काठमाडौं। नेपाल बिमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बिमकका प्रतिनिधिसँग कृषि, पशुपन्छी तथा जडिबूटी बिमासम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ।
कृषि, पशुपन्छी तथा जडिबुटी बिमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलो पटक व्यवस्था गर्न लागेको क्षति मूल्यांकन कर्तासम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बिमकका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्राधिकरणबाट प्रस्तुत कृषि, पशुपन्छी तथा जडिबुटी बिमा निर्देशिका, २०७९ को संशोधन मस्यौदा र क्षति मूल्यांकन कर्तासम्बन्धी निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल भएको थियो।
यसैगरी, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिशसम्बन्धी व्यवस्था र कृषि बिमा रियल टाइम सफ्टवेयर (एएलआईएस)को संचालनको विद्यमान अवस्था, आइपरेका समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा बिमकका प्रतिनिधिबाट सुझाव लिइएको थियो।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बिमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्न लागेकाले त्यसका लागि वास्तविक रायसुझाव दिन आग्रह गरे।
कार्यकारी निर्देशक सुवेदीले प्राधिकरणले पहिलो पटक क्षति मूल्यांकन कर्तासम्बन्धी निर्देशिका ल्याउन लागेको जानकारी दिँदै त्यसका लागि समेत ठोस रायसुझाव दिन आग्रह गरे।
साथै, उनले बिमकबाट प्राप्त रायसुझावलाई समेत समेटेर निर्देशिकाका मस्यौदालाई अन्तिम रुप दिने जानकारी दिए। कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक तथा प्राधिकरणको कृषि बिमा शाखाका कर्मचारी र निर्जीवन बिमा कम्पनीहरूका कृषि विभागका प्रमुखको सहभागिता रहेको थियो।