बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेपालगञ्जस्थित कार्यालयले धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदमा ढिलाइ गर्दा सरकारले तोकेको मूल्य नपाए पनि आफूहरूले बाध्य भएर कम मूल्यमा बजारमा धान बिक्री गर्नु परेको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए। ‘खाद्य कम्पनीले धान खरिद अझै सुरु नगर्दा किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुबै धानमा करिब ९ सय क्विन्टल कम मूल्यमा धान बिक्री गरिरहेका छन्’, उनले भने, ‘सरकारले तोकेको समर्थन मूल्यअनुसार व्यापारीले धान खरिद नगर्दा किसानलाई निकै समस्या परेको छ।’
सरकारले धान खरिदमा ढिलाइ गर्ने, खरिद सुरु गरे पनि कम धान खरिद गर्ने र खरिद गर्दा विभिन्न मापदण्ड लगाएर अधिकांश धान फिर्ता पठाउने गरेकाले किसानलाई समस्या हुने गरेको उनको भनाइ छ।
नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख रामशरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएको जानकारी दिए। उनका अनुसार गत वर्ष नेपालगञ्जमा मध्यम धान २५ हजार र मोटा धान सात हजार गरेर ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो।
यस वर्ष २० हजार क्विन्टल मात्र धान खरिदको कोटा आएको बताए। बाँकेका प्रमुख जिल्ला अधिकारीको सरुवा भएकाले नयाँ प्रमुख जिल्ला अधिकारी आएलगत्तै खरिद समिति बैठक बसेर निर्णय गरी धान खरिद सुरु गर्ने तयारी छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ पैसा तोकेको छ।
हाल खाद्य व्यवस्था कार्यालयमा गत वर्ष खरिद गरिएको धानको २० हजार क्विन्टल चामल मौज्दात रहेको र धेरै धान खरिद गरेर राख्ने ठाउँ अभावले पनि समस्या भएको प्रमुख लामिछानेले जानकारी दिए।–रासस