मुस्ताङ। मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष ७२३८ टन स्याउ उत्पादन भएकामा यस वर्ष ७६३६ टन स्याउ उत्पादन भएको छ।
गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकको स्थानीय किसानको फरक÷फरक बगैंचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए।
यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ। साथै, १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ।
यस वर्ष ६१०८ मेट्रिक टन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताए। ७६३ टन अर्थात् ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ।
अब ७६३ टन स्याउ हार्भेस्ट गर्न बाँकी छ।
यहाँ ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ। यसमा स्थानीय स्याउ ६०६९ टन र हाइब्रिड स्याउ १५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ।
यहाँ स्थानीय स्याउ ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो। हाइब्रिडतर्फ ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ। कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी १३० र हाइब्रिड स्याउ प्रतिकेजी २०० मा बिक्री भइरहेको छ।
यस वर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिक टन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ टनले उत्पादन भएको केन्द्रले जनाएको छ।
गत वर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिकटन भएकामा यस वर्ष शून्य दशलव ३३ टन प्रतिहेक्टर उत्पादकत्व घटेको छ।
यसैगरी गतवर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ टनले उत्पादन भएकोमा यस वर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ। यहाँ स्थानीय र हाइब्रिड गरी समग्रमा प्रतिहेक्टर उत्पादकत्व ११.८७ टन रहेको केन्द्रले जनाएको छ।
यस वर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताए।
यस वर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो। गत वर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यस वर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो।
यसैगरी गत वर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो।–रासस