सुनसरी। अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारीखेतीमा ठूलो क्षति पुगेको छ। गत असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण जिल्लाका किसानहरूले लगाएका बालीहरू डुबानमा परेका हुन्।
बाढीका कारण बराहक्षेत्र नगरपालिका–९ ढोलबजियामा रहेको ‘सुन्दर कृषि फार्म’को तरकारी खेतीमा पूर्ण रुपमा क्षति पुगेको छ। वैदेशिक रोजगारीबाट फर्किएका तीन जना युवाले २०७४ सालदेखि उक्त फार्म सञ्चालन गर्दै आएका थिए।
फार्म सञ्चालक अमिर निरौलाका अनुसार बाढीले फार्मका सबै तरकारीखेती डुबानमा परेर पूर्ण रूपमा नष्ट भएको छ। उनले भने, “पानीले टनेल र मल्चिङ् सबै डुबायो। दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको टमाटर सबै डुबानमा पर्यो। साथै, करेला, बैगुन, क्यापसिकम, काँक्रा, बोडी, फर्सी, घिरौंलालगायतका सबै बाली बाढीबाट नष्ट भएको छ।”
अमिर निरौला र रघुवीर चन्द्रवंशी दक्षिण कोरियामा र छविलाल चौधरी अफगानिस्तानमा काम गरेर फर्किएपछि डेढ बिघा जग्गाबाट छ लाखको लगानीमा तरकारीखेती सुरु गरेका थिए। अहिले उनीहरुले करिब २० बिघा क्षेत्रफलमा काँक्रा, टमाटर, क्यापसिकम, बोडी, करेला, लौका, कोभीलगायतका तरकारीखेती गर्दै आएका थिए।
निरौलाका अनुसार मल्चिङ्, बिरुवा र बिउमा गरिएको रु १४ लाखभन्दा बढीको लगानी खेर गएको छ।
कृषक छविलाल चौधरीका अनुसार गत वर्ष मात्रै तरकारी खेतीबाट एक करोड रुपैयाँभन्दा बढीको कारोबार गथरिएको थियो।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार बाढी र अविरल वर्षाले जिल्लाभरका तरकारी बालीमा ठूलो क्षति पुर्याएको छ।