काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हालैको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षति विवरण संकलन सुरु गरेको छ। मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो।
बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।
मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्यांक संकलन गरिनेछ।
बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलनपछि तथ्यांकका आधारमा किसानले गरेको योगदानको मूल्यांकन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइनेछ।
मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउबिजन, प्रविधि, प्राविधिक सिपलगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्तिसमेत उपलब्ध गराउने जनाएको छ।
विवरण प्राप्त भएपछि तथ्यांकका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले बताए।