काठमाडौं। वर्षायाम सकिएसँगै निर्माण कार्य तीव्र हुने समय नजिकिँदै गर्दा सिमेन्ट उत्पादक कम्पनीहरूले मूल्य वृद्धि गरेका छन्। शनिबारदेखि लागू हुने गरी देशभरका एक दर्जनभन्दा बढी सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्य बढाएका हुन्।
फ्याक्ट्री मूल्यमै प्रतिबोरा २० रुपैयाँसम्म वृद्धि गरिएको व्यापारीहरूले जनाएका छन्। रिद्धिसिद्धी सिमेन्ट, यूनाइटेड सिमेन्ट, ह्वासिन सिमेन्ट, शिवम् सिमेन्ट, मकवानपुर सिमेन्ट, तानसेन सिमेन्ट, सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट, गोयन्का सिमेन्ट, होङसी सिमेन्ट, अम्बे सिमेन्ट र सिजी सिमेन्टले नयाँ मूल्यसूची लागू गरेका छन्।
व्यवसायीका अनुसार ओपीसी (ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पीपीसी (पोर्टल्यान्ड पोजोलेना सिमेन्ट) दुवै प्रकारका सिमेन्टमा समान दरले मूल्य बढाइएको हो। उनीहरूले बाँकी उद्योगहरूले पनि निकट भविष्यमा मूल्य समायोजन गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्।
सिमेन्ट उद्योगहरूले मूल्य वृद्धिको कारण उत्पादन लागत बढ्नु र कच्चा पदार्थ, ढुवानी तथा ऊर्जा लागतमा आएको वृद्धि जनाएका छन्। उद्योगहरूका अनुसार डीजल मूल्य, कोइला र क्लिङ्कर आयात लागत बढेकाले मूल्य समायोजन अपरिहार्य भएको हो।
तर, उपभोक्ता र निर्माण व्यवसायीहरू भने मूल्य वृद्धिको विरोधमा उत्रिएका छन्। उनीहरूको भनाइमा, निर्माण सिजन सुरु हुने बेला मूल्य वृद्धिले योजनागत र निजी दुवै निर्माणमा लागत बढ्ने छ।
नेपालमा वार्षिक रूपमा सिमेन्टको उत्पादन क्षमता मागभन्दा बढी भए पनि, मूल्य वृद्धि निरन्तर हुने क्रम रोकिएको छैन। उद्योगहरूबीचको समन्वय र बजार नियन्त्रणमा कमजोरीका कारण उपभोक्ताले मूल्य वृद्धिको भार व्यहोर्न बाध्य हुने स्थिति रहँदै आएको छ। सिमेन्ट उद्योग संघले भने मूल्य वृद्धि बजारको अवस्थाअनुसार स्वाभाविक रहेको दाबी गरेको छ।
