काठमाडौं। काठमाडौं उपत्यकामा तिहार लक्षित दुई स्थानमा पुष्प मेला सञ्चालन हुने भएको छ। नर्सरी व्यवसायी संघ नेपाल र फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले दुई अलग-अलग स्थानमा दुई पुष्प मेला सञ्चालन गर्न लागेका हुन्।
संघले मंगलबार (असोज २८ गते)देखि कार्तिक १ गते सम्म (पाँच दिन) भृकुटी मण्डपमा र फ्यान बुधबार (असोज २९ गते)देखि कात्तिक २ गतेसम्म (पाँच दिन) ललितपुरको जावलाखेल खेल मैदानमा यी पुष्प मेला लाग्ने छन्।
तिहार पर्व नजिकिँदै गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायिक प्रवद्र्धन गर्न, समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि यस किसिमका पुष्प मेला आयोजना गरिएको आयोजकले जनाएका छन्। यी मेलामा पाइने विभिन्न फूलका वस्तु पाउनुका साथै मूल्य तथा गुणस्तर छनौट गर्न उपभोक्ताले पाउने छन्।
यी दुवै फूल मेलामा तिहारको विशेषका लागि गोदवरी, सयपत्रीलगायत विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरु प्रर्दशन तथा बिक्री वितरण हुने छन्। यसका साथै कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने छ। साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिऊ विजन, औजार उपकरण तथा प्रविधिको समेत स्टल रहने आयोजकले जनाएका छन्।
भृकुटीमण्डपमा जारी मेलामा प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० छ। जवलाखेलमा भोलिदेखि आयोजना हुने मेलामा प्रतिव्यक्ति १००, विद्यार्थीलाई ५० रुपैयाँ र जेष्ठ नागरिकलाई निशुल्क प्रवेश छ। दुवै मेलाले पाँच दिनमा २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ। मेलामा ७५ हजार संख्याले अवलोकन गर्ने आयोजकले जनाएका छन्।