काठमाडाैं। चीनको अटोमोबाइल उद्योगमा ठूला परिवर्तनहरू भइरहेको बेला, सरकारी स्वामित्वको कम्पनी डोंगफेङ मोटर ग्रुपले आफ्नो ५० प्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेको छ। यो सेयर होंडा मोटर कम्पनीसँगको संयुक्त लगानीमा स्थापित ‘डोंगफेङ–होंडा इन्जिन कम्पनी’ मा रहेको हो।
सन् १९९८ मा स्थापना भएको ग्वाङझाउस्थित यो कारखाना लामो समयदेखि होंडा गाडीका लागि इन्जिन उत्पादन गर्ने केन्द्र थियो। तर, चीनले पेट्रोल–डिजेल सवारीभन्दा विद्युतीय सवारीसाधन (ईभी) तर्फ तिव्र गतिमा मोड लिँदा, यस्तो परम्परागत इन्जिन कारखाना अब नाफाभन्दा बढी बोझ बन्न थालेको छ। अडिट नतिजाअनुसार कम्पनीको सम्पत्ति अघिल्लो वर्ष ५.४ अर्ब युआन (७५२ मिलियन अमेरिकी डलर) मूल्यांकन गरिएको थियो। तर, सोही अवधिमा यसले करिब २२७.८ मिलियन युआन घाटा बेहोरेको छ भने, ३.३ अर्ब युआन ऋण पनि बाँकी छ।
हाल कारखानामा ८२७ जना कर्मचारी कार्यरत छन्। डोंगफेङले यसलाई सेयर बजारमा सूचीकरण गर्दै बिक्री प्रक्रिया सुरु गरेको छ। तर, अझैसम्म रिजर्भ मूल्य तोकिएको छैन, भने सूचीकरणको अन्तिम म्याद सेप्टेम्बर १२ सम्म हुनेछ।
चीनको अटो बजारमा अहिले घरेलु कम्पनीहरू अग्रपंक्तिमा छन्। विशेषगरी बिवाइडी जस्ता कम्पनीहरूले ईभी क्षेत्रमा लहर ल्याइरहेका छन्। तर, होंडा, टोयोटा र निसानजस्ता जापानी ब्रान्डहरू भने ढिलो प्रतिक्रिया दिएका कारण प्रतिस्पर्धामा पछि परिरहेका छन्। यसै वर्ष होंडाले ग्वाङझाउस्थित आफ्नो इन्जिन उत्पादन क्षमतामा ५० प्रतिशत कटौती गरेको थियो। तर, अर्को चिनियाँ साझेदारसँग मिलेर सोही सहरमै सुरु गरिएको नयाँ ईभी उत्पादन लाइन भने गत वर्षदेखि सञ्चालनमा आएको छ।
चीनकै अटो उद्योगमा प्रतिस्पर्धा झनै कठोर बन्दै गएको छ। डोंगफेङले सन् २०१६ मा करिब ३.८ मिलियन गाडी बिक्री गरेको थियो। तर, अघिल्लो वर्ष यो संख्या घटेर १.५ मिलियनमा झरेको छ। यसले देखाउँछ, कम्पनीको इन्जिन उत्पादन व्यवसायबाट बाहिरिने योजना केवल घाटा व्यवस्थापन मात्र होइन, बरु भविष्यमा विद्युतीय सवारीमा केन्द्रित हुने रणनीति पनि हो।
डोंगफेङ–होंडाको यो साझेदारीको अन्त्य केवल एउटा कारोबारी निर्णय मात्र होइन, चीनको अटो उद्योगको भविष्यतर्फको संकेत पनि हो। जब बजारको धड्कन विद्युतीय सवारीतर्फ सर्दैछ, परम्परागत इन्जिन कारखाना बिस्तारै इतिहासको पाना बन्न थालेको छ।