काठमाडौं। कुनै बेला चुलोचौकामा मात्रै सीमित महिलाहरु पछिल्लो समय आत्मनिर्भरताको बाटो रोज्दै विभिन्न सीपमूलक तालिममा आकर्षित भएका छन्। यसमध्ये सिलाइ–कटाइ उनीहरूको स्वरोजगार बन्ने मुख्य माध्यम बनेको छ।
पछिल्लो समय सामान्य लेखपढ भएका हुन् वा माध्यमिक शिक्षा हासिल गरेका महिला। अधिकांशको रोजाइ बनेको छ, सिलाइ–कटाइ तालिम। तीमध्येकी एक हुन्, गंगा मानन्धर। कक्षा १० सम्म अध्ययन गरेकी उनले यो पेसा अँगालेको करिब १५ वर्ष भइसकेको छ। उनको अनुभव आफूमा मात्र सीमित छैन। ट्रेनिङ सेन्टर नै सञ्चालन गरेर सयौं महिलालाई सिलाइ–कटाइ तालिम दिइसकेकी छन्। मानन्धरको ‘सरिना लेडिज टेलर एन्ड ट्रेनिङ सेन्टर’मा अहिले पनि १० जनाभन्दा बढी महिलाले तालिम लिइरहेका छन्।
उनका अनुसार थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि महिलाहरू सिलाइ–कटाइ व्यवसायप्रति आकर्षित भएका हुन्। उनी स्वयं पनि थोरै लगानीमै सिलाइ–कटाइ व्यवसाय गरी घरपरिवार पाल्न र आफूलाई चाहिने खर्चको जोहो गर्न सहज भएको अनुभव सुनाउँछिन्। मानन्धर घरमै बसेर श्रीमान्को कमाइमा निर्भर हुनुभन्दा केही सीप सिकेर आत्मनिर्भर हुन महिलालाई सुझाउँछिन्। यसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै आर्थिक रूपमा सशक्त बन्न पनि मद्दत गर्ने उनको भनाइ छ।

सिलाइ–कटाइमा सफलता
कुनै समय आफ्नो लुगा आफैं सिलाएर लगाउने रहर बोकेकी अनिता घिमिरे अहिले सिलाइ–कटाइ व्यवसायबाट आत्मनिर्भर मात्र नभई अन्य महिलालाई समेत रोजगार दिँदै छिन्। ३८ वर्षीया अनिताको यो सफलताको कथा घरमै बेरोजगार भएर विकल्प खोजिरहेका महिलाका लागि प्रेरणा–स्रोत बनेको छ।
सानैदेखि आफूले चाहेजस्तो लुगा सिलाएर लगाउने उनको रहर थियो। त्यसैले उनले निःशुल्क रूपमा सिलाइ–कटाइको सीप सिकिन्। यो सीपमा पोख्त भएपछि उनले गाउँमै आफ्नी साथीसँग मिलेर थोरै लगानीमा सिलाइ–कटाइ व्यवसाय सुरु गरिन्।
उनले भनिन्, ‘सानैदेखि आफूले चाहेजस्तो लुगा सिलाएर लगाउने रहर थियो। त्यसैले सिलाइ–कटाइ सिक्ने सोच बनाएँ। त्यसपछि कक्षा १० को परीक्षा दिएर गाउँमै निःशुल्क सीप सिकें। अनि गाउँमै साथीसँग मिलेर थोरै लगानीमा सिलाइ–कटाइ व्यवसाय सुरु गरें।’

दुई वर्षसम्म गाउँमा पसल सञ्चालन गरे पनि सोचेजस्तो व्यापार नभएपछि उनले केही समय बन्द गरिन्। पछि उनले घरबाटै काम गर्न थालिन् र अर्डर पनि घरमै आउन थाले। माध्यमिक शिक्षा पढेकी उनले सिलाइ–कटाइ व्यवसायबाटै दैनिक २ देखि ३ हजार रुपैयाँसम्म आम्दानी गर्न थालिन्। ‘सिलाइ–कटाइ व्यवसायबाटै दैनिक २ देखि ३ हजार रुपैयाँसम्म आम्दानी हुन्छ। सिजनको समय अझै राम्रो कमाइ हुन्छ,’ उनले सुनाइन्।
त्यसपछि उनले आफ्नो सीपलाई अझ निखार्न सरकारको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रबाट थप तालिम पनि लिइन्। अरूकहाँ ६ वर्षसम्म काम गरेर अनुभव बटुलेपछि उनले काठमाडौंमा आफ्नै व्यवसाय सुरु गरिन्।
काठमाडौंमा व्यवसाय सुरु गरेको पनि अहिले चार–पाँच वर्ष भइसकेको छ। अहिलेको आम्दानीबाट उनी दुई छोराछोरीलाई पढाउनेदेखि घरखर्चसमेत सजिलै चलाउँछिन्। यति मात्र होइन, उनले अहिले केही महिलालाई समेत रोजगारी दिएर आत्मनिर्भर बन्न सहयोग गरिरहेकी छन्।
सिलाइ–कटाइमा महिला वर्चस्व
कुनै समय पुरुषमा मात्र केन्द्रित सिलाइ–कटाइ पेसामा अहिले महिलाको वर्चस्व बढ्दै गएको छ। यो पेसालाई घरधन्दाको कामसँगै स्वरोजगार र आत्मनिर्भरताको माध्यम बनाउन सफल महिलामध्येकी एक हुन्, ओखलढुंगाकी चमेली मगर।
करिब पाँच वर्षअघि राजधानीमा बस्न थालेपछि उनले आफ्नै घरको कोठाबाट सिलाइ–कटाइको काम सुरु गरिन्। यद्यपि अनलाइन व्यापारले केही चुनौती थपे पनि चाडपर्वको समय उनको आम्दानी राम्रै हुन्छ। उनी पेटिकोट, सादा टोपी, बाबा सुरुवाल, पेटेभोटो, सर्ट, काने टोपी, ब्लाउज, पाइजामा, फ्रक, म्याक्सी, साधारण कुर्था–सुरुवालजस्ता विभिन्न प्रकारका कपडा सिलाउँछिन्। चमेलीका अधिकांश ग्राहक नियमित छन्। यसबाटै उनले मासिक ७० देखि ८० हजार रुपैयाँसम्म कमाउने गरेको सुनाइन्।
चमेली आफ्नो अनुभव बाँड्दै भन्छिन्, ‘आत्मनिर्भर हुनुले जीवनमा धेरै फरक पार्छ। सधैं श्रीमान्कै भर पर्नुपर्ने हुँदैन। आफूले चाहेको कुरा आफैं गर्न सक्छौं भन्ने आत्मविश्वास बढ्छ।‘ उनको विचारमा यो काम गर्न पढेलेखेकै हुनुपर्छ भन्ने छैन। नपढेका महिलाले पनि सीप सिकेर आत्मनिर्भर बन्न सक्छन्। यो पेसालाई महिलालाई स्वरोजगार बनाउने एक सशक्त माध्यमको रूपमा लिँदै चमेली भन्छिन्, ‘यसले हामीलाई अरूको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्छ।’

उनका अनुसार पहिला यो काम पुरुषले मात्र गर्नुपर्छ भन्ने सोच परिवर्तन भइसकेको छ। अहिले महिला पनि यो पेसामा उत्तिकै पोख्त रहेको उनको दाबी छ। उनी थप्छिन्, ‘हामीले हार मान्नुहुँदैन। जुनसुकै काम पनि गर्न सकिन्छ। आफ्नै कमाइ भएपछि आफूखुसी र मन लागेको कुरा गर्न पाइन्छ।’ उनको पसलमा कपडाको प्रकारअनुसार न्यूनतम ४ सय रुपैयाँबाट सिलाइको शुल्क लाग्छ।
यस्तै, सिलाइ–कटाइ पेसामा सफल अर्की महिला हुन्, सर्लाहीकी मञ्जु चौधरी। उनले आफ्ना श्रीमान्सँगै यो सीप सिकेर करिब ८ वर्षअघि काम सुरु गरिन्। ‘श्रीमानसँगै मिलेर काम गर्दा छुट्टै आनन्द आउँछ,’ उनी भन्छिन्।
अरूकहाँ काम गर्नुभन्दा आफ्नै सानोतिनो पेसा गर्दा धेरै कुरा सहज हुने उनको अनुभव छ। ‘काम गर्दा कोही पनि ठूलो–सानो हुँदैन’, उनी महिलालाई घरमै अल्छी गरेर बस्नुभन्दा सीप सिकेर कमाउन आग्रह गर्छिन्।
चमेली र मञ्जुजस्ता धेरै महिलाले सिलाइ–कटाइलाई केवल एक पेसा मात्र नभई आत्मनिर्भरताको बलियो आधार बनाएका छन्। उनीहरूले यो पेसामा आफ्नो पहिचान बनाएर अन्य महिलाका लागि पनि नयाँ बाटो खोलिदिएका छन्। उनीहरूको यो पेसाप्रतिको लगावले नेपाली समाजमा महिलाको भूमिकालाई थप सशक्त बनाएको छ।

जातको पर्खाल तोड्दै विष्णु सिलाइ–कटाइमा
संखुवासभाकी विष्णुकुमारी पोखरेल। ४६ वर्षको उनको जीवनयात्रा सहज छैन। ‘ब्राह्मण थरले सिलाउनुहुँदैन’ भन्ने सामाजिक मान्यतालाई चुनौती दिँदै यो पेसामा लागेकी हुन्।
यो पेसालाई ‘तल्लो जातिले मात्र गर्ने’ भन्ने परम्परागत सोचलाई चिरेर उनले आफ्नो सानैदेखिको रुचि र सीपलाई सदुपयोग गरिन्। २०४४ देखि सिलाइको काम सुरु गर्दा महिलाका लागि यो पेसा निकै कठिन थियो। उनले पनि त्यो समयमा धेरै दुःख र सामाजिक चुनौती भोगेको बताउँछिन्।
‘पहिला यो दमाई (दर्जी)ले गर्ने काम हो भन्दै मलाई समाजमा नानाभातीका कुरा भन्थे,’ उनी भन्छिन्, ‘तर सीपका लागि जात होइन, दिमाग र मिहिनेत चाहिन्छ भन्ने कुरा मैले प्रमाणित गरें।’
कोरोना महामारीपछि व्यापार केही घटे बताउँदै उनले आफूजस्ता एकल महिलाका लागि यो आम्दानीको मुख्य स्रोत बनेको बताइन्। ‘काम सानो ठूलो हुँदैन। जे गरे पनि हुन्छ,’ उनी भन्छिन्, ‘म यही कामबाटै सफल भएकी छु। सिलाइ महिलाका लागि धेरै राम्रो पेसा हो।’

विष्णुले २५० रुपैयाँमा सिलाइ–कटाइ तालिम लिएकी थिइन्। उनले त्यसबेला सबैभन्दा राम्रो प्रशिक्षण केन्द्र पनि खोलेकी थिइन्। त्यतिखेर उनको प्रशिक्षण केन्द्रमा महिलाहरू सिक्नका लागि लामबद्ध हुन्थे। ‘त्यो बेला ६ वटा मात्र टेलर थिए। सिक्न आउने महिलाको भीड लाग्ने गरेको थियो,’ उनी सम्झिन्छन्। अहिले पनि उनको व्यवसाय राम्रै चलिरहेको छ, तर तालिम भने दिँदिनन्।
यद्यपि पछिल्लो समय रेडिमेट कपडाका कारण व्यापारमा केही कमी आए पनि सिजन विशेषगरी तीजको समय उनको पसलमा महिलाको भीड लाग्छ। उनी कुर्था, ब्लाउज, लेहेंगालगायत लेडिज आइटमका विभिन्न डिजाइनका लुगा सिलाउँछिन्। डिजाइन र आवश्यक सामग्रीअनुसार ६५० रुपैयाँबाट मूल्य तोक्ने गरेको उनले सुनाइन्।
विष्णु कुमारी महिलालाई निष्क्रिय नबसी केही न केही काम गर्न आग्रह गर्छिन्। उनी भन्छिन्, ‘महिलाले सीप सिक्नू, यत्तिकै नबस्नू। अहिले जे काम गरे पनि हुन्छ। महिला उद्यमी बन्नुपर्छ। यत्तिकै घरमा बसेर हुँदैन।’ आफ्नै कमाइले परिवारलाई खुसी पार्न र आत्मनिर्भर बन्न पाएकामा सन्तुष्ट छन्, उनी । भन्छिन्, ‘कमाइभन्दा पनि अहिलेसम्म यो पेसामा टिकेर बस्नु ठूलो कुरा हो।’
थप सीप र सरकारी प्रोत्साहन माग
अन्य महिलाजस्तै तनहुँकी अञ्जना थापा मगरले पनि यो पेसालाई आफ्नो आयआर्जनको मुख्य स्रोत बनाएकी छन्। विगत तीन वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाएर सिलाइ–कटाइ व्यवसाय गर्दै आएकी अञ्जना थप सीप आवश्यक भएको बताउँछिन्।
सरकारले प्रदान गर्ने लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रबाट दुईमहिने तालिम लिएको बताउँदै उनले २० हजार रुपैयाँको लगानीमा आफ्नै कोठाबाट काम सुरु गरेको सुनाइन्। अहिले उनी सरदर मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाउँछिन्।
अञ्जनाका अनुसार सिलाइ–कटाइले महिलालाई आत्मनिर्भर हुन मात्र नभई पारिवारिक दायित्व निर्वाह गर्न पनि सहयोग पु¥याएको छ। ‘एक किसिमले हेर्दा स्वरोजगार भइयो। बालबच्चा पनि पढाउन पाइयो,’ उनी भन्छिन्, ‘श्रीमान्को कमाइ पनि बचत हुन्छ भनेर महिला यो पेसामा आकर्षित भएका छन्।’
उनले अहिलेसम्म तालिम लिएकामध्ये सिलाइ–कटाइ सबैभन्दा बढी रोजगारीमूलक तालिम भएको दाबी गर्छिन्। अञ्जनाले आधारभूत र एडभान्स दुवै तालिम लिए पनि छोटो समयका कारण आफूले चाहेजस्तो सबै डिजाइन सिक्न नपाएको गुनासो गर्छिन्।

उनले भनिन्, ‘मैले पहिलो पटक लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रमा सरकारबाट दिइने सिलाइ– कटाइसम्बन्धी तालिम लिएँ। त्यहाँ मैले दुई महिनासम्म सीप सिक्ने अवसर पाएँ। तर, त्यति छोटो सीपले हामीलाई पुगेन।’
उनले थपिन्, ‘हामीले त्यहाँ पनि थप तालिम दिनुप¥यो भनेका थियौं, तर उहाँहरूले मान्नुभएन।’ सरकारले महिलालाई थप सीपमूलक तालिम उपलब्ध गराए अझै सशक्त रूपमा लग्न सकिने उनको विश्वास छ। उनी भन्छिन्, ‘सरकारले हामीलाई थप हौसला दिनुपर्छ।’
यसैगरी रितु क्षेत्री पनि विद्यालय तहबाटै सीपमूलक तालिम दिनुपर्नेमा जोड दिन्छिन्। उनले सरकारले माध्यमिक तहमा कक्षा ९ र १० मा ऐच्छिक वा अनिवार्य विषयका रूपमा सीप विकाससम्बन्धी पाठ्यक्रम राख्नुपर्ने बताउँछिन्। ‘सकेसम्म कक्षा १२ सम्म नै यस्ता विषय राखियोस्,’ उनी भन्छिन्, ‘त्यसो हुँदा विद्यार्थीले औपचारिक अध्ययनसँगै सीप पनि सिक्न पाउँछन् र परीक्षाफल आउँदासम्म रोजगारी पाइसक्छन्।’
रितुले आधारभूत तालिममा छुक्रे पेटीकोट, सादा टोपी, बाबा सुरुवाल, पेटेभोटो, सर्ट, काने टोपी, ब्लाउज, पाइजामा, फ्रक, म्याक्सी, साधारण कुर्था–सुरुवाल जस्ता लुगा सिलाइले राम्रो प्रभाव पार्ने बताउँछिन्। यसबाहेक व्यावसायिक ज्ञानको सैद्धान्तिक जानकारी पनि दिनुपर्ने उनको सुझाव छ। यसले महिलामा तालिम अवधिमै व्यवसाय गर्ने प्रोत्साहन मिल्ने उनको भनाइ छ।
निजी स्तरमा सञ्चालित तालिम केन्द्रमा सिलाइ–कटाइ सिक्नेको संख्या पछिल्लो समय बढ्दो छ, जसले सिकाउनेलाई पनि फाइदा पुगेको छ। तर, सरकारी स्तरमा तालिमका अवसर भने कमै छन्। यसमा सरकार पक्षले विशेष ध्यान दिन आवश्यक रहेको महिला उद्यमी बताउँछन्।
सरकारी तालिमको सीमितता र महिला उद्यमीको संघर्ष
सिलाइ–कटाइलाई आफ्नो आयआर्जनको प्रमुख माध्यम बनाएका महिला उद्यमीले सरकारी तालिमको अवधि छोटो र आधुनिक सीप अभावले व्यावसायिक चुनौती सामना गरिरहेको गुनासो गरेका छन्। उनीहरूका अनुसार सरकारले प्रदान गर्ने तालिमले आधारभूत ज्ञान मात्र दिन्छ, जसले बजारको मागअनुसार काम गर्न पर्याप्त हुँदैन।
यसमध्येकी एक हुन्, अनिता घिमिरे। फेसन डिजाइनमा रुचि राख्ने उनले सरकारले उपलब्ध गराएको तालिमबाट निराशा व्यक्त गरेकी छन्। ‘हामीलाई जम्मा दुई महिनाको मात्र तालिम दिइयो, जुन फेसन डिजाइनका लागि एकदमै थोरै हो, ‘उनी भन्छिन्, ‘अहिले ग्राहकले खोजेजस्तो आधुनिक डिजाइन बनाउन हामी युट्युब र अन्य सामाजिक सञ्जालमा भर पर्न बाध्य छौं।’
उनी थप्छिन्, ‘यदि सरकारले थप विभिन्न डिजाइन सिकाएको भए हामी अझ पोख्त हुने थियौं। यति मात्र होइन, ग्राहकले भनेजस्तै डिजाइन सिलाउन अझै सहज हुने थियो।’
यस्तै, गुनासो ओखलढुंगाकी चमेली मगरको पनि छ। उनलाई सिलाइ–कटाइसम्बन्धी थप सीप सिक्ने ठूलो इच्छा छ। तर, निजी प्रशिक्षण केन्द्रको महँगो शुल्कले थप सीप सिक्न सकिरहेकी छैनन्। ‘निजी प्रशिक्षणको शुल्क एकदमै महँगो हुन्छ। अहिले हामीलाई त्यहाँ एउटा प्रमाणपत्रका लागि भए पनि सिक्नुपर्ने बाध्यता छ’, उनी भन्छिन्।
सरकारी निकायबाट अवसर पाउन पनि कठिनाइ रहेको उनको गुनासो छ। ‘अवसर आयो भने म सिक्न तयार छु तर, यहाँ पनि पहुँच र ‘पावर’ भएकाले मात्र अवसर पाइरहेका हुन्छन्, हामीजस्ता सामान्य मान्छे सधैं पछि पर्छौं,’ उनले निराशा व्यक्त गरिन्।