काठमाडौं। दसैंको आगमनसँगै नेपाली समाजमा नयाँ उत्साह र उमङ्ग छाउँछ। नयाँ लुगा र मीठो परिकारले घर–घरमा खुशी ल्याउँछन्। तर यो पर्वलाई अझ विशेष बनाउने एउटा अर्को परम्परा छः ठूलाबडाबाट टीका, जमरा र आशीर्वादसँगै नयाँ नोटको दक्षिणा।
परम्परागत रूपमा टीका–जमरा र दक्षिणा दिने संस्कारसँग गाँसिएको यो चलनले मानिसमा नयाँ नोट पाउने उत्साह जगाउँछ। बैंकिङ प्रणालीका लागि पनि नोट सटही र त्यसको व्यवस्थापन चुनौती बनेको छ। यस वर्ष पनि नेपाल राष्ट्र बैंकले भदौ २९ देखि असोज ६ गतेसम्म सुकिला नोट सटही गरेको थियो। अघिल्ला वर्षहरुमा चार्डपर्व लक्षित गरेर सर्वसाधारणमा नयाँ नोट सटही गर्ने राष्ट्र बैंकले गत वर्षदेखि सुकिला नोटमात्रै सटही गरिरहेको छ।
यसरी राष्ट्र बैंकले नै चार्डपर्व लक्षित गरेर नयाँ तथा सुकिला नोट सटही गरेपछि के वृद्धवृद्धा, के युवा, के बालबालिका सबैलाई दसैंमा नयाँ नोट नै लिने चाहना बढ्दो छ। तर, राष्ट्र बैंकले केही वर्षयता डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल दक्षिणालाई प्राथमिकतामा राख्न थालेको छ। जसले गर्दा चार्डपर्वमा नगदको कारोबार क्रमश घट्दै डिजिटल कारोबार बढेको पाइन्छ।
नेपालमा मुद्राको इतिहास निकै पुरानो छ। यसको सुरुवात लिच्छवीकालीन राजा मानदेवले ‘मानांक’ नामक मुद्रा चलनमा ल्याएपछि भएको थियो।
यद्यपि, पाएसम्म चार्डपर्वमा भने दक्षिणाको रुपमा नेपालीमा नोट कै प्रयोग गर्ने परम्परा छ। यो परम्पराको पछाडि एउटा लामो र रोचक कथा लुकेको छ, जसले इतिहास, अर्थतन्त्र र वर्तमान चुनौतीहरूलाई जोड्छ।
नेपालमा मुद्राको इतिहास निकै पुरानो छ। यसको सुरुवात लिच्छवीकालीन राजा मानदेवले ‘मानांक’ नामक मुद्रा चलनमा ल्याएपछि भएको थियो। त्यसपछि माटो र छालाबाट सुरु भएको मुद्रा व्यवस्था राजा महेन्द्र मल्लले चाँदीको ‘मल्ली’ मुद्रा चलनमा ल्याएर अझ व्यवस्थित बनाए। वस्तु विनिमयबाट मुद्रामा आधारित अर्थव्यवस्थामा संक्रमणले व्यापारिक सहजीकरण मात्र गरेन, पूजापाठ र दान–दक्षिणाका लागि पनि सहज बनायो।
तर, हामीले आज प्रयोग गर्ने कागजी नोटको चलनचल्ती भने नेपाल राष्ट्र बैंकको स्थापनाअघि नै सुरु भएको थियो। मोहररूपी ‘मोरु’ देखिशुरु गरेर पचासौं वर्षमा नोटको स्वरूप बदलिँदै गयो र राष्ट्र बैंकको स्थापनासँगै नोटको छपाइ र व्यवस्थापन केन्द्रीयकृत भयो।
२००२ साल असोज १ गते सदर मुलुकीखानाले पहिलो पटक ५, १० र ५० रुपैयाँका कागजी नोट चलनमा ल्याएको थियो। त्यतिबेला नोटमा खजाञ्ची (देशको ढुकुटीको जिम्मा लिने व्यक्ति) जनकराज पण्डितको हस्ताक्षर हुन्थ्यो। यी नोटहरूलाई ‘मोरु’ वा ‘मोहर रुपैयाँ’ भनिन्थ्यो। नेपाल राष्ट्र बैंक ऐन २०१२ जारी भएर २०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापना भएपछि मात्र नोटमा गभर्नरले हस्ताक्षर गर्न थालेका हुन्। राष्ट्र बैंकको स्थापनाअघिको ११ वर्षको अवधिमा जनकराज पण्डितसहित भरतराज पण्डित र नरेन्द्रराजले खजाञ्चीका रूपमा नोटमा हस्ताक्षर गरे।
राष्ट्र बैंकको स्थापना हुनुअघि नेपाली बजारमा भारतीय रुपैयाँ (भारु) को बिगबिगी थियो। राष्ट्र बैंकले नेपाली मुद्राको चलनचल्ती बढाउने र भारुलाई विस्थापित गर्ने लक्ष्य राख्यो। २०१४ सालमा ’नेपाली मुद्रा कारोबार बढाउने ऐन’ जारी भयो र २०१७ सालदेखि भारु र पुराना मोरु नोट सटही गर्ने व्यवस्था सुरु गरियो। राष्ट्र बैंकले २०१६ साल फागुन ७ देखि संस्थापक गभर्नर हिमालयशमशेर जबराको हस्ताक्षर भएका १, ५, १० र १०० दरका नोटहरू बजारमा ल्यायो।
नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालदेखि नै दशैंतिहारजस्ता चाडपर्वहरूमा नयाँ नोट वितरण गर्दै आएको छ। विशेष गरी, २०४० सालदेखि भने दशैंलाई लक्षित गरी नयाँ नोट सटही सुविधा दिन थालिएको थियो। सुरुका वर्षहरूमा सटहीको कुनै सीमा थिएन र मानिसहरू साना दरका नोटहरू नै बढी साट्थे। तर, पछिल्ला वर्षहरूमा ५० र १०० रुपैयाँको माग ह्वात्तै बढेको छ।
पछिल्लो समय नयाँ नोटको प्रयोग एउटा फेसनजस्तो बन्न थालेको छ। पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नयाँ नोटका कारण दक्षिणाको महत्व घटेको बताउँछन्। पहिलको एक मोहरको महत्व अहिले १ हजार रुपैयाँको भन्दा बढी भएको क्षेत्री स्मरण गर्छन्।
राष्ट्र बैंकले हरेक दुई वर्षमा साढे तीन वर्षका लागि पुग्ने गरी सबै दरका नोट छाप्ने गरेको छ भने बजारमा मागअनुसार तोकिएको समयअघि वा पछि पनि छपाइ गर्छ।
कोभिड महामारी अघिसम्म एक व्यक्तिलाई २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिइन्थ्यो भने अहिले १८ हजार ५ सय रुपैयाँसम्मको सीमा तोकिएको छ। यो सीमा तोक्नुपर्नुको मुख्य कारण एउटै व्यक्तिले पटक–पटक नोट साटेर त्यसको व्यापार गर्ने प्रवृत्ति देखिएको थियो। त्यसैले राष्ट्र बैंकले एक व्यक्ति एक पटकमा १८ हजार ५ सयमात्रै सटही गर्न पाउने व्यवसथा गर्यो भने गत वर्षदेखि सुकिला नोट सटहीको मात्रै व्यवस्था गरेको छ।
दसैंमा नयाँ नोट वितरणको यो परम्पराले सांस्कृतिक महत्व बोकेको भए पनि यसले कतिपय विकृतिहरू पनि जन्माएको छ। साथै, चार्डपर्वमा खुद्रा नोटको बढी प्रयोग हुने र त्यसमा नयाँ नोट नै लिन चाहने प्रचलनले राज्यको लागि ठूलो आर्थिक भार पर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभाग प्रमुख रामु पौडेल बताउँछन्।
‘साना दरका नोटहरूको छपाइ लागत त्यसको अंकित मूल्यभन्दा बढी हुन्छ, र प्रयोगमा लापरवाहीका कारण नोट आयुभन्दा चाडैं भुक्रो हुन्छ र नयाँ नोट छपाउनु पर्ने हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले क्यापिटल नेपालसँग ‘त्यसैले राष्ट्र बैंकले नयाँ नोटभन्दा सुकिला नोटको प्रयोग र डिजिटल कारोबारलाई प्रोत्साहन गरेको हो।’
नेपालमा कानुनी रूपमा चलनचल्तीमा आउने नोट तथा सिक्का जारी गर्ने अधिकार राष्ट्र बैंकलाई मात्र छ। राष्ट्र बैंकले नोट छपाइको काम क्यालेन्डरै बनाएर गर्छ। हालसम्म नेपालमा १, २, ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँ दरमा नोट चलनचल्तीमा छन्।
यी नोटको औषत आयु एकदेखि पाँच वर्षसम्म हुन्छ। यद्यपि नोटको आयु नोट छपाइमा प्रयोग हुने कागजको गुणस्तर र प्रयोगकर्ताको व्यवहारमा निर्भर रहन्छ। राष्ट्र बैंकले हालसम्म छपाइ गरेको ठूला दरको औषत आयु तीनदेखि पाँच वर्ष हो।
नोट प्रयोगकर्ताले नोट सुरक्षित तबरले प्रयोग नगर्दा आयुभन्दा अगावै नोट झुत्रो हुने र राष्ट्र बैंकले समय अगावै करोडौं रुपैयाँ खर्च गरेर नोट छापाउनु पर्ने उनको भनाई हो। त्यसैले सचेत नागरिकले नोट सुरक्षित तबरले प्रयोग गर्नु पर्ने र सकेसम्म नगद रहित डिजिटल कारोबार गर्नु पर्ने उनले बताए।
राष्ट्र बैंकले गत वर्षमात्रै ४१ करोड ८८ लाख रुपैयाँ बढी नोट छपाइमा खर्च गरेको थियो। अघिल्लो वर्ष भने राष्ट्र बैंकले ६८ करोड ९३ लाख रुपैयाँ नोट छपाइमा खर्च गरेको थियो। प्रयोग कर्ताको लापरवाहीकै कारणले आयुभन्दा अघि नोट पुन प्रयोग गर्न अयोग्य हुँदा राष्ट्र बैंकले बारम्बार नयाँ नोट छाप्नुपर्छ, जसले राज्यको ढुकुटीमा ठूलो भार पर्छ।
राष्ट्र बैंकले हरेक दुई वर्षमा साढे तीन वर्षका लागि पुग्ने गरी सबै दरका नोट छाप्ने गरेको छ भने बजारमा मागअनुसार तोकिएको समयअघि वा पछि पनि छपाइ गर्छ।
यस्ता झुत्रा र काम नलाग्ने नोटहरूको व्यवस्थापन पनि राष्ट्र बैंकको लागि एउटा ठूलो चुनौती थियो। अघिल्लो वर्षसम्म बैंकले यस्ता नोटहरू जलाएर नष्ट गथ्र्यो, जुन वातावरणका लागि पनि हानिकारक थियो।
दसैंको समयमा बजारमा पठाइएका नयाँ नोटहरूमध्ये धेरैजसो चाड सकिएपछि झुत्रा र काम नलाग्ने अवस्थामा बैंकहरूमा फिर्ता आउँछन्। यसले गर्दा नोटको छपाइमा गरिएको लगानी खेर जान्छ। यसबाहेक, नयाँ नोटको सहज उपलब्धताले जुवातास र सट्टाबाजीजस्ता गैरकानुनी गतिविधिहरूलाई पनि प्रोत्साहन गरेको देखिन्छ। यसैले, केही विशेषज्ञहरू चाडपर्वमा नयाँ नोटको सट्टा सुकिला नोटलाई प्राथमिकता दिनुपर्ने सुझाव दिन्छन्।
यस्ता झुत्रा र काम नलाग्ने नोटहरूको व्यवस्थापन पनि राष्ट्र बैंकको लागि एउटा ठूलो चुनौती थियो। अघिल्लो वर्षसम्म बैंकले यस्ता नोटहरू जलाएर नष्ट गथ्र्यो, जुन वातावरणका लागि पनि हानिकारक थियो। गत वर्षदेखि भने राष्ट्र बैंकले ‘बैंक नोट श्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम’ नामक मेसिन प्रयोगमा ल्याएको छ, जसले झुत्रा नोटहरूलाई धुल्याएर इँटा (ब्रिकेट) बनाउँछ। राष्ट्र बैंकले अघिल्लो वर्षमात्र २ लाख ७५ हजार किलो ब्रिकेट उत्पादन गरेको थियो।
यसरी, दशैंमा दक्षिणाको एउटा सानो कथाले हामीलाई नेपालको मुद्रा इतिहास, राष्ट्र बैंकको महत्वपूर्ण भूमिका, र वर्तमानमा देखिएका आर्थिक तथा वातावरणीय चुनौतीहरूका बारेमा जानकारी दिन्छ। यो परम्परालाई निरन्तरता दिँदा यसको सांस्कृतिक महत्वलाई जोगाउँदै नोटको हिफाजत गर्ने चेतना फैलाउनु आवश्यक देखिन्छ।