काठमाडौं। सरकारले सामाजिक सञ्जाललाई दर्ता नभए प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली प्रयोगकर्ताहरू भाइबरतिर झुम्मिएका छन्। सरकारको एक्सनसँगै फेसबुकलगायतका प्रयोगकर्ता धमाधम भाइबर डाउनलोड गर्न थालेका हुन्।
सरकारले पटक-पटक सार्वजनिक सूचनामार्फत कम्पनीहरूलाई सूचीकरण गर्न आह्वान गर्दा पनि मेटा (फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम), युट्युबजस्ता लोकप्रिय प्लेटफर्महरूले अटेरी गरिरहेका छन्। साेही कारण सरकारले नियमनको दायरामा ल्याउने अन्तिम अस्त्रको रूपमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हाे।
यद्यपि, एक समय नेपाली उपभोक्तामाझ अत्यन्तै लोकप्रिय रहेको भाइबर पछिल्लो समय मेटाको ह्वाट्स एपको सहज इन्टरफेसका कारण सीमित प्रयोगमा आएको थियो। आजदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि सरकारले गरेकाे निर्णयपछि भाइबर पुन: लोकप्रिय बनेकाे छ।
धेरै उपभोक्ताले आफ्नो मोबाइलमा भाइबर डाउनलोड गरे पनि यसको प्रयोग भने कम थियो। तर, अब यसकाे प्रयाेग एकाएक बढेकाे छ। यस्तै, नेपाली प्रयाेगकर्ताहरु टिकटकतर्फ पनि झुम्मिन थालेका छन्।
धेरै उपभोक्ताले आफ्नो मोबाइलमा भाइबर डाउनलोड गरे पनि यसको प्रयोग भने कम थियो। तर, अब यसकाे प्रयाेग एकाएक बढेकाे छ।
सरकारले २०८१ चैत ७ गते पहिलो पटक ३० दिने अल्टिमेटम दिएको थियो। त्यसयता सात पटकसम्म सूचना जारी गर्दा पनि अहिलेसम्म भाइबर, टिकटक, विटक, पोपो लाइभ र निम्बज बाहेकका कुनै पनि ठूला सामाजिक सञ्जाल कम्पनीहरू सूचीकरण हुन आएका छैनन्।
सरकारको यो निर्णयलाई सर्वोच्च अदालतले समेत समर्थन गरेको छ। अदालतले कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र ओटीटी एप्सहरूमा रोक लगाउन परमादेश जारी गरेको छ, जसले सरकारलाई थप बल पुगेको छ।
हालसम्म मेटा, माइक्रोसफ्ट र लिंकड इन जस्ता कम्पनीहरूले नेपालमा कर तिर्ने प्रयोजनका लागि मात्र ठूला करदाता कार्यालयमा दर्ता गराएका छन्, तर सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन भने अटेर गरिरहेका छन्।