काठमाडौं। तिहारमा सयपत्री, मखमली, गोदवारी फूलको कारोबार हुन्छ। तिहारमा यी फूल विषेता घर सजवाट र पुजापातका लागि प्रयोग हुन्छन्। तिहार लक्षित वर्षेनी काठमाडौंमा पुष्प मेला आयोजना हुने गरेको छ।
तिहारका लागि ४० लाख गोटा फूलमालाको बिक्री हुने अनुमान छ। तिहारका लागि सादा ३ फिट सयपत्री मालाको मूल्य १२० देखि १२५ रुपैयाँ पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले जनाएको छ। यस्तै, मखमली सादा मालाको मूल्य प्रतिगोटा ६५ रुपैयाँसम्म पर्ने जनाएको छ।
फ्यानका महासचिव हिरामणि शर्माले व्यवासायीले मालामा ‘भ्यालु एड’ गरेमा उपभोक्तालाई बढी पर्ने बताए। ‘मालामा भ्यालु एड गरी विभिन्न किसिमले सजाएर बिक्री गरिने भएकाले उपभोक्ताले खरिद गर्दा खुद्रा मूल्य केही महँगो पर्ने छ,’ शर्माले भने।
यस वर्षको तिहारमा करिब ४० करोड बराबरको पुष्प तथा पुष्पजन्य मालाहरूको कारोबार हुने अनुमान फ्यानको छ। व्यावसायीका अनुसार तिहारको पाँच दिनको अवधिमा हुने यो कारोबारमा सयपत्री र मखमली फूलको बजार हाबी देखिन्छ। नेपालभर व्यावसायिक रूपमा करिब ४० लाख सयपत्री मालाको कारोबार हुने अनुमान गरिएको छ।
यसमध्ये करिब दुई लाख गोटा माला युरोप, अमेरिका र खाडीका मुलुकहरूमा निर्यात हुने गरेको फ्यानले जनाएको छ।
यद्यपि, अधिकांश नेपालीले आफ्नो व्यक्तिगत उपभोगका लागि आफै उत्पादन गर्छन्। व्यावसायिक रूपमा करिब साढे लाख गोटा मखमली माला खपत हुने अनुमान छ। यसमध्ये करिब दुई लाख गोटा माला युरोप, अमेरिका र खाडीका मुलुकहरूमा निर्यात हुने गरेको फ्यानले जनाएको छ।
मखमली फूल किसानको दुर्दशाः बिचौलियाको मार
काठमाडौं उपत्यकाको भक्तपुरको गुण्डु क्षेत्रमा उत्पादन भइरहेको मखमली फूलको मूल्य नपाएको गुनासोप्रति व्यवसायीको चासो व्यक्त गरेका छन्। मखमली फूल किसानले उचित मूल्य नपाउनुको मुख्य कारण किसानले ‘भ्यालु चेन’ मा नजोडिनु रहेको औँल्याइएको छन्।
‘किसानहरू आफै उत्पादन गर्छन्। त्यहाँ बिचौलिया व्यापारीहरू पुग्छन् र मोलमोलाइ सुरु हुन्छ। व्यापारीले जति भन्यो, किसानहरू त्यतिमै दिन विवश छन्,’ फ्यानका पूर्वअध्यक्ष मीन बहादुर तामाङले बताए।
तामाङका अनुसार, सयपत्रीका किसानहरू लामो समयदेखि भ्यालु चेनमार्फत आफ्नो उत्पादन बिक्री गर्दा राम्रो मूल्य पाउन सफल भएका छन्। तर, मखमलीको हकमा यो हुन सकेको छैन। यस वर्षदेखि मखमली किसानलाई पनि भ्यालु चेनभित्र छिराउन पहल गर्ने र उनीहरूलाई लागतअनुसारको उचित मूल्य दिलाउन ध्यान केन्द्रित गरिने तर्क राखे।
घट्यो पुष्प व्यवसायको वार्षिक कारोबार, निर्यात भने दोब्बरले वृद्धि
नेपालको पुष्प व्यवसायले चालू आर्थिक वर्ष २०८१/८२ मा वार्षिक कारोबारमा कमी बेहोरेको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको वार्षिक कारोबार भएकोमा यस वर्ष ८.५० प्रतिशतले कमी आई कुल कारोबार ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान फ्यानको छ।
आन्तरिक बजार खुम्चिए पनि निर्याततर्फ भने पुष्प व्यवसायले उत्साहजनक प्रगति गरेको छ।
यसो हुनुमा पुष्प व्यवसायमा आएको यो कमीको मुख्य कारण देशको आर्थिक अवस्था कमजोर हुनु र ‘पुष्प प्रवर्द्धन नीति २०६९’ कार्यान्वयन नहुनु रहेको व्यवसायी बताउँछन्। साथै, नेपाल सरकारले हालै बीउ बिजन नियमावली र प्लान्ट क्वारेन्टाइन ऐन तथा नियमावली परिमार्जन गरी लागू गर्दा आवश्यक बीउ बिजन, कटिङ र मदर प्लान्टहरू आयात गर्न नीतिगत समस्या भएको छ। समयमा आवश्यक सामग्री आयात गर्न नसक्दा आन्तरिक उत्पादन तथा कारोबारमा नकारात्मक असर परेको अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए।
आन्तरिक बजार खुम्चिए पनि निर्याततर्फ भने पुष्प व्यवसायले उत्साहजनक प्रगति गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १०९.१६ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ करोड ०२ लाख १२ हजार रुपैयाँ निर्यात भएको थियो।
गत आर्थिक वर्ष २०८१/८२ मा २ करोड १३ लाख ६० हजार रुपैयाँको फूल तथा फूलजन्य वस्तुको निर्यात भएको फ्यानले जनाएको छ। यस वर्ष नेपालबाट जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएई र माल्टा लगायतका मुलुकहरूमा बल्ब, ट्युबर, जीवित बिरुवा, ड्राइ फ्लावर्स र ताजा फूलहरू निर्यात भएको फ्यानको दाबी छ। तिहार लक्षित पनि मखमली फूल निर्यात हुने फ्यानले जनाएको छ।