काठमाडौं। सरकारले सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जालहरू आजदेखि बन्द गर्ने भएको छ। यो निर्णयसँगै नेपालमा दर्ता भई सञ्चालित पाँच वटा मात्रै सामाजिक सञ्जाल चल्ने भएका छन्।
योसँगै सरकारको निर्णयसँगै नेपाली सामाजिक सञ्जाल ‘हाम्रो पात्रो’ प्लेटफर्मले दर्ताका लागि सञ्चार मन्त्रालयमा निवेदन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपोलाइभ सामाजिक सञ्जाल चल्ने भएका हुन्। यीबाहेक नेपालमा चर्चित एपहरू फेसबुक, म्यासेञ्जर, ह्वास्टएप, एक्स अर्थात ट्वीटरसहित नेपालमा नै उत्पादन भएको हाम्रो पात्रो एप बन्द हुनेछ।
मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नेपालमा दुई सामाजिक सञ्जाल टेलिग्राम र ग्लोबल लिंक दर्ता हुने प्रक्रियामा रहेको छ। बिहीबार सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेका बैठकले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।
यसअघि सरकारले मन्त्रिपरिषदबाट नेपालमा दर्ता हुन बाँकी भएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। यसका लागि सरकारले सूचीकरण गर्नका लागि एक साताको समय दिएको थियो। तर, यी २६ वटा सामाजिक सञ्जालले अटेरी गरेसँगै मन्त्रालय स्तरीय निर्णयमार्फत बन्द गर्ने गरी दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।
सरकारले सामाजिक सञ्जाल बन्द भए पनि सरकारी नियमअनुसार सूचीकृत भएसँगै पुनः सञ्चालनमा आउने जनाएको छ।
‘मिति २०८२/५/९ मा नेपाल सरकार (मन्त्रिपरिषद्)बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सात दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकरण गर्नका लागि मिति २०८२/५/१२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समय सीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ,’ मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ।
सामाजिक सञ्जाल बन्द गराउन सरकार तयारी गरिरहँदा सर्वोच्च अदालत अन्तरिम आदेश दिएको छ। अदालतले बुधबार पाँच वर्षअघि दर्ता भएको रिटमा सुनुवाइ गर्दै नेपालमा दर्ता नभएको सामाजिक सञ्जाललाई बन्द गर्न आदेश दिएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सूचीकरणका लागि नआएका प्ल्याटफर्मलाई नेपालभरि नचल्ने गरी रोक लगाउन लागिएको हो। सरकारको निर्णय बेवास्ता गरिएपछि आज सञ्चार मन्त्रालयले पुनः मन्त्रिस्तरीय निर्णय गर्दै नेपालभरि सूचीकृत नभएका सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको हो।
सरकारले सामाजिक सञ्जाल बन्द भए पनि सरकारी नियमअनुसार सूचीकृत भएसँगै पुनः सञ्चालनमा आउने जनाएको छ।
सूचीकृत नभएका सञ्जाल सञ्जालहरू हाम्रो पात्रो, फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मिवी, मिभिके, लाइन, इमो, जालो र सोल रहेका छन्।