नेपालले राजनीतिक लोकतन्त्रको यात्रामा लामो बाटो पार गरिसकेको छ। मतदानको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र नेतृत्व रोज्ने अधिकार आजको नेपालमा संवैधानिक गारेन्टी हुन्। हामी नेपाली लोकतन्त्रमा बाँच्न पाउँदा गर्व गर्छौं। हामी भोट दिन सक्छौं, बोल्न सक्छौं र आफ्ना नेताहरू रोज्न सक्छौं। तर, प्रश्न उठ्छ- के यो लोकतन्त्र देशको आर्थिक संरचनामा पनि प्रवेश गरेको छ?
वास्तविकता विचलित हुने खालकाे छ। जब एउटा युवा उद्यमीलाई लाइसेन्स पाउन अझै पनि राजनीतिक आशीर्वाद चाहिन्छ, जब ठेकेदारले टेन्डर जित्न सेटिङ खोज्नुपर्छ, जब बैंक ऋण क्षमता होइन, चिनजानको आधारमा दिइन्छ-त्यो बेला हाम्रो लोकतन्त्र अझै अपूर्ण रहन्छ। यी यथार्थले देखाउँछन् राजनीतिक लोकतन्त्र मात्र पर्याप्त छैन। हो, हामीसँग राजनीतिक लोकतन्त्र छ, तर अहिले हामीलाई चाहिएको छ-आर्थिक लोकतन्त्र।
आर्थिक लोकतन्त्र भनेको आर्थिक शक्ति र निर्णय प्रक्रियालाई जनसाधारणको हातमा फर्काउने व्यवस्था हो। यसको अर्थ जनतामा शक्ति फर्काउने हो- त्यो मजदुर जसले बनाउँछ, त्यो किसान जसले उब्जाउँछ, त्यो उद्यमी जसले सपना देख्छ र त्यो समुदाय, जसले यो देशलाई चलाइरहेको छ। यसको मूल सिद्धान्त सरल तर शक्तिशाली छ- जसले मूल्य सिर्जना गर्छ, उसले प्रतिफल पनि पाउनुपर्छ।
आर्थिक लोकतन्त्रको व्यावहारिक स्वरूपको कल्पना गरौं। एउटा नेपाल- जहाँ युवा आविष्कारकले राम्रो आइडियाका कारण लगानी पाउँछ, नकि राम्रो कनेक्सनका कारण। जहाँ गाउँलेले आफ्नै खोलामा बनेका जलविद्युत् आयोजनामा सेयर राख्छन् र विद्युत् उत्पादनको नाफा गाउँमै रहन्छ, काठमाडौंमा बस्नेकाे खल्तीमा होइन। जहाँ पर्यटन गाउँलेकै हातमा हुन्छ र पर्यटकबाट आर्जित आम्दानी ती समुदायमा पुग्छ, जसले आफ्नो संस्कृति र प्रकृति संरक्षण गरिरहेका छन्। त्यो हो, व्यवहारमा आर्थिक लोकतन्त्र।
धेरै समयदेखि हामी सेटिङ संस्कारअन्तर्गत बाँचेका छौं। नेपाली समाजमा यो प्रणाली लामो समयदेखि सामान्य मानिएको छ। हामीले विश्वास गर्यौं, प्रभावले सबै कुरा मिल्छ। हामीले यसलाई चलाखी, व्यावहारिकता र आवश्यक रणनीतिको रूपमा महिमामण्डित गरिएको छ। हो, हाम्रो पुस्ताले त्यसलाई गौरव ठान्यो। हामीले सोध्यौं- यो चलाखी हो। हामीले भन्यौं- यो आवश्यक हो। तर, त्यो गलत थियो।
किनभने, सेटिङले योग्यताको हत्या गर्छ। क्षमतावान व्यक्तिहरू संरक्षकको अभावमा पछाडि पर्छन्। सेटिङले इमानदारीको मृत्यु गर्छ। नैतिक मूल्य व्यावहारिकताको नाममा कुचिन्छन्। सेटिङले उद्यमशीलताको आत्मा नै मार्छ। नयाँ आइडिया र इनोभेसन जन्मिनुअघि नै मर्छन्। अवसर कसको छोरो वा छोरीमा आधारित हुन्छन्, कस्तो क्षमतामा होइन। यो प्रणालीले सामाजिक अन्यायको जरा गहिरो पारेको छ।
तर आजको युवाले हामीलाई नयाँ बाटो देखाएका छन्। उनीहरूले सेटिङ संस्कारलाई अस्वीकार गर्दैछन्। उनीहरू भन्छन्- सेटिङलाई होइन, भ्रष्टाचारलाई होइन, 'झोलेपनलाई होइन, योग्यता र कडा मिहिनेतबाट अघि बढौं। उनीहरू ठिक छन्। यो पुस्ताले बुझेको छ-दिगो विकास इमानदार प्रयासबाट आउँछ। उनीहरूको यो दृष्टिकोणले नेपाललाई नयाँ युगतर्फ लैजाने क्षमता राख्छ।
राजनीतिक लोकतन्त्रले हामीलाई भोटको अधिकार दियो, तर आर्थिक लोकतन्त्रले हामीलाई विकासको अधिकार दिनेछ। राजनीतिक लोकतन्त्रले हामीलाई स्वतन्त्रता दियो, तर आर्थिक लोकतन्त्रले हामीलाई न्याय दिनेछ। राजनीतिक लोकतन्त्रले हामीलाई प्रतिनिधित्व दियो, तर आर्थिक लोकतन्त्रले हामीलाई प्रत्यक्ष सहभागिता दिनेछ। राजनीतिक लोकतन्त्रले हामीलाई राजनीतिक शक्ति दियो, तर आर्थिक लोकतन्त्रले हामीलाई आर्थिक सशक्तीकरण दिनेछ। यी दुवै मिलेर हामीलाई दिनेछन्-सच्चा मानवीय गरिमा।
आर्थिक लोकतन्त्रको यात्रा तीन मुख्य आधारमा सुरु हुनुपर्छ। पहिलो, हामीले म्यानिपुलेसन होइन, मेरिटबाट उठ्नुपर्छ। योग्यता र क्षमताका आधारमा अगाडि बढ्ने संस्कार विकास गर्नुपर्छ। दोस्रो, हामीले अनिवार्यता होइन, अवसर निर्माण गर्नुपर्छ। सबैका लागि समान अवसरको वातावरण निर्माण गर्नुपर्छ। तेस्रो, हामीले पक्षपात होइन, न्याय रोज्नुपर्छ। समानता र न्यायको सिद्धान्तलाई जीवनको हरेक क्षेत्रमा अपनाउनुपर्छ।
आज हामी प्रतिज्ञा गरौं, नेपाललाई यस्तो देश बनाऔं- जहाँ सफलता मागेर होइन, कमाएर पाइन्छ। जहाँ हरेक नागरिक, हरेक मजदुर, हरेक युवा स्वप्नद्रष्टा आत्मविश्वासका साथ भन्न सकोस्- मलाई कुनै राजनीतिक संरक्षक चाहिँदैन, मलाई चाहिएको त केवल इमानदार मौका हो। त्यो हो, साथीहरू, साँचो लोकतन्त्र। त्यो नै हो-आर्थिक लोकतन्त्र।
साँचो लोकतन्त्र त्यतिबेला मात्र सम्पूर्ण हुन्छ, जब यो राजनीतिक र आर्थिक दुवै क्षेत्रमा फैलिन्छ। राजनीतिक लोकतन्त्रले हामीलाई बोल्ने अधिकार दियो, तर आर्थिक लोकतन्त्रले हामीलाई बाँच्ने अधिकार दिनेछ। यो केवल एउटा सैद्धान्तिक कुरा होइन, यो हाम्रो दैनिक जीवनको यथार्थ हो। जब एक किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ, जब एक मजदुरले आफ्नो श्रमको सम्मान पाउँछ, जब एक युवा उद्यमीले आफ्नो आइडियाको मूल्य पाउँछ-त्यहीबाट सुरु हुन्छ, आर्थिक लोकतन्त्रको साँचो अर्थ।
नेपालको अर्को चरण- आर्थिक लोकतन्त्र-केवल एउटा विचार होइन, यो आवश्यकता हो। यो परिवर्तनको आधार हो। यो नेपालको भविष्य हो। जब शक्ति जनतामा पुग्छ, जब अवसर सबैको लागि खुल्छ, जब योग्यताले संरक्षणलाई हराउँछ-त्यहीबाट सुरु हुन्छ साँचो प्रगतिको यात्रा। यो यात्रा सजिलो छैन, तर यो आवश्यक छ। यो यात्रा हाम्रो पुस्ताको जिम्मेवारी हो। यो यात्रा हामी सबैले मिलेर गर्नुपर्छ-किनभने आर्थिक लोकतन्त्र कुनै एक व्यक्ति वा समूहको जिम्मेवारी होइन, यो सम्पूर्ण राष्ट्रको साझा सपना हो।