्लेट जडानमा भाषा विवाद देखिन्छ। अंग्रेजी वा नेपाली कुन भाषाको इम्बोस्ड नम्बर प्लेट जडान गरिने तयारी छ?
इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएको थियो। नेपाली भाषामा हुनुपर्छ भन्नु राष्ट्रियताको हिसाबले स्वाभाविकै हो। तर, नेपाली भाषामै राख्ने हो भने अन्तर्राष्ट्रिय पहिचान हुँदैन।
इम्बोस्ड नम्बर प्लेट मेसिनबाट बनाइने भएकाले सजिलै कपी गर्न वा हटाउन मिल्दैन, जसले गाडी चोरी हुने सम्भावना कम हुन्छ। गाडी चोरी भए वा हराए पनि यसलाई ट्रयाक गर्न सजिलो हुन्छ।
अन्तर्राष्ट्रिय पहिचानका लागि अन्तर्राष्ट्रिय भाषा नै चाहिन्छ, जुन अंग्रेजी भाषा नै हो। यो भाषा प्रयोग गर्दा अन्तर्राष्ट्रिय मापदण्ड र विदेशमा पनि गाडी ट्रयाक गर्न सहज हुने उद्देश्यले अंग्रेजी हुने निर्णय सम्मानित सर्वोच्च अदालतबाट भइसकेको छ।
इम्बोस्ड नम्बर प्लेट लिने प्रक्रिया के हुन्छ?
तपाईं गाडी दर्ता, नामसारी वा नवीकरण गर्न यातायात कार्यालयमा जानुभयो भने इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुनेछ। तपाईंले नम्बर प्लेटको राजस्व तिरेर नम्बर प्राप्त गर्नुहुन्छ र त्यसलाई आफ्नो अनुकूल समय जडान गर्न सक्नुहुन्छ।

इम्बोस्ड नम्बर प्लेट आफ्नो प्रदेशमा रहेका यातायात कार्यालय वा विभागअन्तर्गतको भेहिकल फिटनेस टेस्टिङ सेन्टरबाट जडान गर्न सकिन्छ। धेरै गाडी भएका कम्पनीका लागि शिविर सञ्चालन गरी एकै ठाउँ जडान व्यवस्था पनि मिलाइएको छ।
सवारीसाधन नामसारी गर्दा दिनभर नै खर्चिनुपर्ने अवस्था छ। यो नम्बर प्लेट जडान गर्न कति समय लाग्छ?
हामीले सकेसम्म लाइन बस्नु नपरोस्, छिट्टै र छरितो होस् भन्ने पक्षमै छौं। आफूले सेवा लिने ठाउँबाट इम्बोस्ड नम्बर प्लेटका लागि रसिद काट्नुभयो वा राजस्व बुझाउनुभयो भने अनुकूल समय जडान गरे पनि हुन्छ। त्यसकारण यो इम्बोस्ड नम्बर प्लेट जडान गर्न लाइन बस्नु नपर्ला। यसलाई हामीले व्यवस्थित बनाउनेछौं।
स्मार्ट लाइसेन्स दिन नसकेका बेला इम्बोस्ड नम्बर अनिवार्य किन भन्ने नागरिकको गुनासो बेलाबेला सुनिन्छ। इसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
लाइसेन्सको विषय उठाइरहेका छौं। कुनै पनि व्यक्तिसँग रसिद छ, उसलाई तुरुन्तै लाइसेन्स चाहियो भने २४ घन्टामै प्रिन्ट गरिरहेका छौं। जस्तो, वैदेशिक रोजगारमा जानेहरूको तत्काल लाइसेन्स प्रिन्ट गरिरहेका छौं। यस्तै, बागमतीबाहेक अन्य प्रदेशमा २०२३/२४ सम्मको पनि प्रिन्ट गरेर पठाइसकेका छौं।
बागमती प्रदेशको करिब १० लाख हाराहारी प्रिन्ट गर्न बाँकी छ। सबैले डिजिटल लाइसेन्स प्रयोग गरिरहेका छन्। यसलाई नागरिक एपसँग जोडेर डिजिटलाइज गरेका छौं। नागरिक एपमा डिजिटलाइज गरिसकेपछि लाइसेन्स मोबाइलमै आउँछ। ट्राफिकले त्यसैबाट चिट काट्छ। टिभीआरएस सिस्टम छ। त्यसबाट चिट काट्छ। त्यसैबाट अनलाइनबाट पेमेन्ट गर्न मिल्छ।
अहिले ६ लाख जति प्लेट इम्बोस्ड नम्बर छापिसकेका छौं। बाँकी १९ लाख इम्बोस्ड नम्बर धमाधम छापिइने प्रक्रियामा छ।
यसरी डिजिटलाइज्डमा गइसकेका छौं। डिजिटलाइजमा गइसकेकाले भौतिक लाइसेन्स आवश्यक एकदम कमी भएको छ। हाल जो रसिद लिएर हिँडेका छन्, उनीहरूको करिब २ लाख लाइसेन्स प्रिन्ट भएर कार्यालयमा थन्किएका छन्। एक जना सेवाग्रही हालै आउनुभयो। मलाई लाइसेन्स चाहियो भन्नुभयो। सिस्टममा हेर्दा उहाँको लाइसेन्स ६ महिना अगाडि प्रिन्ट भएर बुटवल गएको छ। अब आफैंले जहाँबाट निवेदन दिएको हो, त्यहाँबाट लिनुस् भन्दा अब को बुटवल गइरहनू, बरु मलाई रसिदै छ भनेर जानुभयो। हाम्रो भाष्य के भने लाइसेन्स उपलब्धै भएको छैन।
एमआरपी सरकारले छाप्न सकेको छैन। इभीएनपी, इम्बोस्ड नम्बरमा हामी कसरी यसलाई कार्यान्वयन गर्न सक्छौंँ भनेर नकारात्मक गयो। लाइसेन्स वितरणको समस्या होइन, इम्बोस्ड नम्बरको सकारात्मक पक्षलाई हेरेर कार्यान्वयनमा जानुपर्ने हुन्छ।
आमनागरिकले इम्बोस्ड नम्बर कहाँबाट लिन सकिन्छ?
इम्बोस्ड नम्बर लिने प्रक्रिया सहज छ। जस्तो, मेरो सवारीसाधन महेन्द्रगरको छ भने त्यहीँ जोड्न पाइयो। धनगढीको छ भने पनि त्यहाँ जोड्न पाइयो। कोसीमा छ भने त्यहीँ जोड्न पाइयो। आ–आफ्ना प्रदेशका यातायात कार्यालयमा जोड्न पाइन्छ। काठमाडौंमा हुनेले यहीँका विभिन्न यातायात कार्यालयबाट इम्बोस्ड नम्बर जडान गर्न सकिन्छ।

विभागअन्तर्गतका भेहिकल फिटनेस टेस्टिङ सेन्टर छन्। त्यहाँबाट पनि यो जोड्न सकिन्छ। यसका अलावा कसैले एकैपटक ५० वटा गाडी ल्याएर इम्बोस्ड नम्बर जडान गर्छु भने सोही क्षेत्रमा जडान गर्ने प्राविधिक खटाउने योजना छ। जस्तै, बसपार्कमा हुन सक्यो, कुनै कम्पनीको २० वटा, ३० वटा, ५० वटा गाडीमा इम्बोस्ड नम्बर जोड्नु छ भने हामी टिम नै पठाएर सेवा दिन्छौं।
१० वर्ष पहिलादेखि इम्बोस्ड नम्बर जडान विषय उठ्दै आएको छ। सुरुमा विदेशी कम्पनीलाई जडान जिम्मेवारी दिइएको थियो। आउँदो असोजबाट तिनै कम्पनीले इम्बोस्ड नम्बर जडान गर्ने हुन् कि सरकार आफैंले गर्ने हो?
सरकारले आफंैले जडान गर्दैन। हामीले जुन नम्बर प्लेट आयात गर्ने, नम्बर प्लेट छाप्ने जिम्मेवारी विदेशी कम्पनीलाई दिएका छौं। विदेशी कम्पनीलाई ठेक्का दिएपछि त्यो काम विदेशी कम्पनीले गर्छ। यो वर्षको मंसिरसम्म कम्पनीले इम्बोस्ड नम्बर जडान गर्ने ठेक्का सम्झौता गरेको छ। उनीहरूको फ्याक्ट्री पनि छ।
अहिले उत्पादन भइरहेको छ। काम गरिरहेका छन्। त्यसपछि २५ लाख उत्पादन गरेपछि उनीहरूले इम्बोस्ड नम्बर जडानको सम्पूर्ण सिस्टम सरकारलाई हस्तान्तरण गर्छन्। उनीहरूले उत्पादन मात्रै गर्ने काम हो। त्यसपछि प्रदेशमा पठाउने, जोड्न लगाउने सबै काम नेपाल सरकारको हो।
असोजपछि जसले इम्बोस्ड नम्बर प्लेट जडान गर्दैन, उनीहरुलाई कारबाही हुन्छ कि हुँदैन?
राज्यको नीति मान्नु हामी सबैको कर्तव्य हो। असोजदेखि इम्बोस्ड नम्बर नजोड्ने सबैलाई कारबाही गर्छौं भन्ने होइन। असोजदेखि इम्बोस्ड नम्बर प्लेट राज्यले दिन्छ। आफ्ूलाई अनुकूल समय जडान गर्न सकिन्छ।