काठमाडौं। नेपाल विद्युत प्राधिकरण (एनईए)ले आइतबार ४०औँ वार्षिक उत्साव मनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको आम्दानी बढेको छ, भने नाफा घटेको छ।
आर्थिक वर्ष २०८१/८२ मा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३ हजार ५९१ मेगावाट पुगेको छ। गत आर्थिक वर्षमा राष्ट्रिय प्रसारण प्रणालीमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत उपलब्ध भएको थियो।
जसमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत र स्वतन्त्र विद्युत उत्पादकको योगदान ५५ प्रतिशत रहेको थियो। ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो। नेपालको आन्तरिक विद्युत खपत अघिल्लोको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाटघण्टा पुगेको शाक्यले बताएका छन्।
भारततर्फ भएको विद्युत निर्यात अघिल्लो आ.व.को तुलनामा २२.३३ प्रतिशतले वृद्धि भई २ हजार ३८० गिगावाट घण्टामा पुगेको थियो। सोही अवधिमा नेपालले एक हजार ७१२ गिगावाट घण्टा विद्युत आयात गरेको थियो।
गत आर्थिक वर्षमा नेपाल बाट ६६८ गिगावाट घण्टा खुद विद्युत निर्यात भएको थियो। २०८२ असार १८ गते प्राधिकरणको प्रणालीमा सर्वाधिक माग दुई हजार ९०१ मेगावाट रेकर्ड गरिएको थियो। सोमध्ये दुई हजार २१४ मेगावाट स्वदेशमै खपत भएको थियो भने ६८७ मेगावाट भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ। सुक्खा मौसममा नदी प्रवाही आयोजनाहरूको उत्पादन घटेका कारण २०८१ पुस महिनामा भारतबाट अधिकतम २७४ मेगावाट विद्युत आयात गरिएको थियो।
गत आर्थिक वर्षमा प्राधिकरणको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७.१ लाख पुगेको छ। यसमा सामुदायिक ग्रामीण विद्युतीकरणमार्फत सेवा लिइरहेका झण्डै ४ लाख ७० हजार ग्राहकहरू समावेश नभएको प्राधिकरणले जनाएको छ।
कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकहरूको हिस्सा ९१.०८ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२३ प्रतिशत तथा अन्य ग्राहकहरुको हिस्सा ७.६९ प्रतिशत रहेको शाक्यले वार्षिक उत्साव कार्याक्रममा बताए।
राष्ट्रिय ग्रिड पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने प्रतिव्यक्ति वार्षिक विद्युत खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको छ। विद्युत चुहावटमा ०.४७ प्रतिशतले कमी आएको शाक्यले बताएका छन्। गत वर्षमा १२.२६ प्रतिशत कायम भएको छ। प्राधिकरणको औसत विद्युत बिक्री प्रतिग्राहक १८७३ युनिटबाट वृद्धि भई गत वर्षमा प्रतिग्राहक १९७८ युनिट पुगेको प्राधिकरणले जनाएको छ।
८.४६ प्रतिशतले बढ्यो विद्युत निर्यात
प्राधिकरणले ८.४६ प्रतिशत बढी विदुत निर्यात गरेको छ। विद्युत निर्यातबाट भएको आम्दानी १७ अर्ब ४७ करोड १० लाख रुपैयाँसहित गत आर्थिक वर्षमा प्राधिकरणले विद्युत बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको थियो। यो आम्दानी आघिल्ले आर्थिक वर्ष २०८०/८१ को तुलनामा ८.४६ प्रतिशतले बढी हो। अन्य श्रोतबाट प्राप्त आम्दानी सहित आर्थिक वर्ष २०८१/८२ को कुल आम्दानी १ खर्व ३८ अर्व ८७ करोड रहेको शाक्यले बताएका छन्।
आर्थिक वर्ष २०८१/८२ नेपालका लागि विद्युत व्यापारको क्षेत्रमा ऐतिहासिक वर्ष रहेको छ। यो वर्ष नेपाल, भारत र बङ्गलादेश बीचको त्रिपक्षीय सहमति अनुसार नेपालबाट ४० मेगावाटको विद्युत बङ्गलादेश निर्यात सुरु भएको छ। नेपालले भारतसँग पावर एक्सजेन्ज मार्केटमार्फत अवधि द्विपक्षीय सम्झौता तथा भारत-नेपाल विद्युत आदान प्रदान संयन्त्रमार्फत निरन्तर ऊर्जा व्यापार गर्दै आएको छ।
पछिल्लो पटक प्राप्त विद्युत खरिद अनुमति सहित भारत निर्यातका लागि ३० वटा जलविद्युत केन्द्रहरुबाट उत्पादन हुने कुल १ हजार १० मेगावाट विद्युत बिक्रीका लागि भारत सरकारबाट अनुमति प्राप्त भएको प्राधिकरण्मले जनाएको छ। गत वर्ष भारततर्फ भएको विद्युत निर्यातबाट १७ अर्ब ४७ करोड आम्दानी भएको थियो भने, आयातका लागि १२ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षकमा ४ अर्ब ५७ करोड खुद नाफा आर्जन गर्न प्राधिकरण सफल भएको छ। यसले नेपालको व्यापार घाटा न्यूनीकरणमा योगदान गर्नसक्ने देखिन्छ।
प्राधिकरणको आम्दानीमा गिरावट
प्राधिकरणको सबैभन्दा ठूलो चुनौती नाफामा आएको गिरावट हो। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो।
प्राधिकरणको कुल सम्पत्ति आर्थिक वर्ष २०८०/८१ को दाँजोमा ६.२ प्रतिशतले वृद्धि भई आ.व. २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको शाक्यले बताएका छन।
सरकारी अनुदान, सडक बत्ती अनुदान तथा ट्रङ्कलाइन बक्यौता बाहेक प्राधिकरणको औसत संकलन अवधि ४५.८४ दिन रहेको छ। आ.व. २०८१/८२ मा प्राधिकरणले ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार ५१४ ग्राहस्थ ग्राहकहरूलाई कुल १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत निःशुल्क उपलब्ध गराएको थियो।
प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ९.४४ रुपैयाँ रहेको छ। अनलाइन भुक्तानीमार्फत अघिल्लो आ.व. मा २७ अर्ब ४४ करोड रुपैयाँ संकलन भएकोमा उल्लेख्यरुपमा वृद्धि भई समीक्षा आ.व.२०८१।/८२ मा यो ३४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।
शाक्यका अनुसार, प्राधिकरणको गत आर्थिक वर्षको वित्तीय विवरणले केही महत्त्वपूर्ण चुनौतीहरू देखाएको छ। प्राधिकरणको कुल सञ्चालन खर्चमा १०.१५ प्रतिशतको वृद्धि भएको छ। यसले अघिल्लो आर्थिक वर्षको तुलनामा कुल सञ्चालन खर्च बढेर ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ।
मुख्य खर्चहरूमध्ये, विद्युत खरिदमा भएको खर्च ११.७३ प्रतिशतले बढेर ७७ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अन्य प्रमुख खर्चहरूमा उत्पादन, प्रसारण र वितरणतर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ।
चार सय बढी मेगावाट विद्युत थपियो
शाक्यका अनुसार, आ.व. २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कूल ४३४ मेगावाट विद्युत उत्पादन क्षमता थप भएको छ। जसमा प्राधिकरणको सहायक कम्पनीहरुको योगदान १५३.५ मेगावाट छ भने निजी क्षेत्रको योगदान २८०.५ मेगावाट रहेको छ।
सहायक कम्पनीहरुमध्ये रसुवागढी हाइड्रोपावर कम्पनीबाट १११ मेगावाट र साञ्जेन जलविद्युत कम्पनीबाट ४२.५ मेगावाट विद्युत थप भएको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीबाट निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई परीक्षण कार्य अन्तिम चरणमा पुगेको शाक्यले जनाएका छन्।
अन्य सहायक कम्पनीहरुबाट निर्माणको विभिन्न चरणमा रहेका आयोजनाहरुमा राहुघाट (४० मेगावाट), तनहुँ (१४० मेगावाट), त्रिशुली ३ बी (३७ मेगावाट), रोल्वालिङ् (२२ मेगावाट), तामाकोशी पाचौं (९९.८ मेगावाट), माथिल्लो मोदी ए (४२ मेगावाट), माथिल्लो मोदी (१८.२ मेगावाट) पर्दछन्।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भई प्रसारण लाइनको कुल लम्बाइ ६,७६० सर्किट किलोमिटर पुगेको छ भने जम्मा २०३४ सर्किट किलोमिटर प्रसारण लाइनहरू निर्माणाधीन अवस्थामा छन्। प्रसारण सबस्टेसन क्षमता गत आ.व.मा १,०७३ एमभिए थप भई कुल १४,१२३ एमभीए पुगेको छ भने ६३३८.५० एमभीए क्षमताका सबस्टेसनहरु निर्माणाधीन अवस्थामा छन्।
यस्तै, आ.व. २०८१।/८२ मा नयाँ खिम्ती–बाह्रबिसे ४०० के.भी., चिलिमे-त्रिशूली२२० के.भी., न्यू बुटवल–बर्दघाट २२० के.भी., ढुङ्गेसाङ्गु-बसन्तपुर २२० के.भी. र ढल्केवर–लोहरपट्टी १३२ के.भी. प्रसारण लाइनहरुको निर्माण सम्पन्न भएको छ। यसैगरी, मार्किचोक, उदिपुर र बाह्रबिसे २२०÷१३२ के.भी. जि. आइ. यस. सबस्टेसन, ढल्केवर–लोहरपट्टी १३२ के.भी., मूलपानी १३२/११ के.भी. सवस्टेशन, प्रसौनी १३२÷११ के.भी. सवस्टेशन र अमलेखगञ्ज १३२/६६/११ के.भी. सबस्टेसनहरुको निर्माण सम्पन्न भएका छन् भने मलेखु १३२/३३ के.भी. सबस्टेसनको विस्तार सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ। चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने गरी ५२ वटा ग्रिड सबस्टेसनमा सवस्टेशन अटोमेशन प्रणाली कार्यान्वयन भइरहेको शाक्यले बताएका छन्।
आ.व. २०८१/८२ मा ४७३ एमभिए क्षमता बराबरका १४ वटा ३३/११ के.भी. सवस्टेशनहरु र ९३३६ सर्किट किलोमिटर वितरण लाइन थप भएको छ। त्यस्तै ३३८ एमभिए क्षमता बराबरको ३ हजार १५१ वटा वितरण ट्रान्सफर्मरहरु थप गरिएका छन्। वितरण लाइनहरुको कुल लम्बाई २ लाख १८ हजार ६६ सर्किट–किलोमिटर र वितरण सवस्टेशनको क्षमता २९९७ एमभिए नाघेको छ।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको बढ्दो सहभागिता
नेपाल विद्युत प्राधिकरणले मुलुकको ऊर्जा माग पूरा गर्न निजी क्षेत्रको संलग्नतालाई महत्व दिँदै विद्युत खरिद सम्झौता पीपीए गर्दै आएको छ। सञ्चालनमा रहेका निजी क्षेत्रका आयोजनाहरुको संख्या हालसम्म २०४ वटा पुगेका छ भने, ती आयोजनाहरुको कुल जडित क्षमता २ हजार ९२९ मेगावाट रहेको छ। ४ हजार ३०३ मेगावाट क्षमताका १४२ वटा आयोजनाहरु वित्तीय व्यवस्थापन सम्पन्न भई निर्माणका चरणमा रहेको शाक्यले उल्लेख गरेका छन्।
कुल ४ हजार २०३ मेगावाटका १४८ आयोजनाहरु विकासका विभिन्न चरणमा छन्। गत आर्थिक वर्षमा ३१ वटा निजी प्रवद्र्धकहरुसँग ९३२ मेगावाट जलविद्युत आयोजना र ८ वटा प्रवर्द्धकसँग जम्मा १७० मेगावाटको सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता भएको प्राधिकरणले जनाएको छ। यसका साथै, प्राधिकरणले निजी विद्युत उत्पादकसँग गरेको कुल विद्युत खरिद सम्झौता संख्या ४९४ पुगेको उनकोे भनाई छ। जसको कुल क्षमता ११ हजार ४३६ मेगावाट रहेको छ।
ऊर्जा उत्पादनमा विविधता ल्याउने उद्देश्यले प्रतिस्पर्धात्मक बोलपत्रमार्फत देशका विभिन्न स्थानहरूमा कुल ९६० मेगावाट क्षमताका सौर्य विद्युत आयोजनाहरुको विकासकालागि प्रवद्र्धकहरुसँग विद्युत खरिद बिक्री सम्झौता भैरहेको प्राधिकरणले जनाएको छ। सो आयोजनाहरु क्रमशः निर्माण हुँदै २ वर्ष भित्र सम्पन्न गराउने प्राधिकरणको योजना छ।