काठमाडौं। जम्दार फुड प्राइभेट लिमिटेडको व्यापार एक वर्षमै तीन गुणाले बढेको छ। हेटौँडामा मुख्य कार्यालय रहेको खाद्यान्नको व्यापार गर्ने यो कम्पनीले आर्थिक वर्ष २०२५ मा २ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो।
आव २०२४ मा कम्पनीले ६० करोड ५० लाख रुपैयाँ बराबरको मात्रै कारोबार गरेको थियो। एक वर्षमै कम्पनीको व्यापार तीन गुणाले बढेको केयर रेटिङ नेपालले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ। कम्पनीले आव २०२३ मा भने २० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो। चालू आर्थिक वर्ष २०२६ को ९ महिनामा पनि कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँको व्यापार गरिसकेको छ।
यो कम्पनी हेटौँडाको स्थापित व्यावसायिक घराना ‘जम्दार ग्रुप’अन्तर्गत सञ्चालित छ। यस समूहको नेतृत्व अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल)ले गरिरहेका छन्। प्रबन्ध निर्देशकका रूपमा अमित अग्रवाल रहेका छन्। जम्दार ग्रुप उत्पादन र व्यापारिक क्षेत्रमा लामो अनुभव भएको समूह हो।
कम्पनीले सञ्चालनमा ल्याएको ‘स्वदेशी सुपरमार्केट’ र खुद्रा पसलहरूको विस्तारलाई व्यापार वृद्धिको मुख्य कारण मानिएको छ। चामल, दाल, चिनी, पिठो र तेल जस्ता खाद्यान्नको थोक व्यापारका साथै खुद्रा बिक्री केन्द्रहरू (रिटेल आउटलेट)मार्फत उपभोक्तासम्म सिधै पहुँच पुर्याएकाले कारोबार बढेको प्रतिवेदनमा उल्लेख छ। उत्पादनमा गरिएको विविधीकरण र प्याकेजिङमा सुधारले पनि व्यापार बढाउन सहयोग पुगेको छ।
कम्पनीले आफ्नो व्यावसायिक सञ्चालनका लागि बैंकहरूबाट लिने कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण सीमाका लागि रेटिङ गराएको छ। जसमा केयर रेटिङ नेपालले कम्पनीको १ करोड ८२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘डबल बी माइनस’ र १ अर्ब ४८ करोड १८ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ दिएको छ। यो रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमता मध्यम स्तरको रहेको बुझाउँछ।
यद्यपि, व्यापार बढे पनि कम्पनीको नाफाको मार्जिनमा भने संकुचन आएको छ। बिक्री लागत बढेका कारण सञ्चालन नाफा ५.०६ प्रतिशतबाट घटेर ३.२३ प्रतिशतमा झरेको छ। त्यस्तै, खुद नाफा पनि १.६१ प्रतिशतबाट घटेर ०.७७ प्रतिशतमा सीमित भएको छ। कम्पनीको ऋण र पुँजीको अनुपात २.६५ गुणा रहेको छ। बैंकको ब्याज तिर्न सक्ने क्षमता बुझाउने ‘इन्ट्रेस्ट कभरेज रेसियो’ १.७० गुणा छ।
कम्पनीको व्यवसाय मुख्यतया खाद्यान्नको थोक तथा खुद्रा व्यापारमा आधारित भएकाले यो चालु पुँजीमा बढी निर्भर छ। मौसमी रूपमा खाद्यान्न खरिद गरी भण्डारण गर्नुपर्ने भएकाले कम्पनीको पैसा लामो समय स्टकमा अड्किने जोखिम रहन्छ।
यस्तै, बजारमा रहेका अन्य प्रतिस्पर्धीहरू र खाद्यान्नको मूल्यमा हुने उतारचढाव कम्पनीका लागि मुख्य चुनौती हुन्। यद्यपि, जम्दार ग्रुपको अनुभव र खाद्यान्न जस्तो अत्यावश्यक वस्तुको स्थिर मागका कारण कम्पनीको भविष्य सकारात्मक रहेको रेटिङ प्रतिवेदनले औँल्याएको छ।