काठमाडौं। नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक, मेसेन्जर, ह्वाटसएप, इन्स्टाग्रामलगायत एप विधिवत् सर्ट डान भएका छन् । इन्टरनेट सेवाप्रदायक नेपाल टेलिकम र एनसेलको इन्टरनेट र डेटा सेवाबाट बिहीबार रातीदेखि नै बन्द भए पनि कम्पनी वल्र्डलिंकले १२.४५ देखि तोकिएका सेवा बन्द गरेको हो।
अहिले वल्र्डलिंक, नेपाल टेलिकम र एनसेलको आईपी ठेगानाबाट फेसबुक, मेसेन्जर चल्न छाडेको छ । सरकारले २६ वटा एपमाथि सञ्चालन प्रतिबन्ध लगाएपछि नेपालमा यी एप सर्ट डाउन बनेका हुन्।
दर्ता प्रक्रियामा नआएको भन्दै फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युटयुब, ह्वाट्सएप, एक्स, लिंकडिन, स्न्यापच्याट, रेडिट, डिसकार्ड, पिंइन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, ह्वीच्याट, क्वरा, टम्बर्ल, क्ल्बहाउस, मस्तोडन, रम्बल, मिह्वी, भीके, लाइन, आइएमओलगायत सञ्चालनमा रोक लागेको छ।
सरकारले बिहीबार दिउँसो नेपालमा दर्ता नभएका विभिन्न २६ सामाजिक सञ्जालका एप दर्ता प्रक्रियामा नआएसम्म नेपालमा बन्दको निर्णय गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो ।
लगत्तै प्राधिकरण इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएसँगै नेपाल टेलिकम, एनसेल, वल्र्डलिंकलगायतले सूचना निकाल्दै बन्द गर्न भनिएका सामाजिक सञ्जाल नचल्ने बताएका थिए।
इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले शुक्रबारसम्म सरकारको निर्णय पूर्णरुपमा कार्यान्वयनमा आउने भनिसकेको छ। फेसबुक सञ्चालक मेटा बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा दर्ता प्रक्रियाका विषयमा बुझ्न सम्पर्कमा आएको बताइएको छ।
यसैबीच सरकारले बन्द गरेको एक्स (ट्वीटर) र बिच्याटले पनि सूचीकरण हुन आउन चासो देखाएका छन्।
बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि शुक्रबार बिहानैदेखि ती सामाजिक सञ्जालमा समस्या आएको छ।
निष्क्रिय भएका सामाजिक सञ्जालमध्ये एक्स र बिच्याटका प्रतिनिधिले चासो देखाएको मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौड्यालले जानकारी दिए। यद्यपि आधिकारिक रूपमा निवेदन दिइनसकेको उनले बताए।
सम्पर्क गरेका प्रतिनिधिलाई इमेलमार्फत प्रक्रिया र आवश्यक पर्ने कागजातबारे विवरण उपलब्ध गराइएको उनको भनाइ छ।